मनाङको स्याउबारीमा प्रधानमन्त्री


मनाङ । ‘यहाँको स्याउ देखेर म छक्क र चकित परेँ । यस्तोसँग फलेको होला भनेर कल्पना पनि गरेको थिइनँ,’ बिहीबार मनाङको डिस्याङ गाउँपालिकाको स्याउबारीमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले लटरम्म परेका स्याउ देख्नेबित्तिकै भने ।

मनाङ ङिस्याङ गाउँपालिका–१, भ्राताङस्थित एग्रो मनाङ प्रालिले सुरु गरेको स्याउखेती तथा प्रशोधन केन्द्रको उद्घाटन गर्न प्रधानमन्त्री ओली बारीमै आएका थिए ।

प्रधानमन्त्री ओली धर्मपत्नी राधिका शाक्य, नेकपाका महासचिव विष्णु पौडेल, नेकपा संसदीय दलका उपनेता सुभासचन्द्र नेम्वाङ, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, नेकपा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, कृषि तथा सहकारीमन्त्री चक्रपाणी खनालसहित हेलिकोप्टरबाट आएका थिए ।
नेपाली बजारमा पाइने स्याउमध्ये प्रमुख रूपमा मनाङमा उत्पादित रहेका स्याउहरू आउने गरेका छन् । तर, बजारको उचित व्यवस्था नहुँदा समस्या आउने गरेको छ । उत्पादित अधिकांश स्याउ जिल्लामा आउने पर्यटक, कर्मचारी र अन्य व्यक्तिहरूले नै किन्ने गर्दछन् ।

केही मात्रामा लमजुङको बेँसीसहरको साथै चितवन, पोखरा र काठमाडौंमा बिक्रीका लागि पठाइने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यसवर्ष जिल्लामा १ सय ८० हेक्टर क्षेत्रमा स्याउ लगाइएको छ । १३ गाविसमध्ये ११ गाविसमा स्याउ उत्पादन हुने गर्दछ भने विकट नार र फू गाविसमा भने स्याउखेती गरिँदैन ।

नेकपाका सांसद पोल्देन छोपाङ गुरुङले काठमाडौंको ठमेलस्थित चल्तीमा रहेको होटल बेचेर मनाङमा सुरु गरेको स्याउखेतीको उद्घाटन गर्न पुगेका प्रधानमन्त्रीले सबै नेपालीले समृद्धिको सपना देख्नुपर्ने र आफ्नाे ठाउँबाट यसको सुरुआत गर्नुपर्ने बताए ।

‘दुर्गमका माटोमा गरिएको कृषि, यसले निम्त्याउने पर्यटक, रोजगारी र स्वदेशी स्याउ उत्पादनले आर्थिक समृद्धिसँग जोड्छ’ उनले भने, ‘कृषिलाई आधुनिकीकरण र व्यावसायीकरण गर्न सकिए समृद्धि खोज्न टाढा जानुपर्दैन ।’

सरकारले स्याउ खेती विकासका लागि आगामी वर्ष १ लाख विरुवा विदेशबाट झिकाउने र हिमाली जिल्लाहरू मनाङ, मुस्ताङ, कालिकोट र जुम्लामा वितरण गरिने बताए । प्रधानमन्त्री ओलीले चालु आर्थिक वर्षमा देशका ४ जिल्लामा एक लाख उन्नत प्रजातिका स्याउका विरुवा वितरण गर्न लागिएको पनि बताए ।

उनले मनाङसहित मुस्ताङ, जुम्ला र कालिकोटमा २५÷२५ हजार विरुवा वितरण गरिन लागिएको बताए । विदेशबाट विरुवा खरिदका लागि प्रधानमन्त्री कृषि आधुनीकरण परियोजनाअन्तर्गत १० करोड बजेट बिनियोजन गरिएको उनले बताए ।
एग्रो मनाङ प्रालिले ४ वर्षअघि स्थापना गरेको स्याउ बगैँचा ७ सय ३५ रोपनीमा फैलिएको छ । संस्थाका अध्यक्ष समराज गुरुङले स्याउ टिप्ने कार्य धमाधम भइरहेको बताए । उनका अनुसार स्याउलाई काठमाडौं, पोखरालगायत ठूला सहर पठाउन थालिएको छ ।

बगैँचामा फलेका ‘गाला’ र ‘गोल्डेन’ जातको स्याउ टिप्ने कार्य भइरहेको र ‘फुजी’ जातको स्याउ पूरै नपाकेकाले केही सातापछि मात्रै टिपिने उनले बताए । फार्ममा इटाली र सर्बियाबाट धेरै फल दिने फुजी, गाला र गोल्डेन जातको स्याउ लगाइएको छ ।

‘धेरै स्याहार गर्न सके एउटै बोटले ४० देखि ४५ किलोसम्म फल दिन्छ, एग्रो मनाङका सुपरभाइजर राजु तामाङले भने, ‘मल व्यवस्थापन, हाँगा कटिङ र स्टेपवाइज स्याहारले उत्पादन बढाउँदै लान्छ ।’ स्याउको उत्पादन बढाउन स्याउ बोटमा क्षमताअनुसार स्केल कटिङसमेत गर्दै आइएको फिल्ड सहायक मीनप्रसाद गुरुङले बताए ।

स्याउको प्रकारअनुसार क्षमता थाहा हुने र क्षमताअनुसार स्केल कटिङ गरिने उनले जानकारी दिए । उक्त स्याउ फार्ममा हाल ५५ जना कामदारहरू कार्यरत छन् । २७ वर्षका लागि जग्गा भाडामा लिएर तीन जातका स्याउ लगाइएको यस स्याउ फार्ममा ३० करोड रुपैयाँ लगानी भइसकेको छ ।

स्याउ खेतीसँगै पिसाङमै जुुस उद्योग र कोल्डस्टोरसमेत खोलिएको छ । स्याउको चिप्ससमेत कम्पनी आफँैले बनाउँदै आएको छ । नेपालमा माग अनुसारको स्याउ उत्पादन हुन सकेको छैन ।

सिजन मात्रै थेग्ने स्याउको मागलाई पूरा गर्न व्यापारीहरूले विदेशबाट स्याउ खरिद गर्दै आएका छन् । नेपालमा नै स्याउको उत्पादन बढाउने उद्देश्यका साथ मनाङमा दक्षिण एसियाकै सबैभन्दा ठूलो स्याउ फारम बनाउन कृषकहरू लागि परेका छन् ।

नेपालमै उच्च क्षेत्रको पहिलो प्रविधि ‘हाइडेन्सिटी एप्पल फर्म’ सुरु गरेको एग्रो मनाङले नयाँ प्रविधिबाटै स्याउ उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया