मनाङको उत्कृष्ट पुनरागमन

ललितपुर । मनाङ मस्र्याङ्दी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको छ । शुक्रबार मनाङ–मस्र्याङ्दी क्लबले ‘ए’ डिभिजनमा नवप्रवेशी ब्रिगेड ब्वाइज क्लबमाथि ३–१ को उत्कृष्ट जित निकाल्यो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा पहिलो हाफमा १–० ले पछाडि परेको अवस्थामा मनाङले दोस्रो हाफमा ३ गोल थप्दै यादगार जित निकाल्यो । अधिकांश उमेरसमूहका खेलाडीले भरिएको ब्रिगेड ब्वाइजले अग्रता लिए पनि जोगाउन नसक्दा हार बेहो¥यो । बिग्रेडले अनुबन्ध गरिसकेको विदेशी खेलाडी खेलाउन नपाउँदा त्यसको असर पनि देखिएको थियो ।

बिग्रेडका खेलाडी दोस्रो हाफमा थकित देखिएका थिए । जसको कारण डिफेन्स पनि फितलो बनेको थियो । मनाङको जितमा अफिज ओलावलेले २ तथा हेमन गुरुङले १ गोल गरे । ब्रिगेडका रजक तिवारीले १ गोल गरेका थिए । खेलमा सुरुआती अग्रता भने ब्रिगेडले लिएको थियो । खेलको २८औँ मिनेटमा रजकले उत्कृष्ट गोल गरेका थिए ।

करिब २५ यार्ड टाढाबाट उनले गरेको प्रहार मनाङका गोलरक्षकले पत्तै पाएनन् । त्यसपछि पनि ब्रिगेडले अधिकांश राष्ट्रिय टिमबाट खेलिसकेका मनाङका खेलाडीमाथि लगातार दबाब बनाइराखेको थियो । तर, पहिलो हाफमा थप गोल हुन नसक्दा मनाङ १–० ले अगाडि रह्यो ।

तर, दोस्रो हाफको सुरुआतमै मनाङले गोल फर्काउँदै खेलमा फर्कियो । खेलको ४७औँ मिनेटमा हेमनले गरेको बल ब्रिगेडका खेलाडीको खुट्टामा ठोक्किएर जाली चुमेको थियो । खेलको ५७औँ मिनेटमा ओलावलेले गोल गर्दै मनाङलाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा ओलावलेले व्यक्तिगत दोस्रो गोल गर्दै मनाङलाई ३–१ को जित दिलाए ।

त्यससँगै ब्रिगेडको खेलमा फर्किन आशा समाप्त भएको थियो । जितसँगै मनाङले लिगको पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । त्यसअघि शुक्रबार नै भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब गोलरहीत बराबरीमै रोकिएका छन् ।

एन्फा मैदान सातदोबाटोमा भएको खेलमा दुवै टिमले निर्धारित समयमा गोल गर्न नसकेपछि पहिलो खेलमा १–१ अंक बाँड्न बाध्य भएका हुन् । बराबरीपछि दुवै टिमले प्रत्येक म्याचमा दिने १५–१५ हजार रुपैयाँ पनि पाएका छन् ।

एन्फाले खेल जित्ने टिमलाई ५० हजार तथा बराबरी खेलेमा १५–१५ हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको थियो । शुक्रबारको खेलसँगै लिगका पहिलो चरणका खेल सकिएको छ । पहिलो चरणको खेल सकिएसँगै लिग १ महिनाका लागि स्थगित हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । दोस्रो चरणका खेल अब छठपछि सञ्चालन गर्ने एन्फाले जनाएको छ ।

प्रतिक्रिया