अर्थबजार

मर्स्याङ्दी करिडोर प्रसारण लाइनको निर्माण प्रक्रिया सुरु

रमेश लम्साल २०७५ कार्तिक ९ गते ८:३६ मा प्रकाशित

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मर्स्याङ्दी करिडोर विद्युत् प्रसारण लाइन निर्माणका लागि ठेकदार छनोटको प्रक्रिया सुरु गरेको छ ।

मर्स्याङ्दी तथा त्यसका सहायक नदीमा निर्माणमा रहेका र निर्माणमा जाने तयारीका आयोजनाबाट उत्पादित विद्युत् प्रसारणका लागि उक्त प्रसारण लाइन निर्माण गर्न लागिएको हो । सो करिडोरमा १ हजार ६ सय मेगावाट क्षमताका आयोजना निर्माणको क्रममा छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लमजुङको दोर्दी तथा न्यादी खोलामा निर्माणाधीन आयोजना सम्पन्न हुन कम्तीमा दुई वर्ष लाग्ने देखिएको र त्यस अवधिमा प्राधिकरणले सब स्टेसन तथा प्रसारण लाइन बनाइसक्ने प्रतिबद्धता गरिसकेका छन् ।

उनले केही महिनाअघि प्रसारण लाइन तथा त्यस भेगमा निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गरी प्रसारण लाइन निर्माण प्रक्रिया सुरु भएको बताए ।

कार्यकारी निर्देशक घिसिङले मस्र्याङ्दी करिडोर प्रसारण लाइन निर्माणलाई उच्च प्राथमिकतामा राखेको बताए । मर्स्याङ्दी करिडोरअन्तर्गतको लमजुङको उदिपुर र चितवनको भरतपुरमा २२०-१३२-३३ केभी क्षमताको सब स्टेसन बनाउन ठेकेदार छनोटको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

प्रतिस्पर्धामा रहेका कम्पनीको प्राविधिक प्रस्ताव मूल्यांकन गरी सारभूतरूपमा प्रभावग्राही कम्पनीको आर्थिक प्रस्ताव खोली सकिएको छ । अहिले सबैभन्दा कम रकम कबोल गर्ने कम्पनीको प्रस्ताव मूल्यांकनको चरणमा रहेको आयोजनाले जनाएको छ । प्राधिकरणले करिडोरको पहिलो खण्डमा पर्ने मनाङ (धारापानी)–खुदी–उदीपुर (लमजुङ) प्रसारण लाइन तथा सबस्टेसन निर्माणका लागि ठेकेदार छनोटको काम सार्वजनिक गरेको छ ।

प्राधिकरणले मनाङको धारापानी र लमजुङको खुदी तथा उदिपुरमा पनि २२०-१३२-३३ केभीको सबस्टेसन निर्माण गर्नेछ । इच्छुक कम्पनीलाई आवेदन दिन १८ मंसिरसम्मको समयसीमा दिइएको आयोजनाले जनाएको छ । छनोट भएको कम्पनीले तीनवटा सबस्टेसन र धारापानी–उदिपुर करिब ४६ किलोमिटर प्रसारण लाइनको निर्माण गर्नेछ ।

उदिपुर–भरतपुर खण्डमा पर्ने करिब ६४ किलोमिटर प्रसारण लाइन निर्माण गर्न ठेकेदार छनोट गरी काम सुरु भइसकेको छ । युरोपेली लगानी बैंकको सहुलियतपूर्ण ऋणमा मस्र्याङ्दी करिडोर प्रसारण लाइनको निर्माण गर्न लागिएको हो ।

आयोजनाको अनुमानित लागत ९ अर्ब रहेको छ । यसको निर्माण आर्थिक वर्ष ०७८-७९ मा सक्ने लक्ष्य छ । स्थानीयवासीले प्रसारण लाइन परिवर्तन गर्नुपर्ने माग राख्दै खुदी–उदिपुर खण्डमा पर्ने केही क्षेत्रमा विरोध गरिरहेका छन् । उनीहरूको मागलाई सम्बोधन गर्ने प्रयास भइरहेको छ ।

दोर्दी खोलामा निर्माण भइरहेका आयोजनाको विद्युत् जोड्न ११ किलोमिटर स्थानीय कीर्तिपुर–उदिपुर १३२ केभी ‘डबल सर्किट’ प्रसारण लाइन बनाउन ठेक्का सम्झौता भई निर्माण सुरु भइसकेको छ । उदिपुरमा सबस्टेसन निर्माण गर्न ठेकेदार छनोट अन्तिम चरणमा पुगेकाले दोर्दी करिडोरमा निर्माण भइरहेका जलविद्युत् आयोजनाको विद्युत् खेर नजाने अवस्था देखिएको छ ।

उदिपुरमा सबस्टेसन र उदिपुर–मार्किचोक (तनहुँ) प्रसारण लाइन निर्माण भएमा दोर्दी करिडोरमा निर्माण भएका आयोजनाको विद्युत् प्रसारण प्रणालीमा जोड्न समस्या नहुने प्राधिकरणको भनाइ छ ।

कार्यकारी निर्देशक घिसिङले आयोजनाको एक युनिट विद्युत् पनि खेर जान नदिने र त्यसका लागि हरसम्भव सबै प्रयास गर्ने बताए । सो प्रसारण लाइनमा २७ मेगावाटको दोर्दीखोला, लिबर्टी इनर्जीको २५ मेगावाटको माथिल्लो दोर्दी ए, पिपल्स हाइड्रोपावरको ४९ मेगावाटको सुपर दोर्दी ‘ख’ लगायतका जलविद्युत् आयोजनाको विद्युत् जोडिनेछ ।

उदिपुर–मार्किचोक (तनहुँ)–भरतपुर प्रसारण लाइन निर्माणका लागि ठेकेदार छनोट भई काम सुरु भइसकेको छ । मार्किचोक र काठमाडौँको मातातीर्थमा सबस्टेसन निर्माण भइरहेको छ । मस्र्याङ्दी करिडोर प्रसारण लाइनबाट प्रवाह भएको विद्युत् मार्किचोकबाट मस्र्याङ्दी र काठमाडौं आउनेछ । मार्किचोक–काठमाडौं २२० केभी प्रसारण लाइनको निर्माण धमाधम भइरहेको छ । प्रसारण लाइन तथा सबस्टेसनको निर्माण आगामी वर्षभित्र सक्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया