स्कुटीमा सवार एकै परिवारका तीनको मृत्यु

बनेपा । सवारी दुर्घटनामा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।मृत्युहुनेमा दोलखा सैलुङ गाउँपालिका–७ का ३५ वर्षीय सोनाम लामा, उनकी श्रीमती ३० वर्षीया बिमला लामा र १२ वर्षीय छोरा मनिष लामा रहेका छन् ।

सोनामको धुलिखेल अस्पताल तथा बिमला र मनिषको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

काठमाडौँबाट पूर्वतर्फ गइरहेको बा७५प १९४९ नंको स्कुटर र विपरीत दिशाबाट आइरहेको बिआर३२जे३४७५ नंको स्कार्पियो बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–११ स्थित कालढुङ्गामा एकापसमा ठोक्किँदा स्कुटरमा सवार तीनै जना गम्भीर घाइते भई उपचारका क्रममा उनीहरुको मृत्यु भएको उनले बताए।

स्कार्पियो र सोका चालक जनकपुर उपमहानगरपालिका–४ का विक्रु ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेकोे प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।

प्रतिक्रिया