कपालको बिक्रीबाटै लाखौँ डलर कमाइ

यांगुन । म्यानमारमा युवतीहरूले सुन्दरता बढाउनुभन्दा पनि केही दिनको दैनिकी चलाउन लामो कपाल पाल्ने गरेको पाइन्छ ।

यसरी त्यहाँ सडकछेउकै बजारमा प्राकृतिक कपाल बिक्री गर्ने थुप्रै पसलहरू हुन्छन् जसबाट देशले मनग्ये आम्दानी गर्ने गरेको छ भने केहीका लागि चाहिँ त्यो रोजीरोटीको स्रोत बन्ने गरेको बताइएको छ । यसबारे १५ वर्षीया जिन मार भन्छिन्, ‘थोरै मात्र पीडा हुन्छ ।’ तर पनि यो प्रक्रिया अन्त्य हुँदासम्म उनका आँखाभरि आँसु थिए । समाचार एजेन्सी रोयटर्ससँग बोल्दै उनले भनिन्, ‘घरको भाडा तिर्ने समय भइसकेको थियो ।’

यसरी त्यहाँ ५१ सेन्टिमिटर अर्थात् २० इन्च कपालका लागि १३ डलर दिइने गरिएको छ जुन रकम म्यानमारमा कम्तीमा एक हप्ताको पारिश्रमिक बराबर हो । तर, अर्कोतर्फ त्यही कपाल पुनः प्रोसेसिङ र प्याकेजिङपछि भने सयौँ डलरमा बिक्री हुने गरेको छ । यसरी ससाना व्यवसायीहरूबाट संकलन गरिने कपाल उद्योगमा लगि कोरेर सफा गरेपछि दलालहरूले बिक्रीका लागि चीन पठाउने गरेका छन् ।

जहाँ यसलाई वीग र एक्सटेन्सन अर्थात् नक्कली कपालमा परिणत गरी विभिन्न देशका ग्राहकहरूसम्म पु¥याइने गरिएको छ । यसरी म्यानमारको प्राकृतिक कपालको विश्वभर माग रहने गरेको २३ वर्षीय व्यवसायी वीन को बताउँछिन् । उनका अनुसार बर्मिज कपालमा एकपटक स्यामपू र कन्डिसनरको प्रयोग गरेपछि मोतिको रङ जस्तै चमक आउने गर्दछ ।

वास्तवमा यो व्यवसाय म्यानमारमा दशकौँ अघिदेखि गोप्य रूपमा प्रचलित रहँदै आएको छ । उनीहरूले यसबारे केही वर्ष अगाडि मात्र खुलासा गरेका हुन् । यसरी म्यानमारले यो उद्योगबाट मात्र वार्षिक लाखौँ डलर कमाई गर्ने गरेको छ । यस व्यवसायमा म्यानमार तेस्रो ठूलो निर्यातकर्ता हो ।

सन् २०१७ मा मात्र म्यानमारले १,१६० गाडीहरूको तौल बराबर कपाल बिक्री गरी ६२ लाख डलर कमाइ गरेको हो । यसरी देशमा हजारौँले विभिन्न श्रोतमार्फत विक्रेतासँग सम्पर्क गरी कपाल बेच्ने गरेका छन् । तर, कतिपय अवस्थामा आपूर्तिभन्दा माग धेरै हुन थालेपछि भने व्यवसायीहरूले फोहोरबाटै कपालका डल्ला उठाई तिनलाई उद्योगमा लगि कोरेर सफा गरी तयार पार्ने गरेको बताइएको छ ।

यसैगरी, कतिपयले चाहिँ प्राकृतिक रूपमा काइँयोमा झरेका कपाललाई विभिन्न परिवारबाट खरिद गरी संकलन गर्ने गरेको पनि पाइएको छ । यसरी यो उद्योगले धेरैलाई रोजगारी दिइरहेको हुँदा यो व्यवसाय अझै पनि उत्तिकै सफल सावित भइरहेको बताइएको छ । त्यहीँकी एक स्थानीय व्यवसायीका अनुसार उनले विशेषगरी बेलायत, नाइजेरिया, दक्षिण अफ्रिका र अमेरिकामा काला वर्णका युवतीहरूलाई आफ्ना उत्पादन बेच्ने गरेकी छन् ।

भारतको कपाल जस्तो धेरै सिल्की नहुने र ब्राजिलको जस्तो धेरै खस्रो पनि नहुने हुँदा म्यानमारमा यसको अत्यधिक माग रहने गरेको व्यसायीहरूको भनाइ छ । त्यसैगरी आजको समयमा मानिसहरूले छोटा, पर्म गरिएका र रंगिन कपाल मन पराउने हुँदा प्राकृतिक कपाल भेटाउन कठिन हुने गरेको पनि बताइएको छ । यस्तोमा एकपटक चीनको बढ्दो मागका कारण म्यानमारमा एउटा सिंगै गाउँ यो व्यवसायमा लागेको पनि यसअघि खबर गरिएको थियो ।

प्रतिक्रिया