विश्व

यौन काण्डमा गुगलका ४८ कर्मचारी बर्खास्त

एजेन्सी २०७५ कार्तिक १० गते ७:५४ मा प्रकाशित

क्यालिफोर्निया । गुगल कम्पनीले पछिल्लो दुई वर्षमा यौन दुव्र्यवहारमा संलग्न आफ्ना १३ वरिष्ठ अधिकारीसहित ४८ जनालाई जागिरबाट बर्खास्त गरेको छ । गुगलका मुख्य कार्यकारी अधिकृत सुन्दर पिचइले एक वक्तव्य दिँदै दुव्र्यवहारका घटनालाई लिएर आफ्नो कम्पनीले यो कडा कदम चालेको हो ।

न्युयोर्क टाइम्सले एन्ड्रोइडका निर्माता एन्डी रुबिनलाई यौन उत्पीडनको आरोपको बदलामा ९० मिलियन डलरको प्याकेज दिएर बिदा गरिएको भन्ने प्रश्न उठाएपछि गुगलका प्रमुख कार्यकारी अधिकृतले त्यसको जवाफ दिने क्रममा पछिल्लो जानकारीबाहिर ल्याएका हुन् ।

सो अखबारले रुबिनका प्रवक्ताले उक्त कुरा अस्वीकार गरेको समेत समाचारमा उल्लेखित गरेको थियो । रुबिनले सन् २०१४ मा कम्पनी छोडेका थिए । न्युयोर्क टाइम्सका अनुसार त्यतिवेला उनलाई सानदार फेयरवेल दिइएको थियो ।

सुन्दरले आफ्नो पत्रमा न्युयोर्क टाइम्सको रिपोर्ट पढ्न ज्यादै नै कष्टकर रहेको र गुगल यस खालका मामिलामा गम्भीर रहेको जनाएका छन् । उनले गुगल आफ्ना कर्मचारीलाई सुरक्षित कार्यक्षेत्र दिन तत्पर रहेको समेत जनाएका छन् ।

उनले भनेका छन्, ‘हामी यो सुनिश्चित गर्न चाहन्छौँ कि हामीले यौन उत्पीडन जोडिएका हरेक आरोपको जाँच गरेका छौँ र जाँच गरिएपछि हामीले यो फैसला लिएका हौँ ।’

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय