विमलको च्यासल रोकियो


ललितपुर । स्टार स्ट्राइकर विमल घर्तीमगरको साथ पाएको च्यासल युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकाल्ने अवसर गुमाएको छ । शनिबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा च्यासलले पेनाल्टी अवसर गुमाउँदा मच्छिन्द्र फुटबल क्लबसँग गोलरहित बराबरीमै रोकिन बाध्य भएको छ ।

५ वर्षमा सुरु भएको ‘ए’ डिभिजन लिगको यस संस्करण तेस्रो खेलमा मच्छिन्द्र र च्यासलले १–१ अंक बाँडेका छन् । यसअघि नेपाल आर्मी र न्यु रोड टिम बीचको पहिलो खेल २–२ को बराबरीमा टुंगिएको थियो । दोस्रो खेलमा भने संकटाले सरस्वतीमाथि १–० को जित निकालेको थियो ।

यसअघि बंगबन्धु अन्तर्राष्ट्रिय गोल्डकपका कारण लिग गत १५ देखि २३ असोजसम्म रोकिएको थियो । यद्यपि, उत्कृष्ट स्ट्राइकरको साथ पाएको च्यासलले लिगको सुरुआत यादगार बनाउन सकेन । प्रतिस्पर्धात्मक बनेको खेलको ३१औँ मिनेटमा च्यासलले गोलको सुन्दर मौका पाए पनि सफल हुन सकेन ।

खेलको ३५औँ मिनेटमा च्यासलका विश्व अधिकारीले पेनाल्टी एरियाबाट अर्को मौका गुमाएका थिए । उनको प्रहार क्रसबारमा लागेर बाहिरियो । जसको कारण खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा च्यासलले गोलको लागि राम्रो अवसर पाएको थियो ।

खेलको ५४औँ मिनेटमा च्यासलका अमिर श्रेष्ठको प्रहारलाई मच्छिन्द्रका गोलकिपर बचाए । खेलको ६५औँ मिनेटमा च्यासलले अर्को मौका पाए पनि उसका स्ट्राइकर सफल भएनन् । खेलको ७६औँ मिनेटमा च्यासलले पेनाल्टी अवसर पाए पनि गोलमा परिणत गर्न सकेन ।

हेमन्त थापामगरको पेनाल्टी प्रहारलाई मच्छिन्द्रका गोलरक्षक दीप कार्कीले बचाउँदै आफ्नो टोलीको संकट टारेका थिए ।
खेलमा च्यासलले आधादर्जन गोल गर्ने अवसर खेर फाल्दा खेल गोलरहित बराबरीमै टुंगिएको थियो । २६ असोजसम्म हुने लिग चाडपर्वपछि चल्नेछ ।

लिगको विजेताले ५० लाख, उपविजेताले ३५ लाख, तेस्रो हुनेले २५ लाख, चौथोले १५ लाख, पाँचौँ टोलीले सात लाख र छैटौँ हुने टोलीले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछन् । ‘फेयर प्ले’ टिमले १ लाख पाउनेछ । प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई ५० हजार दिनेछ ।

‘म्यान अफ दि म्याच’ले १० हजार रुपैयाँ पाउनेछन् । लिगमा १४ टोलीको सहभागिता रहेको छ । एन्फाले यो वर्ष रेलिगेसनबिनाको लिग आयोजना गरेको हो ।

प्रतिक्रिया