खोजखबर

माटोका भाँडा बनाउन भ्याईनभ्याई

संजय सहनी २०७५ कार्तिक ११ गते ७:०० मा प्रकाशित

रौतहट । गौर नगरपालिका– ४ का ५५ वर्षीय पाचु पंडितलाई चक्का नचाएर आजभोलि माटोको भाडा बनाउन भ्याइ नभ्याइ छ । हिन्दुहरूको महान र पवित्र पर्व दिपावली र छठको दिन नजिकिदै गर्दा पंडित सहित रौतहटका व्यसायिक कुम्हालेहरूलाई माटोको भाडा बनाउन व्यस्तता बढेको हो ।

माटोको भाडा बनाउदै १० जना सदस्यको जीविको चलाउदै आएका पंडितलाई दिपावली र छठ आउन लागेसंगै माटोको दियो, प्याला, हात्ती र अन्य सामाग्री निर्माण गरी बेच्न र अर्डर अनुसारको सामान पु¥याउन यसबेला भ्याइ नभ्याइ भएको छ ।

पंडितलाई सघाउन घरका अन्य सदस्यसहित पंडितपत्नी रामकली देवी पनि अहोरात्र खटिरहेकी छन् । उनको कक्षा ७ मा अध्ययनरत १० वर्र्षीय नातिनी आशा कुमारीले बाजेको पेशा आफुलाई मन पर्छ यसो फुर्सतको समयमा चाड पर्वको बेला सघाइ दिदा राम्रो आम्दानी हुने बताउछिन् ।

दिपावली र छठमा विशेष गरी माटोबाट बनेको भाडाकुडा र सामाग्रीलाई शुद्ध र पवित्र मानी प्रयोग गर्ने चलन रहेको छ । पुस्तौ देखि यही पेशाबाट छोराछोरी र नातिनातिनीको पालन पोषण र पढाई खर्च जुटाउदै आएका पंडित अर्डर अनुसारको सामान बनाउन र पोहोर साल भन्दा बढी कमाउने आसकासाथ सामान बनाउने चटारामो छन् ।

वर्षेनी ५० देखि ६० हजार कमाउने पंडित यस पटक भने बढी कमाई गर्ने सोचका साथ अहोरात्र पुरै परिवार मेहनत गर्दैछन् । पहिले पहिले माटो दाउरा पराल र गोबरको गुइठाहरू किन्न पर्दैनथ्यो तर अहिले सबै थोक किन्नु पर्छ । मेहनत नगरे गतवर्षको तुलनामा कमाई नहुने पंडितको भनाइ छ ।

बढ्दो आधुनिकिकरण र शहरीकरणको नाममा चाड पर्वमा बिजुली र प्लास्टिकको सामानको बढी प्रायोग हुन थालेपछि कुम्हाल परिवारको पेशा संकटमा परेको र पेशा प्रति धेरैको रुची घटेको पंडितको भनाइ छ । दिपावलीमा हिन्दुहरूले घरभरि नै दियो बाल्ने तथा छठमा स–साना बच्चाहरू तथा घर परिवारको दिर्घायूको कामना गर्दै हात्ती (माटोबाट बनाइएको हात्ती जस्तै देखिने सामाग्री) लाई पूजा गरी भाकल पुरा गर्ने प्रचलन तराईमा बढे पछि अर्डर अनुसारको हात्ती बनाउनु पर्ने भएकाले रौतहटका व्यवसायिक कुम्हालेहरूको व्यस्तता झन बढेको देखिन्छ ।

कतिपय मानिसले पितल तामा लगायत धातुहरूको प्रयोगबाट बनोको दियो सामाग्री प्रयोग गरे पनि हिन्दु धर्ममा मरणहरणदेखि सबै प्रकारको पूजाआजामा प्रयोग गर्न वातावरणलाई असर नपार्ने तथा शुद्धहताको हिसाबले माटोको भाडा नै उपयुक्त र पवित्र हुने भएकाले कुम्हालेहरूलाई माटोको भाडाको अर्डर दिने प्रचलन रहेको बुद्धिजीवि चिरञ्जिवी सिंह बताउछन् ।

सरकारले कुम्हालेको पेशाको संरक्षण र विकास गर्न सके यस पेशाको माध्यमबाट पनि धार्मिक र वातावरण दुबैको पवित्रता र शुद्धतालाई कायम राख्न ठूलो मद्दत र भूमिका खेल्ने सिंहको भनाइ छ । अन्य समयमा छोएको पानी र सामान नचल्ने भन्दै सामाजामा अपहेलित हुदै आए पनि पूजापाठको समयमा उनीहरूबाट निर्मित विभिन्न सामाग्रीहरू चोखो हुने हिसाबले प्रयोग गर्छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय