एक दिवसीय शृंखला भारतको पोल्टामा

केरला । वेस्ट इन्डिजसँगको ५ वान डे क्रिकेट शृंखला भारतले ३–१ ले जितेको छ । आज भएको पाँचौँ तथा अन्तिम खेलमा पाहुना टोली वेस्ट इन्डिजलाई ९ विकेटले पराजित गर्दै शृंखला आफ्नो कब्जामा पारेको हो ।

वेस्ट इन्डिजले दिएको १ सय ५ रनको सामान्य लक्ष्य भारतले १४दशमलव ५ बलमा १ विकेट गुमाउँदै लक्ष्य सहजै पूरा गरेको हो । भारतको सहज जितमा ओपनर रोहित शर्माले ५६ बलमा ५ चौका र ४ चौका प्रहार गर्दै ६३ रनमा नट आउट रहे । त्यस्तै, शिखर धवन ६ रनमा आउट हुँदा कप्तान बिराट कोहली ३३ रनमा अविजित रहे ।

यसअघि ग्रिनफिल्ड इन्टरनेसनल स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिज ३१.५ बलमा अल आउट हुदैँ मात्र १ सय ४ रनमा अल आउट भएको थियो ।

वेस्ट इन्डिजका लागि कप्तान जोसन होल्डरले २५ तथा मार्लन स्यामुएल्सले २४ रन जोड्नबाहेक अन्य कुनै पनि ब्याटम्यानले सम्झन योग्य प्रदर्शन गर्न सकेनन् ।
वेस्ट इन्डिजका ३ ब्याटम्यानले खातासम्म खोल्न नसक्दा ५ ब्याटम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । वेस्ट इन्डिजलाई सस्तैमा अल आउट गर्न भारतका रविन्द्र जडेजाले ४, जसप्रति बुमराह र खलिल अमिदले समान दुई विकेट लिए ।

त्यस्तै, भुवनेश्वर कुमार र कुलदीप यादवले समान एक विकेट हात पारे । यसअघि पहिलो खेल भारतले ८ विकेटले जित्दा दोस्रो खेल टाई भएको थियो । तेस्रो खेलमा वेस्ट इन्डिज ४३ रनले विजयी हुँदा चौथो खेलमा २ सय २४ रनले पराजित भएको थियो । अब वेस्ट इन्डिज र भारतबीच अब ३ टी–२० क्रिकेट शृंखला हुनेछ । पहिलो खेल आगमी नोभेम्बर ४ मा इडेन गार्डेन कोलकातामा हुनेछ ।

प्रतिक्रिया