त्रिपालको कभर्डहलमा ब्याडमिन्टनको अभ्यास


संखुवासभा । जिल्लामा केही समयअगाडि खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको थियो । प्रतियोगितमा संखुवासभा, भोजपुर र मोरङलगायत २८ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको उपाधि भोजपुरले जित्यो । पछिल्लो केही वर्षयता संखुवासभामा ब्याडमिन्टनको माहोल निकै तातेको छ । संखुवासभामा ब्याडमिन्टन खेलको सुरुआतको इतिहास खासै लामो त छैन ।

यद्यपि, जिल्ला खेलकुद विकास समितिको तथ्यांकमा १ वर्षमा ब्याडमिन्टनका ३ ठूला प्रतियोगिता जिल्लामा सञ्चालन भइसकेका छन् । ०६२ सालमा जिल्ला खेलकुद विकास समितिका जिल्ला ब्याडमिन्टन संघ दर्ता भए पनि जिल्लामा नै प्रतियोगिता हुन थालिएको ५ वर्ष मात्रै भएको छ ।

करिब दशक अघि दर्ता भएको ब्याडमिन्टन संघले अहिलेसम्म ठूलै छलाङ मारिसक्नुपर्ने खेलाडीहरू नै बताउँछन् । तर, त्यसो हुन सकेको छैन । खेलाडीहरू किन जिल्ला मात्रै खुम्चिएर बस्नुपरेको छ भन्नेबारे कसैको चासो गएको देखिँदैन । जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष प्रवीण शेर्पा पहाडमा ब्याडमिन्टनको माहोल राम्रै भए पनि प्राविधिक पक्ष भने कमजोर भएको बताउँछन् ।

जिल्लामा ब्याडमिन्टनका सानाठूला प्रतियोगिता निरन्तर भइरहे पनि खेलाडीमा रणनीतिक अभाव रहेको शेर्पाले बताए । रणनीतिविना जोसले मात्रै खेल्दा कतिपय खेलमा अग्रस्थानमा हुदाँहुँदै पनि टिम हार्ने गरेको ब्याडमिन्टन खेलाडी छितिज बरालले अनुभव सुनाए । स्वस्फुर्त रूपमै अभ्यास गरेकाले प्राविधिक रूपमा कमजोर रहेको बरालले बताए ।

दक्ष प्राशिक्षकबाट प्रशिक्षण पाए खेलको स्तर बढ्ने उनको दाबी छ । प्राविधिक कमजोरीका कारण ब्याडमिन्टनको अपेक्षित उपलब्धि हासिल गर्न नसकेको खेलाडीहरूको गुनासो छ । प्रतियोगिताको संख्या र पुरस्कार राशि मात्रै नबढाएर खेलाडी तथा प्रशिक्षकको दक्षता अभिवृद्धिका निम्ति पनि बजेट खर्चन सके मात्र ब्याडमिन्टनका खेलाडीको स्तर वृद्धि हुने भनाइ छ ।

बजेट अभावमा खेलाडीलाई प्रशिक्षण दिन नसकेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भरतकुमार घिमिरेले स्वीकार गरे । ‘तालिका अनुसारको प्रतियोगिता सञ्चालन गर्न सीमित बजेट आउँछ । अन्य कार्यक्रम गर्न सम्भवै छैन’ उनले समस्या सुनाए ।

जिल्लास्तरीय तथा पालिका र वडास्तरीय प्रतियोगिता सयौँको संख्यामा सञ्चालित छन् । जिल्ला खेलकुद समितिमा १७ ओटा खेलसम्बद्ध क्लबहरू आबद्ध छन् भने खेलकुद विकासका लागि गठन गरिएका विभिन्न विधाका ११ जिल्ला संघ आबद्ध छन् ।

सास्ती भोग्दै खेलाडी
ब्याडमिन्टन खेलमा पुरस्कार राशि सानै भए पनि खेलाडी र खेलप्रेमीको उपस्थिति कम छैन । जिल्लास्तरीय डबल समूहमा गरिने प्रतियोगिताहरूमा करिब ३० समूहको प्रतिस्पर्धा हुनेगरेको छ । अहिले जिल्लाका झन्डै २६ स्थानमा कोर्ट निर्माण भएको छ । सोही स्थानबाट उदीयमान खेलाडी उत्पादन भइरहेका छन् ।

तर, व्यवस्थित खेलमैदान (कभर्ड हल) नहुँदा खेलाडीले सास्ती खेप्दै आइरहेका छन् । जिल्लाका विभिन्न स्थानमा ब्याडमिन्टन खेल सञ्चालन हुने भए पनि कुनै पनि स्थानमा व्यवस्थित खेलमैदान छैन । खेलमैदान अभावमा खेलाडी सरकारी कार्यालयको परिसरभित्र तथा व्यक्तिका जग्गामा बनाइएको ब्याडमिन्टन कोर्टमा खेल्न बाध्य छन् खेलाडी ।

विभिन्न समयमा जिल्लास्तरीय प्रतियोगिताहरू हुने भए पनि प्रतिकूल मौसमका कारण खेलहरू प्रभावित हुने गर्दछ । कभर्ड हल नहुँदा खाँदबारी नगरपालिकाभित्र मात्र ५÷६ स्थानमा खेलाडीमार्फत आर्थिक रकम संकलन गरी कोर्ट व्यवस्थित बनाउन खोजिएको छ । त्रिपाल र बाँसद्वारा निर्मित कोर्ट दीर्घकालसम्म टिक्न सक्दैन ।

त्यसमा पनि एकपटक बाँस किन्न करिब ६० हजार रुपैयाँ खर्च लाग्छ । यद्यपि, हावाहुरी आइरहने भएकाले अस्थायी कभर्ड हल टिक्दैन । कभर्ड हल नहुँदा ब्याडमिन्टन खेल विकासमा समस्या भएको अर्का खेलाडी सोनाम लामाले बताउँछन् ।

कबर्ड हल निर्माणका लागि विभिन्न निकायबाट आश्वासन आाए पनि अहिलेसम्म निर्माण नहुनु दुःखद् कुरा भएको संघका अध्यक्ष शेर्पाले बताए । हल निर्माणका लागि पटकपटक खेलको उच्च निकायमा अनुरोध गरे पनि चासो नदेखाएको शेर्पाको आरोप छ ।

यता, कबर्ड हल निर्माणका लागि जग्गा उपलब्ध नभएकाले जग्गा खोज्ने काम भइरहेको खाँदबारी नगरपालिका वडा–१ का अध्यक्ष निरन्जन श्रेष्ठले बताए । उनका अनुसार जग्गा उपलब्ध भए तत्काल कबर्डहल निर्माण प्रक्रिया अघि बढाउने थियौँ ।

प्रतिक्रिया