मदिरा किनबेच गर्न परिचयपत्र

झापा । झापामा आगामी १ माघदेखि मदिरा किन्दा वा बेच्दा परिचयपत्र अनिवार्य गर्ने तयारी गरिएको छ । मदिरा किनबेच गर्नका लागि निश्चित उमेर, समय र परिचयपत्र लागू गर्ने भन्दै नियममा कडाइ गर्न लागिएको हो ।

झापाका १५ वटै स्थानीय तहका जनप्रतिनिधि, प्रहरी र कानुन व्यवसायीले झापालाई आगामी १ माघदेखि मदिरा नियन्त्रित जिल्ला बनाउने अभियानको रूपमा यस्तो अभियान सुरु गरेका हुन् ।

मेलापर्व, कार्यक्रम र कन्सर्टहरूमा समेत मदिरा किन्न वा बेच्न पहिले जसरी नपाइने भएको छ । समाजमा हुने आपराधिक क्रियाकलाप तथा सडक दुर्घटना बढाउने मुख्य कारक नै मदिरा भएको भन्दै यसको कारोबारमा कडाइ गर्न लागिएको बताइएको छ । सम्बन्धित निकायका अधिकारीहरूले मदिरामा कडाइ गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी भीमप्रसाद ढकालले मदिरा नियन्त्रण गर्नसके समाजका ९० प्रतिशत अपराध घट्ने दाबी गरे । साथै यो अभियानमा सबै स्थानीय तहको पनि साथ रहेकाले झापालाई मदिरा नियन्त्रित नमुना जिल्ला बनाउन सकिने विश्वास व्यक्त गरे । साथै विद्यमान कानुन कार्यान्वयन गर्न सबै स्थानीय तहले सामुहिक प्रतिबद्धता जनाएका थिए ।

यस्तै मदिरा बिक्रीका लागि स्थानीय प्रशासन वा तहबाट स्वीकृति दिने, मेला, कार्यक्रम वा कन्सर्टहरूमा मदिरा बिक्री वितरण निषेध गर्ने र मदिरा नियन्त्रण अनुगमन समिति बनाई अनुगमन गर्नेलगायत १२ बुँदे नियमसमेत सार्वजनिक भएको छ ।

मदिरा नियन्त्रणका लागि आइतारबाटै अभियान सुरु भएको भन्दै झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सबै निकायलाई यसमा सक्रिय हुन आग्रह गरे । झापाका १५ वटै स्थानीयतहले आपसी समन्वय गरी कम्तिमा एउटा सुधार तथा पुनःस्थापना केन्द्र स्थापना गर्ने तयारी भएको पनि बताइएको छ ।

यसैबीच, मादकपदार्थ सेवन गरी सवारी चलाउने चालकलाई प्रहरीले नियन्त्रणमा लिएर ट्राफिक नियमका विषयमा कक्षासमेत दिन थालेको छ । यसअघि जरिवाना मात्रै गराएर छाड्ने गरिए पनि अब भने ट्राफिक नियमको ज्ञान दिन कक्षा नै सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख राजेश राईले बताए ।

कानुन र ट्राफिक नियमलाई अटेरी गर्दै मादकपदार्थ सेवन गरेर सवारी चलाउने क्रम नरोकिएपछि यस्तो अभियान थालिएको प्रहरीको भनाइ छ । अभियानको क्रममा पहिलो दिन १७ जना सवारी चालक कारवाहीमा परेका छन् । उनीहरूलाई मापसे गरेर सवारी चलाउनु हुँदैन भन्ने कक्षा दिइएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख कृष्णप्रसाद कोइरालाले बताए ।

कारवाहीमा परेका सबैलाई इलाका प्रहरी कार्यालय अनारमनी परिसरमा मादकपदार्थ सेवन गरेर सवारी चलाउनु हुन्न भन्ने विषयमा सिकाइएको प्रहरीले जनाएको छ । अभियानको पहिलो चरणमा कक्षा लिने, पटके भए एक रात थुन्ने र फेरि दोहोरिएको खण्डमा जिल्ला प्रशासन कार्यालय झापालाई कारवाहीका लागि सिफारिस गरिने प्रहरीले बताएको छ ।

प्रतिक्रिया