जनता माझ श्रीपेच र राजदण्ड

काठमाडौं । राजतन्त्रका वेला राजाले लगाउने गरेको श्रीपेच र राजदण्ड सर्वसाधारणका लागि सोमबारदेखि अवलोकनका लागि खुला गरिएको छ । ०६३ मा गणतन्त्र आएपछि नारायणहिटी संग्रहालयमा रहेको श्रीपेचलाई पहिलोपटक सबै नागरिकले हेर्न मिल्ने गरी खुला गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो नारायणहिटीमा रहेको पूर्वराजाको श्रीपेच सार्वजनिक गरेसँगै अवलोकन गर्ने गरी खुला गरिएको छ । १० वर्षअघि पूर्वराजा ज्ञानेन्द्र शाहले नारायणहिटी दरबार संग्रहालयलाई हस्तान्तरण गरेको श्रीपेच र राजदण्ड सोमबारबाट प्रदर्शनीमा राखिएको हो ।

श्रीपेचसँगै राजदण्ड, कायरालगायत १२ वटा वस्तु प्रदर्शनीमा राखिएको पुरातत्व विभागका प्रमुख भेषनारायण दाहालले जानकारी दिए । कार्यक्रममा संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले श्रीपेच सार्वजनिक भएसँगै नारायणहिटी संग्रहालयको आकर्षण बढेको उल्लेख गरे ।

श्रीपेच सार्वजनिक गरेपछि प्रधानमन्त्री ओलीले सर्वसाधारणको इतिहास नलेखिएको उल्लेख गर्दै इतिहास खोज्न दरबार नै धाउनुपर्ने बाध्यता रहेको बताए । चीनका अन्तिम बादसाहको उदाहरण दिँदै प्रधानमन्त्री ओलीले भने, ‘बादसाहहरू भित्रबाट खोक्रा हुन्छन् । शक्ति देखाउन विशेष पहिरन लगाउँछन् ।

राजदण्ड, श्रीपेच त्रास ढाक्न लगाएको हो । शक्ति श्रीपेचमा हुन्न । जनतामा हुन्छ । जनताले फालिएको राजतन्त्रलाई बडो सम्मानसाथ राखेका छन् । अशोभनीय ढंगले बोल्नु ठीक होइन ।’ ओलीले यस संग्रहालयलाई दरबार इतिहास संग्रहालयका रूपमा विकास गर्नुपर्ने बताए ।

‘दरबार इतिहास संग्रहालयका रूपमा यसलाई विकास गर्नुपर्छ,’ उनले भने, ‘जसले नेपालको इतिहासलाई प्रतिविम्बित गरोस् । मुख्य दरबार भयो, अरु इतिहास झल्कने गरी । खासखास समयको प्रतिनिधित्व हुने गरी ।’ जनताका इतिहास नलेखिएको गुनासो गर्दै प्रधानमन्त्रीले खेतमा गाएका असारे र रोधीघरमा बजाएका मादल संग्रहित नभएको धारणासमेत राखे ।

‘त्यतिवेलाका वैभवहरू दरबारमै प्रकट हुन्थे । जनता त खेतमा असारे गाउँथे । रोधीघरमा मादल बजाएर नाच्थे । सोरठीमा मारुनी नाच्थे । घाँसदाउरा, पानीमा गाउँथे,’ प्रधानमन्त्री ओलीले भने, ‘तर, ती संग्रह भएनन् । ती व्यवस्थित हुन पाउँदैनथे । ती लिपिबद्ध हुन पाउँदैनथे ।

जनता लड्थे । तिनका इतिहास लेखिएनन् । पृथ्वीनारायण शाहको नाम लिए । काटिने त कालु पाँडे न हुन् । पृथ्वीनारायण शाह हैन । साँच्चिकै मैदानमा हुनेहरूको । वाण लागेको भए अर्जुनलाई लाग्थ्यो । अर्जुन त पछाडि, नायकहरू नायकत्व गर्छन् । तर, साँच्चिकै मैदानमा काम गर्नेहरूको इतिहास छैन । त्यसैले, इतिहास दरबारमै खोजिन्छ ।’

प्रधानमन्त्रीले प्रश्न गरे, ‘इतिहास तिनकै लेखेको हुन्छ । जनता जो लड्छ, तिनका इतिहास कता ? माटाका भाँडा कहाँ अल्मुनियमका भाँडा हुन्छन् ? कता तिनका इतिहास आउनु ? कुनै हलीको गोरु धपाउने लौरो संग्रहालयमा कहाँ बस्छ ? गोरु धपाउने लौरो यो राजदण्डभन्दा हजारौँ वर्षअघि थियो । तर के गर्ने, विचरा लौरो ।’

संग्रहालयका १९ कोठा मात्र खुला गरिएकोमा बाँकी कोठाहरू चाँडो खुलाउनसमेत प्रधानमन्त्री ओलीले आग्रह गरे । प्रधानमन्त्री ओलीले श्रीपेच सार्वजनिकको कार्यक्रम हेर्दा सानो देखिए पनि महत्वपूर्ण क्षण भएको बताए । ‘घटना हेर्दा सानो देखिए पनि महत्वपूर्ण क्षण हो । दुनियाँ गतिशील छ ।

जन्मिँदै शासक हुने सिद्धान्त । दैवी शक्तिबाट मान्छे शासक हुने झुटो इमानहीन सिद्धान्त, त्यस सिद्धान्तको सिकार भएर व्यक्तिको अहंकारको मारमा पर्ने प्रणालीको अन्त्यका लागि दुनियाँले लड्यो,’ प्रधानमन्त्री ओलीले थपे, ‘नेपालले लड्यो । लखन थापा लडे, योगमाया लडिन् ।’

४८ वर्षअघि आफैँले अगुवाइ गरेको स्मरण गर्दै ओलीले राजतन्त्रको अन्त्यले सहिदको सम्मान भएको बताए । राजतन्त्रले राष्ट्रियताको सवालमा योगदान पु¥याएकोप्रति प्रशंसा गर्दै ओलीले योगदान पुराउँदैमा जन्मजात शासक हुन नपाइने तथ्यलाई बिर्सन नहुने धारणासमेत राखेका थिए ।

सुर्खेत र रुपन्देही कक्षमा श्रीपेच, राजदण्ड, तत्कालीन रानीको मुकुट (टायरा), तरवार, झारी, चमरलगायत सामग्री राखिएका छन् । पुरातत्व विभागले सुरक्षाका साथ श्रीपेचलाई प्रदर्शनमा राखिने जनाएको छ । बुलेट प्रुफ सिसासहितको सोकेसमा श्रीपेच राखिएको छ ।

केही महिनाअघि विभागद्वारा गठित समितिले असोजभित्र श्रीपेचलाई प्रदर्शनीमा राख्न सुझावसहितको प्रतिवेदन संस्कृति सचिवसमक्ष बुझाएको थियो । सरकारले गत आर्थिक वर्ष २०६८÷०६९ को बजेट कार्यक्रममा नै श्रीपेचलाई प्रदर्शनीमा राख्ने घोषणा गरे पनि सुरक्षाको कारण देखाउँदै हालसम्म प्रदर्शनमा राख्न सकिएको थिएन ।

गणतन्त्र घोषणापछि नारायणहिटी छाड्नुअघि पूर्वराजा ज्ञानेन्द्र शाहले श्रीपेच र राजदण्ड आफैँले लैजान खोजेका थिए । तर तत्कालीन सरकारले उनलाई त्यसो गर्ने अनुमति दिएन ।

कार्यक्रममा पर्यटन अधिकारीले विसं २०६२÷६३ को राजनीतिक परिवर्तनपछि सङ्ग्रहालयमा परिणत भएको नारायणहिटीमा श्रीपेच सुरक्षित राखिएको र हाल प्रदर्शनमा ल्याई श्रीपेच छैन कि भन्ने भ्रम हटाइएको बताए ।

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले २०६५ फागुन १५ गते दरबारलाई सङ्ग्रहालय बनाइएको तथा हाल श्रीपेच, राजदण्ड, टायरा आदि १२ सामानको थप प्रदर्शनी खुला गरिएको जानकारी दिए ।

कार्यक्रममा संग्रहालय स्थापनामा सहयोग पु¥याउने संस्कृतिविद् डा. जगमान गुरुङ, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल, त्रिभुवन विश्वविद्यालयका प्राडा मदन रिमाल, विभागका उपसचिव दामोदर गौतम, उपसचिव रामबहादुर कुँवर, विभागका पूर्वप्रमुख रोहितकुमार ढुंगानालगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रमपछि अनौपचारिक रूपमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले श्रीपेचमा अस्ट्रेलियामा पाइने बर्ड अफ प्याराडाइज (हँमायु) को बहुमूल्य प्वाँख जडित हुने जानकारी दिए । यसमा ७ सय ३० हिरा र २ हजार ३ सय ७२ मोती जडित छन् ।

प्रतिक्रिया