बढी भाडा लिने सवारीलाई कारबाही

काठमाडाैं । बडादसैँमा घर जाने यात्रुसँग बढी भाडा असुल्ने १५ सार्वजनिक यातायातलाई थानकोटमा कारबाही गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

थानकोट नाका हुँदै विभिन्न स्थानमा जाने सवारीको चलानीमा उल्लेख गरिएको भाडादर र विभागले तोकेको दरमा फरक परेपछि यी सवारीलाई कारबाही गरिएको प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए । विभागले शनिबार थानकोटमा अनुगमन थालेको हो ।

‘विभागले ७ सय तोकेको स्थानमा १ हजार, ४ सय तोकेको स्थानमा ६ सयको चलानी गरेका सवारीलाई शनिबार कारबाही गरियो । तोकेभन्दा बढी भाडा लिने सवारीभित्र छिरेर तपाईहरूसँग कति भाडा लियो भनी सोद्धा यात्रुले सही सूचना दिएनन्, कोही बोल्नै चाहेनन्’ उनले भने ।

काठमाडौंबाट जुम्लासम्मको भाडा २ हजार ८ सय तोकिएकामा ३ हजार १ सय ५० लिएको लिखित उजुरी आएपछि सवारीलाई कारबाही गरी यात्रुबाट बढी लिइएको भाडा फिर्ता गरिएको विभागले जनाएको छ । यात्रुले बढी भाडा लिएको टिकटसहित उजुरी गरेमा कारबाही गरी बढी लिइएको भाडा पनि फिर्ता गराउने प्रवक्ता उपाध्यायले बताए ।

बढी भाडा लिने सवारीलाई ५ हजारसम्म जरिवाना गरिएको छ । कोटेश्वरबाट सिन्धुलीसम्मको भाडा ४ सय ८९ तोकिए पनि १ हजारसम्म व्यवसायीले उठाइरहेका छन् ।

बल्खुबाट हेटौँडा चल्ने टाटा सुमोको भाडादर ४ सय तोकिएकामा १ हजार, कलंकीबाट पोखराको भाडा ४ सय ८५ मा ९ सय, काठमाडौंबाट चितवन सम्मको भाडा ४ सय ९० तोकिएकामा ९ सयसम्म उठाइएको नागरिक अनुगमनका क्रममा देखिएको सार्वजनिक यातायात सुधार अभियानमा लागेका रामबहादुर थापाले जानकारी दिए ।

उपत्यकाबाहिर जाने सबै नाकामा विभागले अनुगमन गर्न नसक्दा पनि यात्रु ठग्ने क्रम चलिरहेको उनले बताए । दसैँका अवसरमा २५ लाखभन्दा बढी यात्रु उपत्यका बाहिर जाने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

प्रतिक्रिया