विष्ट र भट्ट बर्सास्त

काठमाडौं । गृह मन्त्रालयले निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा प्रमाण नष्ट गरेको आरोप लागेका निलम्बित एसपी दिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई बर्खास्त गरेको छ ।

भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाएको हो । गृहमन्त्रालयले बिहीबार गरेको निर्णयसँगै दुवै प्रहरी अधिकारीले प्रहरी सेवाबाट बिदाइ पाएका हुन् ।

कञ्चनपुरकी १३ वर्षीया बालिका पन्तको हत्यामा प्रमाण नष्ट गर्ने उनीहरूलाई बर्खास्तको लागि गृहले दोस्रोपटक स्पष्टीकरण लिएको थियो । दोस्रोपटकको जवाफ पनि चित्त बुझ्दो नभएको भन्दै बिहीबारबाटै प्रहरी नियमावली–०७१ को नियमक ११३ (क) को कसुरमा ऐ. नियमावलीको नियम १०९ को खण्ड (ख) १ बमोजिम हटाएको प्रवक्ता रामकृष्ण सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सो नियमावलीको नियम ११३ मा सेवाबाट हटाउन वा बर्खास्त गर्न सकिने व्यवस्था छ । पदीय जिम्मेवारी लापरवाही गरी पूरा नगर्ने प्रहरी अधिकारीलाई भविष्यमा सरकारी सेवामा योग्य हुने वा नहुने गरी बर्खास्त गर्न सक्ने अधिकार सो व्यवस्थाले दिएको छ । प्रहरी ऐनअनुसार इन्सपेक्टरदेखि एसपीसम्मको बर्खास्ती गर्ने अधिकार प्रहरी महानिरीक्षकको सिफारिसमा गृहसचिवले गर्ने प्रावधान छ ।

गृहले प्रहरी प्रधान कार्यालयले असोज २९ गते नै दुवै जनालाई सेवामा राखिरहन उचित नदिएको हुँदा प्रहरी नियमावली ०७१ बमोजिम सेवाबाट हटाउनेतर्फ आवश्यक कारबाहीको अनुरोध आएकाले प्रक्रिया अगाडि बढाइएको पनि विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूमाथि घटनाको अनुसन्धानका क्रममा चरम लापरबाही गरेको, सामान्य कानुनी व्यवस्थासमेत पालना नगरेको, प्रमाण नष्ट गर्ने कार्य गरेको, घटनापछि आम सर्वसाधारणसँगको व्यवहार र कार्यशैली नकारात्मक रहेको आरोप लगाएको छ ।

बर्खास्त गर्नका लागि दुईपटक स्पष्टीकरण सोध्नुपर्ने कानुनी प्रावधानअनुसार प्रक्रिया अगाडि बढाइएको थियो । सोहीअनुसार उनीहरूलाई ‘तपाईंलाई कारबाही किन नगर्ने ?’ भन्दै बुधबार साँझ नै स्पष्टीकरणको लिखित जवाफ माग गरेको थियो ।

जवाफमा उनले प्रचलित कार्य विधिअनुसार घटनास्थलको सुरक्षा र सबुत–प्रमाण संकलन गरेको दाबी गरेका छन् । चार पृष्ठ लामो स्पष्टीकरणमा उनले भनेका छन्, ‘घटना राजनीतिकरण गरी मलाई पीडित बनाउने काम गरियो । म कर्तव्यबाट चुकेको छैन ।’

पहिलोपटक दिएको जवाफ मन्त्रालयको प्रहरी प्रशासन शाखाका उपसचिव दिलिप लामिछानेले अध्ययन गरेका थिए । स्पष्टीकरणमा गृहका वरिष्ठ अधिकारी विश्वस्त हुन नसकेपछि बुधबार साँझ फेरि दोस्रो स्पष्टीकरण सोधिएको थियो ।

प्रहरी प्रधान कार्यालयले दोस्रो स्पष्टीकरणसमेत बिहीबार गृहसचिव प्रेमकुमार राईलाई बुझाएको थियो । कारबाही प्रक्रियामा सहभागी गृह अधिकारीका अनुसार विष्ट र भट्टले सिलसिलेवार जवाफ दिएका छैनन् । उनीहरूले घटनाको पृष्ठभूमि, त्यसले आफू र परिवारमा परेको असर र घटनालाई अनावश्यक बढाइ–चढाइ गरिएकोजस्ता तथ्यहीन भावनात्मक जवाफ पेस गरेका थिए ।

गत साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका—१८ निम्बुखेडास्थित उखुबारीमा पन्तको बलात्कारपछि हत्या भए पनि उक्त घटनाका मुख्य अभियुक्त अहिलेसम पक्राउ पर्न सकेका छैनन् । उक्त घटनामा संलग्नहरूको पहिचान गर्ने भन्दै गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले फरक–फरक टोली बनाए पनि घटनाको सत्य–तथ्य अझै खुल्न सकेको छैन ।

प्रतिक्रिया