घर छैन : कहाँ मान्ने दसैँ ?

बाग्लुङ । यसपालि बसिमाया परियारलाई दसैँ दशा बनेर आएको छ । गएको वर्षायाममा घरबास गुमाएकी ५२ वर्षीया परियारलाई एउटै कुराको पिरलो छ, दसैँ कहाँ मान्ने ? दुुःखी हुँदै उनले भनिन्, ‘छोरी, ज्वाइँ आउँछन् कहाँ राख्ने, के खुवाउने ?’ चाडबाडको मुखमा यस्तो पीडा भोग्नेमा उनी मात्र एक्ली होइनन् ।

काठेखोला गाउँपालिका–५ बिहुँ काउलेका १४ परिवारको व्यथा समान छ । गत असार ११ गतेको भीषण वर्षाले गाउँ भासिएपछि काउलेका बासिन्दा विस्थापित बनेका हुन् । १३ दलित र एक जनजाति परिवारका ४६ सदस्य अहिले छिमेकीको आश्रयमा छन् । इन्द्रबहादुर परियारले यसपालि दसैँमा आफ्नो आँगन र दैलो टेक्न नपाउने भएका छन् ।

दुबईबाट दसैँमा घर आउन लागेका परियारकी पत्नी सुमित्रा र उनका तीन छोरा आफन्तको घरमा बस्दै आएका छन् । ‘घरगोठ सबै भत्कियो, गरेर खाने बारी पनि चिराचिरा छ’ सुमित्राले दुःखेसो पोखिन् । १६ महिने काखको छोरा अमितसँगै तीन छोरा साथमा लिएर उनी अहिले विस्थापनका कष्टपूर्ण दिन काटी रहेकी छिन् ।

विस्थापित बनेका मध्ये अधिकांश परिवार कोठा भाडामा लिएर दुःखजिलो गरी बसेका छन् । दैनिक मजदुरी गरेर जीविका चलाउने परिवार थातथलो नै गुमेपछि विचल्लीमा परेका हुन् । घरगोठ, खेती गर्नलाई भएको सानो जमिन पनि खण्डहरमा परिणत भएको छ । ७२ वर्षीय डिलबहादुर परियारले खाई नखाई २ लाख रुपैयाँ खर्चेर बनाएको घर गुमाउनुपरेको बताए ।

७० वर्षीया पत्नी बिजुला परियारको साथमा उनी पनि छिमेकीको घरमा भाडामा बस्दै आएका छन् । ‘महिनाको १ हजार रुपैयाँ तिरेर भाडामा बसेका छौँ,’ उनले भने, ‘सरसामान, लत्ताकपडा, खाने, सुत्ने सबै एउटै कोठामा छ ।’ महिनौँ बित्दासमेत विस्थापित परिवारले उचित क्षतिपूर्ति पाउन सकेका छैनन् ।

पुनस्र्थापनाका लागि पहलअघि बढे पनि ठोस काम हुन सकेको छैन । घरबाससँगै खेती कमाउने जग्गा पनि गुमेपछि विस्थापित परिवार चरम समस्यामा परेका हुन्।  ‘बिहान, बेलुकाको छाक टार्नै धौधौको अवस्था छ’ विस्थापित हीराकुमारी पुनले भनिन्, ‘राहत र पुनस्र्थापनाका लागि आश्वासन मात्र आउँछ ।’

सरकारी निकायका पदाधिकारी र स्थानीय जनप्रतिनिधिले नआत्तिनुहोस् हामी छौँ भनेर ढाडस मात्रै दिने गरेको विस्थापितको गुनासो छ । ‘आशैआशमा यत्रो महिना बित्यो, सबै आउँदा, भेट्दा केही पाउने भइयो भन्ने लाग्छ’ विस्थापित बसिमाया परियारले भनिन् ।

वडाध्यक्ष शिव कँडेलले प्रारम्भिक चरणको राहत बाँडे पनि क्षतिपूर्ति र पुनस्र्थापनामा ढिलाई भएको स्वीकार गरे । विस्थापित परिवारका लागि बस्ती बसाल्न सुरक्षित ठाउँमा जग्गा खोज्ने प्रक्रिया अघि बढेको उनले बताए । सोही वडाको सिर्पाली र लामराती भन्ने ठाउँमा जग्गा हेर्ने काम भइरहेको जनाइएको छ ।

१४ घर बनाउन करिब २५ लाख रुपैयाँ बराबरको जग्गा व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ । जग्गा खरिदकै लागि बिहुँकोट समाज जापानले आर्थिक संकलन अभियान थालेको छ । उक्त अभियानबाट हालसम्म ४ लाख रुपैयाँ उठेको जनाइएको छ । अन्य क्षेत्रबाट पनि सहयोग जुट्ने क्रम सुरु भएको वडा अध्यक्ष कँडेलले बताए ।

गुल्मी सेवा समाज जापानबाट पनि १ लाख २० हजार राहत जुटेको छ । उक्त रकम दसैँ खर्चस्वरूप विस्थापित परिवारलाई सोमबार वितरण गरिएको थियो । तत्कालै अस्थायी टहरा बनाएर विस्थापितलाई राख्ने गाउँपालिकाको प्रतिबद्धता भने पूरा हुन सकेको छैन । दीर्घकालीन पुनस्र्थापनाका लागि समय लाग्ने हुँदा अस्थायी संरचना बनाउने योजना गाउँपालिकाको थियो ।

गाउँपालिका अध्यक्ष अमर थापाले जग्गा व्यवस्थापन हुन नसक्दा समस्या भएको बताए । ‘सार्वजनिक जग्गामा राख्दा समस्या निम्तिने हुँदा सकभर निजी जग्गा खोज्न भनेका छौँ’ उनले भने, ‘जग्गा भयो भने घर बनाउन गाउँपालिकाले आवश्यक सहयोग गर्छ।’ जग्गा भएको खण्डमा जनता आवास कार्यक्रमबाट पनि घर निर्माण गर्न सकिने बताइएको छ ।

मध्यपहाडी पुष्पलाल लोकमार्ग छेउ काउलेको जमिन धसिँदा लोकमार्ग पनि जोखिममा छ । भूगर्भविद्को टोलीले पनि स्थलगत अवलोकन गरी काउलेमा बस्ती राख्न नमिल्ने निष्कर्ष निकालेको थियो । जमिन भासिन थालेपछि पहिरोको डरले गाउँले वेलैमा सुरक्षित ठाउँतिर लागेका कारण त्यतिवेला कुनै मानवीय क्षति भने हुन पाएन ।

प्रतिक्रिया