भ्रष्टाचारलाई हेरेर बस्ने सकिँदैनः घिमिरे

पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचारलाई टुलुटुलु हेरेर बस्ने नसकिने बताएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालय भवनको पोखरामा शिलान्यास गर्दै उनले भ्रष्टाचार गर्ने छुट कसैलाई नभएको बताए । उनले पहिले शिक्षा क्षेत्रमा धेरै उजुरी आउने गरेकोमा अहिले भने स्थानीय निकायका उजुरी बढी आउन थालेको बताए ।

‘स्थानीय तहमा आर्थिक अनियमितता लगायतका विषयमा धेरै उजुरी परेका छन्,’ उनले भने, ‘भ्रष्टाचार गर्न कसैलाई पनि छुट छैन ।’ भ्रष्टाचार नियन्त्रणमा आयोग सक्रियताका साथ लागेको बताउँदै उनले कुनै पनि विकास निर्माणका काम गुणस्तरीय र पारदर्शी भए-नभएको अनुसन्धान गर्ने उनले बताए ।

अनुसन्धानलाई प्रभावकारी बनाउन गुणस्तर मापनका लागि छिटै ल्याब स्थापना गर्ने घिमिरेले बताए । उनले भ्रष्टाचार निवारणमा सबैको एकताबद्ध प्रयास आवश्यक रहेको बताउँदै जनताले राज्यबाट पाउने सेवालाई प्रभावकारी बनाउन कर्मचारीको सुशासन अपरिहार्य रहने बताए ।

प्रमुख आयुक्त घिमिरेले कर्मचारी तन्त्रले इमानदारीका साथ काम नगरे दुईतिहाइको सरकारले पनि केही काम गर्न नसकेको ठहरिने हँुदा इमानदारका साथ काम गर्न आग्रह गरे । आयोगका सचिव महेश्वर न्यौपानेले सघीय संरचना अनुरूप आयोगको केन्द्रसहित सबै प्रदेशमा भौतिक पूर्वाधारका साथै जनशक्ति व्यवस्थापन गरिएको बताए ।

मुलुकको उन्नतिमा भ्रष्टाचार प्रमुख बाधक भएको उल्लेख गर्दै आयोगको कामको प्रभावकारिताका लागि जनशक्तिलाई तालिम प्रदान गरिएको बताए ।

पोखराको नयाँबजारमा रहेको आयोगको भवनबाट सेवा प्रवाह गर्न कठिन भएकोले पोखरा–७ मासबारमा नयाँ भवन निर्माण गर्न लागिएको आयोगका कार्यालय, पोखराका कार्यालय प्रमुख सहसचिव काशिराज दाहालले बताए ।

करिब ६ रोपनी १ दाम क्षेत्रफल जग्गामा साढे दुई तलाको मुख्य कार्यालय भवन र साढे तीन तलाको प्रहरी भवन निर्माण हुनेछ । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको सो भवन निर्माणको जिम्मेवारी आशिष फेवा जेभी पोखरालार्ई दिइएको छ ।

१४ करोड ७२ लाख ३६ हजार ५ सय ७३ रुपैयाँ लागत इस्टिमेट गरिएको सो भवन तोकिएको समयमै सम्पन्न हुने सहसचिव दाहालले विश्वास व्यक्त गरे ।

मुख्य कार्यालय भवनमा मुख्य कार्यालय भवन र थुनुवा कक्षसहित प्रहरीको छुट्टै भवन निर्माण हुनेछ । १ असोज ०७० मा पोखरामा अख्तियारको कार्यालय स्थापना भएको थियो । भवन २५ असार ०७५ देखि निर्माण सम्झौता भएर निर्माणको काम अगाडि बढिरहेको छ ।

प्रतिक्रिया