काबेली कोरिडोरको कार्य अन्तिम चरणमा

पशुपतिनगर । पूर्वका इलाम, पाँचथर र ताप्लेजुङमा उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारणमा जोड्ने निर्माणाधीन काबेली कोरिडोरको काम दुई महिनामा सकिने भएको छ ।

जग्गा मुआब्जाको विषयमा विवाद भएर काम सुस्त भएको काबेली कोरिडोरको काम अहिले अन्तिम चरणमा पुगेको हो । इलामको देउमाई नगरपालिकाको सिद्धिथुम्का र पाँचथरको फिदिम बजार खण्डमा भएको जग्गा विवाद स्थानीय तह र प्रशासनको पहलमा सुल्झिएसँगै अहिले तीव्र गतिमा काम भइरहेको छ ।

काबेली प्रसारण लाइन आयोजनाअन्तर्गत इलामको गोदक, पाँचथरको अमरपुर र झापाको लखनपुरमा सब–स्टेसन निर्माण भई दुई वर्षअघि नै चार्ज गरी सञ्चालनमा आएका छन् । पहिलो चरणको काम दुई वर्षअघि नै सकिएको कोरिडोरको काम जग्गाको मुआब्जाका विषयमा स्थानीयले असहमति जनाएपछि दोस्रो र तेस्रो चरणको कामअघि बढ्न सकेको थिएन ।

जग्गा मुआब्जाको समस्या समाधान भएपछि अहिले प्रसारण लाइनको दोस्रो र तेस्रो खण्डमा धमाधम काम भइरहेको छ । दोस्रो खण्डको १ सय २५ वटामध्ये १० वटा टावरको मात्रै फाउन्डेसनको काम बाँकी रहेको आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीले बताए । दोस्रो खण्डमा १० वटा टावरको फाउन्डेशनको काम सकेर ११ किलोमिटर तार तान्न मात्रै बाँकी रहेको आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीले बताए ।

‘इलामको सिद्धिथुम्का, चमैता र पाँचथरको जोरसाल खण्डमा पर्ने १९ वटा टावरमा जग्गा विवादका कारण काम रोकिएको थियो, अहिले त्यही खण्डमा टावर ठड्याउने, तार टाङ्नेदेखि तारको बाटोमा सफाइ गर्ने काम हुँदै छ’, द्विवेदीले भने । मंसिर अन्तिमसम्ममा आयोजनाको सबै काम सकिन्छ र विद्युत् सप्लाइको काम पूर्णरूपमा सम्पन्न गरिनेछ ।

तेस्रो खण्डमा ४० वटा टावर रहेकामा सबैको फाउन्डेसनको काम सकिएको र ११ किलोमिटर तार तान्ने काम मात्रै बाँकी छ । दोस्रो र तेस्रो खण्डअन्तर्गत इलाम, पाँचथर र तेह्रथुमको आठराई खण्डमा १ सय ६५ वटा टावर निर्माण भइसक्ने छन् । पाँच वर्षदेखि सुरु भएको आयोजनाको काम तोकिएको समयमा पूरा नभएपछि यसअघि डेढ वर्ष म्याद थप गरिएको थियो ।

कोरिडोर निर्माण सम्पन्न हुनासाथ पाँचथरको ६० मेगावाट र इलामको ७० मेगावाट विद्युत् यो आयोजनामार्फत विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ । अहिले इलाम झापा खण्डमा रहेको कोरिडोरको काम सकिएकाले इलामका खोलामा उत्पादन भएको ७० मेगावाट विद्युत् केन्द्रीय प्रसारणमा जोडिएको छ । दुई सय मेगावाट विद्युत् प्रसारण गर्ने कोरिडोरको क्षमता रहेको आयोजना सञ्चालनमा आएपछि प्रदेश–१ मा विद्युत्को अभाव नहुने आयोजना प्रमुख द्विवेदीले बताए ।

झापाको दमकदेखि पाँचथरको अमरपुर जोड्ने काबेली कोरिडोरको ९१ किलोमिटर विद्युत् प्रसारण लाइनमा जम्मा २ सय ६२ वटा विद्युतीय पोल रहनेछन् । विश्व बैंकको २ अर्ब ५८ करोडको लगानीमा नेपाल विद्युत् प्राधिकरणले कोरिडोर निर्माणको काम गरिरहेको छ ।

प्रतिक्रिया