प्रअलाई नै जानकारी नदिई शिक्षक भर्ना

दार्चुला । जिल्लामा शिक्षक अभावलाई मध्यनजर गरी शैक्षिक गुणस्तर सुधार अनुदानतर्फ विभिन्न विद्यालयमा शिक्षक भर्ना गरिएको छ । शिक्षक अभावमा शैक्षिक गुणस्तरमा सुधार हुन नसकेका वेला जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा अनुदान कोटामा शिक्षक भर्ना गरिएको शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाले जनाएको छ ।

जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा शिक्षक भर्ना गर्ने वेला जिल्ला सदरमुकाम खलंगामा केही हप्ताअघि शिक्षक भर्ना गर्नेको भीड लागेको थियो । शिक्षक भर्ना गर्दा राजनीतिक प्रभावमा आफू निकटस्थलाई गरेको भन्नेजस्ता विभिन्न टीकाटिप्पणी हुने गरे पनि सतहमै भने आउन सकेको थिएन । तर, मार्मा गाउँपालिका–६ शेरीस्थित हटिनाथ प्रावि जमुनाबगरमा गरिएको शिक्षक भर्ना प्रक्रियाको विवाद सतहमै आएको छ ।

शिक्षक भर्ना प्रक्रियामा विद्यालयको छाप र लेटरप्याड प्रधानाध्यापकलाई जानकारी नै नदिई प्रयोग भएको भन्ने आरोप लागेको छ । विद्यालयमा शिक्षक भर्ना गर्दा सम्बन्धित विद्यालयको प्रधानाध्यापक पनि एक जिम्मेवार व्यक्ति भए पनि जमुनाबगरमा शिक्षक भर्ना गर्दा आफूलाई जानकारी नै नदिई शिक्षक भर्ना गरिएको आरोप प्रधानाध्यापक राजेन्द्रसिंह महराको छ ।

केही हप्ताअघि उक्त विद्यालयमा सोही ठाउँका पुष्पा जोशी उक्त कोटाअन्तर्गत भर्ना गरिएको थियो । शिक्षक भर्ना गरिएपछि उक्त विद्यालयका प्रधानाध्यापक राजेन्द्रसिंह महराले आफूलाई जानकारी नदिई बैठक बसी शिक्षक भर्ना गर्ने कार्य अगाडि बढाएको भन्ने आरोप लगाएका छन् ।

साथै शिक्षक भर्ना प्रक्रियामा अनियमिता गरेको आरोप लगाउँदै शिक्षा विकास तथा समन्वय इकाई दार्चुलामा निवेदनसमेत दिएका छन् । हटिनाथ प्रावि अर्थात् आधारभूत विद्यालय जमुना बगडका प्रधानाध्यापक महराले विद्यालयको लेटरप्याड र छाप आफूलाई जानकारी नगराई प्रयोग गरेको किर्ते छाप प्रयोग गरेको जस्ता आरोप लगाई निवेदन दिएको शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाका इकाई प्रमुख जयराज पन्तले बताए ।

प्रधानाध्यापक महराले विभिन्न आरोप लगाई निवेदन दिए पनि शिक्षक भर्नामा अनियमिता भएकै हो भनी अहिले नै भन्न सकिने अवस्था नभएको इकाई प्रमुख पन्तले बताए । शिक्षक भर्ना प्रक्रियाका फाइलहरू तथा विस्तृत अध्ययन नगरी अहिले शिक्षक भर्नामा अनियमिता भएकै हो भन्न नसकिने उनको भनाइ छ । शिक्षक भर्ना प्रक्रियामा संलग्नहरूलाई सोधपुछ गर्ने काम तथा पत्र काटेर शिक्षक भर्नासम्बन्धी अनुसन्धान गर्ने काम भइरहेको शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाका प्रमुख जयराज पन्तले बताए ।

यस्तै प्रधानाध्यापक महराले आफू विद्यालय व्यवस्थापन समितिको सदस्यसचिव तथा शिक्षक भर्ना समितिमा पनि सम्बन्धी विद्यालयको प्रधानाध्यापक सदस्यसचिव हुने व्यवस्था भए पनि आफूलाई जानकारी नगराई शिक्षक भर्ना गरिएको आरोप लगाएका छन् । शिक्षक भर्ना समितिको सदस्यसचिवमा स्थायी शिक्षक रहने व्यवस्था रहेको इकाई प्रमुख पन्तले बताएका छन् ।

तर, उक्त विद्यालयका प्रधानाध्यापक निजी श्रोतमा कार्यरत शिक्षक भएकाले पनि सदस्यसचिवमा रहन नसक्ने व्यवस्था रहेको छ । शिक्षक भर्ना प्रक्रियामा अर्कै विद्यालयका प्रधानाध्यापकलाई राखी शिक्षक भर्ना गरिएको प्रधानाध्यापक महराले बताए ।

प्रतिक्रिया