विद्युत् उत्पादन सरकारको प्रमुख प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य हासिल गर्न सरकार तीव्रगतिमा अघि बढेको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको निमन्त्रणामा नेपालको भ्रमणमा आएका भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादीका महासचिव सीताराम यचुरीसँगको भेटमा प्रधानमन्त्री ओलीले सरकार लक्ष्यभन्दा बाहिर नगएको बताएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले सरकारले देश कृषिको आधुनिकीकरण, ऊर्जा, रेलमार्ग र अन्य विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर अघि बढेको बताए । ‘नेपाल नयाँ युगमा प्रवेश गरेको छ । राजनीतिक स्थिरता सुरु भएको छ ।

यही मौकालाई उपयोग गर्दै हामी देशलाई विकसित बनाउने अभियानमा छौँ,’ उनको भनाइ छ । महासचिव यचुरीले नेपालको विकास, ऊर्जा र पयर्टनका सम्भावनाबारे राखेको जिज्ञासामा प्रधानमन्त्री ओलीले रक्सौल–काठमाडौं रेल, रसुवागढी–काठमाडौं रेल, पूर्व–पश्चिम रेलको सर्वेक्षण भइरहेको र तिनको निर्माणकार्य द्रुत गतिमा अघि बढ्ने बताए ।

विद्युत् उत्पादनलाई प्राथमिकतमा राखिएको बताउँदै प्रधानमन्त्री ओलीले सौर्यऊर्जा, जिओथर्मल र गुरुत्वाकर्षणबाट विद्युत् उत्पादन गर्ने प्रक्रिया पनि अघि बढेको जानकारी गराए ।

प्रधानमन्त्री ओलीले विश्वव्यापी तापक्रम वृद्धिले हिमतालहरू जोखिममा परेको र तराईमा मरुभूमीकरण बढ्ने अवस्थालाई सरकारले गम्भीर रूपमा लिएको उल्लेख गरे ।

‘विश्वव्यापी तापमानमा वृद्धिको कारणले हिमतालमा भएको जोखिमले चुरे रिचार्ज हुन नपाउँदा तराईमा हुने मरुभूमीकरण रोक्न हामी गम्भीर छौँ,’ प्रधानमन्त्री ओलीको भनाइ छ । भेटमा भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादीका केन्द्रीय सदस्य जोगेन्द्र शर्मा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, नेकपा केन्द्रीय सदस्यद्वय कृष्णगोपाल श्रेष्ठ र विष्णु रिजाल पनि सहभागी थिए ।

प्रतिक्रिया