शैक्षिक परामर्शको दसैं शुभकामना

चितवन । नेपालीमाझ भित्रिँदै गरेको विभिन्न चाडपर्वको अवसरमा नेपाल शैक्षिक परामर्श संघ जिल्ला शाखा चितवनले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

बिहीबार नारायणगढमा आयोजित कार्यक्रममा राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार समितिकी सभापति पार्वती रावल प्रमुख अतिथि रहेकी थिइन् ।

दसैँ, तिहार तथा छठको शुभकामना व्यक्त गर्दै रावलले शैक्षिक परामर्श दिने संस्थालाई निष्ठा र इमानदारीपूर्वक काम गर्न आग्रह गरेकी छन् । एउटा सानो सूचनाले विद्यार्थीको भविष्य अन्योलमा पर्न सक्ने भएकाले शैक्षिक परामर्श व्यवसायीहरू इमानदारी हुनुपर्ने रावलले बताइन् ।

विश्वका विभिन्न देशमा ज्ञान र सीप आर्जन गर्न जानेहरूका लागि शैक्षिक परामर्शदाता संस्थाहरूले महत्वपूर्ण सहयोग गरेको रावलले बताइन् । वर्तमान पुस्ता एउटा महत्वपूर्ण क्षणमा रहेको भन्दै रावलले आगामी पुस्ताले गर्व गर्न लायक पुस्ता भएर देखाउनुपर्ने रावलले बताइन् । देश विकासका लागि योग्य र सक्षम वर्तमान पुस्तामा काम गर्ने तीव्र इच्छाशक्ति हुनुपर्ने रावलको भनाइ छ ।

राष्ट्रिय सरोकार समितिको सभापति भइसकेपछि आफूले पाएको जिम्मेवारी दृढताका साथ पूरा गर्ने अभियानमा लागेको रावलले बताइन् । देशमा निर्माणाधीन राष्ट्रिय गौरवका २३ वटा आयोजनाको प्रगति आशलाग्दोभन्दा पनि निराशाजनक देखिएकाले समितिले कडाइका साथ निगरानी गरिरहेको रावलले बताइन् ।

उनले राष्ट्रिय गौरवका आयोजनाको म्याद कुनै पनि बहानामा थपिन नहुने भन्दै यस विषयमा सम्बन्धित मन्त्रालय र आयोजना प्रमुखलाई निर्देशन दिएको जानकारी दिइन् ।

कार्यक्रममा भरतपुर महानगरपालिका–३ का अध्यक्ष चन्द्रमित्र पण्डितले भरतपुरका सबै शैक्षिक संस्था महानगरमा दर्ता हुनुपर्ने बताए । ई–क्यानका समस्या समाधानका लागि महानगर तयार रहेको भन्दै पण्डितले समन्वय गरेर अघि बढ्न आग्रह गरे ।

त्यस्तै, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले ई–क्यान उद्योग वाणिज्य संघ चितवनको सशक्त वस्तुगत संघ रहेको भन्दै राज्यको अस्पष्ट नीतिका कारण समय–समयमा दुःख झेल्नुपरेको बताए ।

ई–क्यानका मुद्दामा उवासंघ सधै साथमा रहेको प्रधानको भनाइ थियो । नेपाल शैक्षिक परामर्श संघ जिल्ला शाखा चितवनका अध्यक्ष भानुभक्त खरेलको अध्यक्षतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा संस्थाका कार्यसमिति सदस्य प्रकाश रिजालले स्वागत गरेका थिए ।

 

प्रतिक्रिया