अन्तर्राष्ट्रिय पदक विजेता सम्मानित


काठमाडौं । नेपाल तेक्वान्दो संघ काठमाडौं जिल्ला तेक्वान्दो कार्यसमितिले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई सम्मान गरेको छ । बुधबार थापाथलीमा एक कार्यक्रमको आयोजना गर्दै जिल्ला कार्यसमितिले यस वर्ष अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई सम्मान गरेको हो ।

यसै वर्ष अस्ट्रेलियामा भएको गोल्ड कोस्ट ओपन तेक्वान्दो, थाइल्यान्डको चौथो हिरोज तेक्वान्दो, वाटा तेक्वान्दो च्याम्पियनसिप र मकाउमा भएको मकाउ ओपन तेक्वान्दो च्याम्पियनसिपमा पदक विजेता कुल ४२ खेलाडीलाई सम्मानित गरेको कार्यसमितिका सचिव कुमार लामा घिसिङले जानकारी दिए ।

पदक विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) केशवकुमार विष्ट, नेपाल तेक्वान्दो संघका उपाध्यक्ष हरिशवर पोख्रेल, तेक्वान्दो संघ प्रदेश–३ का अध्यक्ष केशव पुरी र आयोजक काठमाडौं जिल्ला तेक्वान्दो कार्यसमितिका अध्यक्ष प्रमोद पराजुलीले सम्मानपत्रद्वारा सम्मानित गरेका थिए ।

सो अवसर सदस्यचिव विष्टले केही व्यक्तिको निजी स्वार्थका लागि तेक्वान्दोमा विवाद ल्याउन काम भइरहे पनि त्यसलाई जडदेखि नै सुल्झाउन आफू प्रयत्नशील रहेको बताए । उनले तेक्वान्दो परिवारबाटै भएको विद्रोहले मुर्त रूप लिएकाले आपसी समझदारीबाटै मिल्न सके उत्तम हुने धारणा राखेका छन् ।

प्रतिक्रिया