युएईमा नेपाली युवतीद्वारा छुरा हानी सहकर्मीको हत्या

काठमाडौं । युनाइटेड अरब इमिरेटसमा नेपाली युवतीबीच चक्कु हानाहान हुदा एक जनाको ज्यान गएको छ ।

घटनामा परी अन्य तीन जना घाइते भएका छन् । सारजहाँमा रहेको तान्जिफको क्लिनिङ सर्भिसेसमा काम गर्ने युवतीहरूबीच बिहीबार राति कम्पनीको क्याम्पभित्र मदिरा सेवनको क्रममा विवाद सुरु भएको आबुधावीस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

नुवाकोटकी सोनी तामाङले चक्कु चलाउँदा काठमाडौंकी सिर्जना बरालको ज्यान गएको दूतावासले जनायो । घटनामा ममता चौधरी, सलिना मगर र आशा दर्जी घाइते भएको कार्यवाहक राजदूत सागरप्रसाद फुयाँलले जानकारी दिए ।

सँगै काम गर्ने साथीहरूका अनुसार दसैँ मनाउने भन्दै पाँच नेपाली महिलाले सँगै बसेर मदिरा सेवन गरेका थिए । त्यसवेला उनीहरूबीच विवाद भएको थियो । विवाद भएको एक हप्तापछि चक्कु हानाहान भएको हो ।

‘बिदाको नाममा मदिरा सेवन गरेर सोनी तामाङ एक्लैले तीन जना साथीलाई चक्कु प्रहार गरेको कम्पनीले जानकारी दिएको छ,’ युएईका लागि कार्यवाहक राजदूत सागर फुयाँलले टेलिफोनमा भने, ‘उनलाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

घटनालगत्तै चार जनालाई नै अल क्यासिमी अस्पतालमा लगिएको थियो । सामान्य घाइते भएका आशा दर्जी र सलिना मगर उपचार गराएर शनिबार क्याप फर्किएका छन् भने ममता चौधरीको अवस्था गम्भीर रहेको दूतावासले जनाएको छ ।

बरालको उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो । चक्कु चलाउने सोनी तामाङ सहित उपचार गराएर फर्किएका सलिना र आशालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुई वर्षअघि पनि यही कम्पनीमा कार्यरत जनकपुरका विरेन्द्र साहले छुरा चलाउँदा पाँचथरका रञ्जित खपांगीको ज्यान गएको थियो । चक्कु हानाहान भएकै कम्पनीमा दुई महिनाअघि अर्घाखाँचीकी रिताले खनालले आत्महत्या गरेकी थिइन । युएईको कानुनअनुसार चक्कु चलाउने सोनी तामाङलाई हत्याको अभियोगमा जेल चलान हुन्छ ।

अदालतमा मुद्दा दाएर भएपछि मृतकको परिवारले हत्याको बदला हत्या नै मागे मत्युदण्डको सजाय हुने कानुनी व्यवस्था रहेको छ । मृतकको परिवारले ब्लडमनी मागे ब्लडमनी नै तिर्नुपर्ने हुन्छ भने आममाफी दिए माफी हुन्छ । त्यस कम्पनीमा तीन सय पुरुष र दुई सय युवती कार्यरत छन् ।

प्रतिक्रिया