भाषाको अतिक्रमण रोक्नुपर्छ : कावा राष्ट्रपति

काठमाडौं । कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनले नेपाली राष्ट्रिय भाषामाथि अतिक्रमण भइरहेको बताए छन् । नेपाली शिक्षा परिषद्का अध्यक्ष राष्ट्रकवि माधवप्रसाद घिमिरे शताब्दी वर्ष प्रवेश गरेको सन्दर्भमा आयोजित अभिनन्दन समारोहमा उनले भाषाको संरक्षणमा सरकारले बेलैमा ध्यान दिनुपर्ने बताए ।

उनले राष्ट्रिय शिक्षा प्रणालीमा विदेशी भाषालाई प्रोत्साहन गर्दा शिक्षा हुनेखानेका लागि मात्र बन्न पुगेको बताए । उनले भने, ‘नेपाल मै आयोजना हुने औपचारिक कार्यक्रम पनि सरकारी औपचारिक भाषालाई बिर्सेर विदेशमा भएका झैँ अंग्रजी भाषामा हुने गरेका छन् । सबै भाषा पढ्नुपर्छ, बोल्नुपर्छ, तर प्राथमिकता भने आफ्नै भाषालाई दिनुपर्छ ।’

कावा राष्ट्रपति पुनले राष्ट्रकवि घिमिरेले राष्ट्रको भाषा साहित्यमा गरेको योगदान अविस्मरणीय रहेको र उनका कृति कालजयी र अमर रहेको धारणा राखे । उनले राष्ट्रकवि घिमिरेलाई अभिनन्दन पत्रले अभिनन्दन गरेमन थिए ।

कार्यक्रममा संस्कृतिविद् तथा वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले राष्ट्रकवि घिमिरेले मुलुकको भाषा साहित्यका क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरे ।

उनले परिषद्ले स्थापनाकालदेखि नै स्रष्टालाई जीवित अवस्थामै सम्मान गर्ने प्रचलनको सुरुआत गरेको स्मरण गरे । संस्कृतिविद् डा. जगमान गुरुङले कवि घिमिरेका कृति राष्ट्रियताले ओतप्रोत भएको बताउँदै भने, ‘अश्वत्थामा’ जस्ता कृतिलाई नोबेल पुरस्कारका लागि सरकारले सिफारिस गर्नुपर्दछ ।’

कार्यक्रममा परिषद्का सचिव रमा शर्मा, कोषाध्यक्ष भीमबहादुर अधिकारी, सदस्यद्वय किरण थापा र लक्ष्मण थापाले परिषद्का अध्यक्षसमेत रहेका घिमिरेले मुलुकका लागि गरेको योगदानको चर्चा गर्दै परिषद्का काम कारवाहीबारे प्रकाश पारेका थिए ।

प्रतिक्रिया