चद्रगढी विमानस्थलमा रात्रि उडानको तयारी

झापा । झापाको चन्द्रगढी विमानस्थलमा रात्रि उडानको तयारी सुरु भएको छ । केही महिनाभित्रै रात्रि उडान गर्ने गरी विमानस्थल प्रशासनले तयारी सुरु गरेको हो ।

विमानस्थल प्रशासनले रन–वे लाइट जडान कार्य अघि बढाइसकेको छ । दुई वर्षअघिसम्म निकै अव्यवस्थित देखिने चन्द्रगढी विमानस्थल अहिले व्यवस्थित पनि बनेको छ । दैनिक सात सय यात्रु झापा–काठमाडौं आवतजावत गर्ने यो विमानस्थल पूर्वी नाकाबाट भित्रिने भारतीय, भुटानी र अन्य मुलुकका यात्रु काठमाडौं जाने विमानस्थलका रूपमा पनि परिचित छ ।

नाइट फ्लाइटका लागि द्रुत गतिमा काम भइरहेको चन्द्रगढी विमानस्थलका प्रमुख पूर्णप्रसाद चुडालले बताए । उनले भने, ‘पोइन्टहरू राख्न सुरु भइसकेको छ, अब लाइट जडान सुरु गर्दै छौँ, पुसदेखि नाइट फ्लाइट अपरेसन गर्ने हाम्रो तयारी छ ।’

रात्रि उडानका लागि जनशक्ति थप गरिने बताइएको छ । अहिले दिउँसो ११ देखि ३ बजेसम्म उडान गरिरहेको चन्द्रगढी विमानस्थलले रात्रि उडान गर्नका लागि एयरलाइन्सहरूलाई प्रोत्साहन गरिरहेको छ ।

‘दिउँसो मात्र उडान हुँदा ५ बजेपछि जहाज उड्न पएको छैन,’ विमानस्थलका प्रमुख चुडालले भने, ‘रात्रि उडान सुरु भएपछि काठमाडौंको चाप पनि हामी घटाउन सक्छौँ, यात्रुलाई पनि सुविधा हुन्छ ।’
विमानस्थलमा यात्रुको चाप अत्यधिक बढेको उनले सुनाए । अब जहाज राख्ने ठाउँसमेत विस्तार गर्ने तयारी विमानस्थल प्रशासनले गरेको छ ।

६५ बिघा क्षेत्रफलमा फैलिएको यो विमानस्थलमा अरू २० बिघा थप्ने योजनामा विमानस्थल प्रशासन जुटेको छ । पहिले जहाजले आवतजावत गर्नका लागि काठमाडौंबाटै इन्धन बोकेर झापा आउनुपर्ने बाध्यता थियो । अहिले त्यो समस्या पूर्ण रूपमा हटेको छ । चन्द्रगढी विमानस्थलमै नेपाल आयल निगमका ट्यांकर बस्न थालेका छन् ।

अब चन्द्रगढीबाट काठमाडौंसम्म मात्र नभएर, मुलुकका अन्य स्थानमा पनि सोझै उडान गर्ने विमानस्थल प्रशासनको तयारी छ । ‘अहिलेसम्म त यहाँबाट काठमाडौं मात्र उडान हुँदै छ, तर ट्राभल एजेन्सीसँग सहकार्य गरेर पोखरा, नेपालगञ्ज र भैरहवासम्म पनि उडान गर्ने हाम्रो योजना छ,’ विमानस्थलका प्रमुख चुडालले भने, ‘यात्रुले पनि पोखराचाहिँ साह्रै डिमान्ड गरेका छन्, निकट भविष्यमै त्यो पूरा गर्ने हाम्रो तयारी छ ।’

कम भिजिबिलिटीका कारण हिउँदमा प्रायः उडान रद्द भइरहने चन्द्रगढी विमानस्थलमा अहिले २२ सय मिटर भिजिबिलिटीमै उडान तथा अवतरण हुन थालेको छ । विमानस्थलमा आइएफआर प्रविधिबाट जहाज अवतरण गराउन थालिएको हो ।

विमानस्थलमा दमकलसमेत ल्याउने प्रशासनको तयारी छ । दमकलका लागि पानी सप्लाई गर्ने ट्यांकी बनिसकेको भन्दै विमानस्थलका प्रमुख चुडालले माघमा दमकल ल्याउने योजना सुनाए । चन्द्रगढी विमानस्थलबाट हाल पाँच एयरलाइन्सका सात वटा जहाजले उडान भर्दै आएका छन् ।

प्रतिक्रिया