सिसी क्यामरसहित सुरक्षा व्यवस्था कडा

झापा । झापामा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली दसैँ मनाउन झापा आउने पक्का भएपछि प्रहरी थप सक्रिय बनेको हो । प्रधानमन्त्री ओली १ कात्तिकमा झापा आउने भएका छन् ।

विगतका वर्षहरूमा जस्तै चियापान समारोहलाई निरन्तरता दिन र शुभकामना आदानप्रदान गर्न प्रधानमन्त्री ओली झापा आउन लागेका हुन् । प्रधानमन्त्री आउने भएपछि सवारी चेकजाँचदेखि सीमाक्षेत्रमा हुने आवतजावतमा समेत कडाइ गरिएको झापा प्रहरीले जानकारी दिएको छ ।

शनिबारदेखि नै झापाको सुरक्षा व्यवस्थालाई अझै मजबुत बनाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी भीमप्रसाद ढकालले जानकारी दिए । चाडपर्वमा अपराधिक गतिबिधि बढ्न सक्ने भन्दै उनले सुरक्षा र जाँचलाई प्रमुख प्राथमिकतामा राखिएको बताए ।

यो पटक दसैँ मनाउन प्रधानमन्त्री ओली झापा आउने भएपछि सुरक्षाका लागि गस्ती र चेकजाँचमा थप कडाई गरिएको उनको भनाइ छ ।
चाडपर्वको समयमा प्रहरी र भन्सारका कर्मचारी चेक जाँचमा व्यस्त हुने तथा बिदामा बसेको समयमा जनशक्ति कम भएको मौका छोप्दै बिस्फोटक बस्तु र हतियार भित्रन सक्ने अनुमानसहित प्रदेश–१ कुकुर शाखाले धरानबाट कुकुर ल्याएर पनि झापाका मुख्य बजारमा अनुुसन्धान र जाँच सुरु गरिएको प्रमुख ढकालले बताए ।

शनिवार प्रदेश शाखा धरानबाट बिस्फोटक पदार्थ पत्ता लगाउने कुकुर ल्याएर प्रधानमन्त्री ओलीको गृह नगर दमकका मुख्य स्थानमा चेक जाँच गरिएको छ ।

आइतबार बिर्तामोडको मुख्य व्यापारिक स्थलमा कुकुरको सहयोगमा चेकजाँच गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डिएसपी कृष्णप्रसाद कोइरालाले बताए ।

ठूला बजारमा भिडभाड बढेको समय पारेर विस्फोटक पदार्थ लुकाएको हुन सक्ने आशंकामा बिर्तामोडको चोक क्षेत्रमा रहेका ठूला बजार र कृषि बजारमा चेक जाँच गरिएको उनले बताए । उनका अनुसार आइतबार बिहान बजारमा भीड लागेको समयमा चेक गरिएको हो ।

कोेइरालाले कुकुर ल्याएर सुरक्षा जाँच गर्दा अनुसन्धान अझै प्रभावकारी भएको पनि बताए । प्रदेश–१ का लागि धरानमा प्रदेश–१ कुकुर प्रदेश शाखा रहको र आवश्यक परे त्यहाँबाट विभिन्न अनुसन्धानमा पोख्त कुकुरलाई ल्याएर झापामा पनि चेकजाँच गर्ने गरिएको कोइरालाको भनाइ छ ।

शनिबार झापाको लागि बिस्फोटक पदार्थको अनुसन्धान गर्न पोख्त कुकुर झिकाएर अनसन्धान गरिएको प्रदेश–१ कुकुर प्रदेश शाखाका प्रमुख प्रहरी नायव उपरीक्षक दयानन्द श्रेष्ठले बताए ।

उनका अनुसार झापाको काँकडभिट्टा र चन्द्रगढीमा पनि कुकुरले अनुसन्धान गर्नेछ । प्रदेश–१ कुकुर प्रदेश शाखामा विभिन्न बिधाको अनुसन्धानमा पोख्त १० वटा कुकुर छन् ।

तीन वटा विराटनगर एयरपोर्टमा, दुई वटा लागुऔषध नियन्त्रण ब्युरो विराटनगरमा र एउटा विस्फोटक पदार्थको चेक गर्ने कुकुर विराटनगरमै रहेका छन् । अन्य चार वटा कुकुर धरानमा रहेको प्रहरीले बताएको छ ।

त्यस्तै पाँचथर जिल्ला प्रहरीले फिदिमबजारलाई पनि सुरक्षा व्यवस्था कडा बनाएको छ । दसैँको मुखमा विभिन्न अपराध र चोरी डकैती हुने भएकाले सुरक्षा व्यवस्था कडा बनाइएको डिएसपी नरेन्द्र कँुवरले जनाए ।

पाँचथरलगायत मेचीराजमार्गमा यातायातका साधनको बढीचाप भएकाले ट्राफिक व्यवस्थापन पनि कडा बनाइएको ट्राफिक प्रमुख जनकराज तिम्सिनाले जनाएका छन् । तिम्सिनाले दसँैमा बजार भर्नेहरूलाई सवारीबाट बच्न सक्ने सचेतनामूलक अपिलसमेत गरेका छन् । त्यस्तै दसँैमा बढी दुर्घटना तथा अवैध सामान ओसारपसारका लागि सचेत बनाउन प्रहरीले विभिन्न चेकपोस्ट खडा गरेको छ ।

इलाम र पाँचथरको सिमानामा पर्ने राँकेबारमा चेकपोस्ट खडा गरिएको प्रहरी प्रवक्ता अनील पौडेलले जानकारी दिएका छन् । त्यस्तै मेची राजमार्गको राँके, पौवा, फिदिम, जोरपोखरी, गोपेटार, गणेशचोक, अमरपुर, ताप्लेजुङ सिमाना कावेलीमा समेत चेकपोस्ट छेकवार लगाई चेक गरिएको डिएसपी कुँवरले जनाएका छन् ।

आइतबार पत्रकार भेटघाट तथा शुभकामना समारोहमा कुँवरले दसैँमा गाउँघरतिर, मेलाबजारमा हुने अपराध न्यूनीकरणका लागि स्थानीय सरकार र मेला आयोजना गर्ने व्यक्ति, संघसंस्थाहरूलाई स्वयंसेवकको रूपमा व्यवस्था मिलाइएको जानकारी दिएका छन् ।

दसैँतिहारमा पटका, भुइँचम्पा, जुवातास, अन्य कानुनले निस्तेज गरेका आदिको रोकथामका लागि योजना बनाएको जनाएका छन् ।

बजार क्षेत्रमा अवैध अपराध गतिविधि न्यूनीकरण र कारबाहीका लागि ३२ थान सिसिटिभी सञ्चानलमा आएको र कार्यालयमा काम सुचारु भए नभएको निगरानीका ११ वटा सिसिटिभी राखिएको प्रवक्ता पौडेलले जनाएका छन् ।

फिदिम बजारमा यातायातको चापले गर्दा पैदल यात्रुलाई सहजयात्रा गर्न प्रहरी आफैँ परिचालित भएको छ । जाम भएका मोटरबाइक, ट्याक्सी, बसहरूलाई हटाउने काम गरेका छन् ।

बजारमा ट्राफिक अभावले गर्दा प्रहरीले हतियारसहित सवारी साधन हटाउँदै गरेको पाइएको छ । बजार क्षेत्रलगायत सानाबारहरूमा सुरक्षाका लागि हतियारसहित प्रहरीले सुरक्षा मोबाइल गस्ती गरिरहेको डिएसपी कँुवरले जनाए । विशेषतः बैँक कार्यालयहरू भएका क्षेत्रहरूमा सुरक्षाका लागि प्रहरीले हतियारसहित तैनाथ गरेकोे छ ।

प्रतिक्रिया