मेगा बैंक र आइएमई डिजिटलबीच सम्झौता

काठमाडौं । आइएमई पे मोबाइल मनीमार्फत मोबाइल फोनको माध्यमबाट विविध वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले मेगा बैंक नेपाल लिमिटेड र आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटलबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । मेगाबैंकको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत रविना देशराज (श्रेष्ठ) र आइएमई डिजिटलको तर्फबाट प्रमुख सञ्चालक अधिकृत डेनियल डी श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार मेगा बैंक ‘आइएमई डिजिटल’ को बैंकिङ साझेदार संस्था हुनेछ र बैंकका सेवाग्राहीहरूले चाँडै नै आइएमई पे वालेटमा आफ्नो बैंक खाता लिंक गर्नेलगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्नेजस्ता सेवाहरू प्राप्त गर्न सक्नेछन् ।

साथै, मेगा बैंकका सेवाग्राहीहरूले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्युआरमार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्न सक्नेछन् । १६ हजारभन्दा बढी एजेन्ट आउटलेट सञ्जाल भएको आइएमई डिजिटल, आइएमई समूह अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो । आइएमई डिजिटलले ‘आईएमई पे’ ब्रान्डअन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउँदै आएको छ । यसको मद्दतबाट सेवाग्राही आफैँले वा एजेन्टहरूको सहयोग लिएर मोबाइलमार्फत् विभिन्न किसिमका भुक्तानीसम्बन्धी कार्य गर्न सक्नेछन् ।

यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्युआरमार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तानी गर्ने कार्यमा सहयोग गर्दछ । आइएमई डिजिटलसंगको सम्झौताले सर्वसाधारण जनतालाई आधुनिक वित्तीय सेवाहरूको पहुँच उपलब्ध हुनुका साथै नेपालको वित्तीय समावेशीकरणमा समेत योगदान पुग्ने आइएमई डिजिटल र मेगा बैंकको दाबी छ ।

प्रतिक्रिया