मकै खेतीमा कृषकको संलग्नता बढ्दै

नेपालगञ्ज । बाँके जिल्लामा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै जोन कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

तीन वर्षदेखि सञ्चालन हुँदै आएको परियोजनाको सुरुआती चरणमा जिल्लाका १० समूह र सहकारीमा आबद्ध कृषकबाट ३ सय ५० हेक्टर जमिनमा मकै खेती हुँदै आएकामा अहिले ३५ कृषक समूहबाट ६ सय २१ हेक्टर जमिनमा मकै खेती हुँदै आएको हो ।

जिल्लास्थित परियोजना प्रमुख देवेशकुमार मिश्रका अनुसार दुई वर्षको अवधिमा परियोजनाको कार्यक्रममा कृषक सहकारी, कृषक उद्यमी, जलउपभोक्ता र कृषक समूहका १ हजार ३ सय ४३ कृषक आबद्ध भइसकेका छन् । परियोजनाअन्तर्गत कृषकलाई आधुनिक उपकरणलगायत प्राविधिक सहयोग दिइँदै आएको बताइएको छ ।

‘पहिले गरिँदै आएको मकै खेती र अहिले परियोजनाले भनेजस्तो मकै खेतीमा धेरै भिन्नता छ । थोरै लगानीमा धेरै फाइदा लिन सकिएको छ’, डुडुवा गाउँपालिकाका कृषक रामप्रसाद यादवको भनाइ छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको ५ वडा तथा डुडुवा गाउँपालिकाको बेतहनी, बनकट्टी र हिरमिनिया गाउँलाई परियोजनाभित्र समेटिएको छ । परियोजना कार्यक्रमअन्तर्गत यस जिल्लाका कृषकले हिउँदे र बर्खेे मकैखेती गर्दै आएकामा आगामी आवदेखि बर्खे मकैखेतीका लागि पनि ४० कृषक समूह छनोट गरिएको छ ।

‘परापूर्वदेखि मकै खेती हुँदै आएको बाली, जलवायु र माटोको अनुकूलता तथा कृषकको मागका आधारमा परियोजनाले बाँके जिल्लालाई मकै जोनका रूपमा छनोट गरिएको हो’, परियोजना प्रमुख मिश्रको भनाइ छ ।

उक्त कार्यक्रमअन्तर्गत कृषकलाई कीटनाशक औषधि, बिउबिजन र विभिन्न कृषि उपकरण ५० देखि ८५ प्रतिशतसम्म अनुदान सहयोगमा उपलब्ध गराउँदै आइएको छ भने मकै खेतीसम्बन्धी प्राविधिक ज्ञानको तालिम पनि दिँदै आइएको छ । अनुदान सहयोगअन्तर्गत पछिल्लोपटक नेपालगञ्ज उपमहानगरपालिका–१५ को विजय नर्सरी फार्म, वडा नम्बर २२ पुरैनीमा रहेको मौसमी कृषक समूह र डुडुवा गाउँपालिका–६ बल्दीपुरवाको कृषि सहकारी संस्थालाई करिब ७५ लाख रुपैयाँ बराबरको तीन थान ट्र्याक्टर, ट्रली, थ्रेसर, रोराबेटरलगायत उपकरण ५० देखि ८५ प्रतिशत अनुदानमा उपलब्ध गराइएको छ ।

जिल्लाको भूगोल, जलवायु, माटोको अवस्था, कृषकका मागलगायत प्राविधिक पक्षको आँकलन गरी कुन जिल्लामा कुन बाली परियोजनाअन्तर्गत सिफारिस गर्ने भनेर तय हुने गरेको परियोजना प्रमुख मिश्रले बताए ।

प्रतिक्रिया