नेपाली मार्सल आर्ट्समा सफलताका पर्यायवाची दिनेश


काठमाडौं । नेपाली खेलकुद क्षेत्रमा दर्जनौँ खेल विद्यमान अवस्थामा रहे तापनि अन्तर्राष्ट्रियस्तरमा तुलनात्मक रूपमा पदक जिताउने विधा मार्सल आर्टस नै हो । त्यसमा पनि तेक्वान्दो, कराते, उसु, जुडो र बक्सिङको नाम अग्रस्थानमा आउँछ ।

नेपाली भू–बनोट, रहनसहन र नेपालीको शारीरिक बनावटका कारणले पनि होला एकल विधाका प्रतियोगितामा पदकको सम्भावना धेरै रहेको खेल विज्ञहरू बताउँछन् ।

तर, विरलै मात्र नेपालले टिम गेममा पदक जित्ने गर्छन् । राज्यले लगानी गर्दा अन्तर्राष्ट्रियस्तरमा पदक जित्ने सम्भावना भएको खेललाई विशेष प्राथमिकतामा राखेर खेलकुद नीति बन्नुपर्ने मागहरू समय समयमा नआएका होइनन् ।

यद्यपि, यस्ता मागहरूलाई राज्यले सम्बोधन गर्न सकेको छैन ।  जसका कारण अन्तर्राष्ट्रियस्तरमा पदक जितेर देशको नाम राख्न सक्ने सम्भावना भएका मार्सल आर्टस खेलहरूमा आर्थिक, भौतिक पूर्वाधार एवं खेल सामग्री अभावका कारण खेलाडीबाट उत्कृष्ट नतिजा आउने सम्भावना प्रतिदिन पछाडि छोडिँदै छ ।

यता, पछिल्लो समय प्रशिक्षकलाई मात्र दोष दिँदै आइएको छ, जुन एकदम गलत छ । गतिलो संरचनाविना पदक आउनु प्रशिक्षकका लागि पनि फलामको चिउरा चपाउनुजस्तै हुन्छ ।

तर, पनि आफूमा सिप, कार्यशैली, क्षमता र इच्छाशक्ति भएमा एक कुशल प्रशिक्षकले भौतिक पूर्वाधार एवं खेल सामग्री अभावमा पनि जुनसुकै स्थानमा गएर पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरी देशको नाम उचो राख्न सक्छन् भन्ने उदाहरण पनि छन् ।

तीमध्येका एक हुन्, तेक्वान्दोका अन्तर्राष्ट्रिय प्रशिक्षक दिनेश शर्मा । तेक्वान्दोमा राष्ट्रिय च्याम्पियनसमेत रहेका शर्मा हाल सफल प्रशिक्षकका रूपमा स्थापित छन् ।

उनले दर्जनौँ राष्ट्रिय एवं अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरिसकेका छन् ।

बाराको निजगढ–३ सिंगौलमा ०४३ भदौ ५ गते पिता शिवप्रसाद हुमागाईं र माता दधिमाया हुमागार्इंको कोखबाट जन्मिएका शर्माले वीरगञ्जबाट तेक्वान्दोमा करिअरको सुरुआत गरेका थिए ।

वीरगञ्जका तेक्वान्दो प्रशिक्षक प्रमोद मानन्धरबाट निखारिएका शर्माले पछि आइटिएफ तेक्वान्दोका अध्यक्ष कृष्णबहादुर बलालसँगको सामिप्यतापछि काठमाडौंबाट राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा तेक्वान्दोलाई अगाडि बढाइरहेका छन् । उनले सन् २०१४ मा तेक्वान्दोमा अन्तर्राष्ट्रिय पाँचाै‌ं डान प्राप्त गरेका थिए ।

पछि उनले अन्तर्राष्ट्रिय ‘ए’ क्लासका रेफ्री तथा प्रशिक्षकको समेत सफलता प्राप्त गरे । शर्मा हाल नेपाल तेक्वान्दो महासंघका अध्यक्ष एवं नेपाली नन अफिसियल मार्सल आर्टसको छाता संस्था नेपाल राष्ट्रिय मार्सल आर्ट गेम्स महासंघका महासचिवको जिम्मेवारी सम्हालेका छन् । भनिन्छ संसार जित्नेहरूको लागि हो ।

र, त इतिहास जित्नेकै लेखिन्छ । तर, जित्नका लागि तयारी सबैले गर्दैनन् या गर्न जान्दैनन् । सफलता सजिलै मिलेको हुँदैन। हजारौँ असफलतालाई चिर्दै सफलताको रेखा कोरिएको हुन्छ । प्रशिक्षक शर्माको जीवन पनि यस्तै कथाले बेरिएको छ । शर्मालाई परिवारले तेक्वान्दो खेल्न छुट दिएको थिएन ।

कारण थियो, प्रशिक्षण एवं प्रतियोगितामा हात खुट्टा भाँचिएला वा शरीरमा चोटपटक लाग्ला । त्यसमा पनि खेल्नु भनेको बिग्रनु हो भन्ने मानसिकता आम नेपालीझैं उनको अभिभावकमा पनि थियो । तसर्थ, परिवारले उनलाई सहयोग गरेन । यद्यपि, उनले खेल्ने इच्छालाई मर्न दिएनन् ।

छिमेकी दाइलाई फकाएर उनले तेक्वान्दो पोसाकको लागि कपडा उधारोमा किनेर तेक्वान्दो खेल्न थाले । विभिन्न आरोह अवरोह पार गर्दै उनले सन् १९९९ मा ब्ल्याक बेल्ट पाउन सफल भए ।

उनले सन् २००५ बाट नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको विभिन्न सेमिनार तथा प्रतियोगिताहरूमा भाग लिएका थिए ।

सोही दौरानमा शर्माको क्षमता देखेर आइटिएफ महासंघका पूर्वअध्यक्ष कृष्णबहादुर बलालले उनलाई सन् ००७ मा पर्सा जिल्ला प्रशिक्षकको जिम्मेवारी दिएका थिए ।

शर्माले यसअघि नै सन् २००५ मै साङरोक नेपाल तेक्वान्दो एकेडेमी नामक तेक्वान्दो क्लब खोलिसकेका थिए । हाल उक्त एकेडेमी उत्कृष्ट एवं परम्परागत र आधुनिक तेक्वान्दोको एक मात्र तालिम केन्द्र बनिसकेको छ ।

वीरगञ्जमा रहँदा दर्जनौँ विद्यालयमा तेक्वान्दो खेल स्थापित गरी राजधानी छिरेका शर्माले अहिले अन्तर्राष्ट्रियस्तरमै ख्याती कमाइसकेका छन् ।

सन् ००६ मा पहिलोपटक अमेरिकन मास्टरबाट अन्तर्राष्ट्रिय तेक्वान्दो कोचको प्रशिक्षण लिएका शर्माले आधा दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा कोचको भूमिका निर्वाह गरिसकेका छन् ।

उनले सन् ०१० मा नेपालमा भएको आमन्त्रण अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप, सन् ०१६ मा इंग्ल्यान्डको विश्व तेक्वान्दो च्याम्पियनसिप, सन् ०१४ मा भएका नेपालमा भएका साताैं एसियन तेक्वान्दो च्याम्पियनसिप, प्रथम दक्षिण एसियन मार्सल आर्टस फेस्टिबल र चौथो अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०१४(भारत)मा प्रशिक्षकको भूमिका निर्वाह गरे ।

उनले सन् २०१६ मा भारतमा भएको पाँचौँ साउथ एसियन तेक्वान्दो च्याम्पियनसिपमा प्रशिक्षक हुँदै नेपालमा भएको छैटौँ साउथ एसियन तेक्वान्दो च्याम्पियनसिप २०१८ लगायतमा अन्तर्राष्ट्रिय प्रशिक्षकको भूमिका निर्वाह गरे । उनले सन् २०११ मा नेपाली मार्सल आर्टसको सर्वोच्च संस्था नेपाल नेसनल मार्सल आर्ट गेम्स कमिटीबाट प्रशिक्षक वर्ष २०१० को उपाधिसमेत चुमे ।

त्यसअघि खेलाडीका रूपमा उनले भारतमा सन् २००५ मा भएको वल्र्ड इन्टरनेसन तेक्वान्दो च्याम्पियनसिपमा प्रथम भएका थिए । साथै उनले ४ राष्ट्रिय च्याम्पियनसिपमा स्वर्ण हात पारिसकेका छन् । ‘निरन्तरता र दृढ संकल्पले मलाई असफलताबाट सफलताको बाटोतर्फ डोर्यायो,’ उनी भन्छन् ।

नेपालमा तेक्वान्दोको हेडक्वार्टर भनेर चिनिने वीरगञ्जमा उत्पादन भएका चर्चित खेलाडीमध्ये प्रशिक्षक शर्मा अग्रस्थानमा गनिन्थे । दिनेशले अन्तर्राष्ट्रिय रेफ्रीका रूपमा पनि सफलता चुमे । प्रशिक्षक शर्माले सन् २०११ मा दोस्रो एसियन आइटिएफ च्याम्पियनसिपमा रेफ्रीको भूमिका निर्वाह गरे ।

सन् २०१५ मा अमेरिकामा भएको द ब्याटल अफ दी अमेरिकाज इन्टरनेसनल तेक्वान्दो च्याम्पियनमा उत्कृष्ट रेफ्रीको उपाधिसमेत जितेर उनले आफूलाई अग्रस्थानमा उभ्याएका छन् ।

दिनेश सन् २०१५ मा अमेरिकामा लिजेन्डस अफ द मार्सल आर्टस हल अफ फेमबाट एक्स्ट्रा अर्डिनरी एचिभमेन्टस अफ द मार्सल आर्टस अवार्ड, बेलायतबाट सन् २०१६ मा तेक्वान्दो एम्बेस्डर अवार्ड, अफिसियल साइटेसन र एप्रिसेसन लेटरले सम्मानित भएका थिए । साथै जर्मनीबाट सन् २०१७ र २०१८ मा दुईपटक नै मास्टर अफ द इयर अवार्ड जित्न सफल भए ।

उनी अखिल भारत तेक्वान्दो महासंघ र तेक्वान्दो बोर्ड अफ इन्डियाबाट समेत सम्मानित भइसकेका छन् । राष्ट्रिय रूपमा उनलाई प्रधानमन्त्री, खेलकुदमन्त्री, एनओसी, एनएससी, एनएनएमजिसीलगायत दर्जनौँ संघ संस्थाहरूले सम्मान गरिसकेका छन् ।

शर्मा तालिम दिनका लागिसमेत विदेश पुग्ने गरेका छन् । उनले सन् २०१४ मा ढाकामा बंगलादेश नेपाल तेक्वान्दो फ्रेन्डसिप सेमिनारमा प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । वीरगञ्जबाटै यसभन्दा अघि जुडोका चर्चित प्रशिक्षक राजेश कर्माचार्य फिनल्यान्ड तालिम दिन गएका थिए ।

हाल उनी अमेरिका छन् । प्रशिक्षक शर्माकोे कार्यकुशलताले गर्दा विभिन्न संघसंस्था, स्कुल तथा क्लबहरूले तेक्वान्दो प्रशिक्षण गराइदिनका लागि अनुरोधहरू आउने गरेको प्रशिक्षक शर्मा बताउँछन् । उनले आफूमातहत रहेका स्कुल, क्याम्पस एवं बालगृहहरूमा आफ्नो ब्ल्याकबेल्ट प्रशिक्षकहरूलाई प्रशिक्षण कार्यमा लगाई रोजगारीसमेत दिएका छन् ।

उनले आफूमातहत रहेका क्लब, क्याम्पस, एवं स्कुलहरू गरी दर्जनभन्दा बढी संस्थाहरूमा सुपरभिजनसमेत गर्छन् । जसका कारण नेपालका सबैभन्दा बढी स्थानमा प्रशिक्षण दिने र पारिश्रमिक पाउनेमा प्रशिक्षक शर्माको नाम अग्रस्थानमा आउने गरेको छ । उनले आम्दानीको आधा हिस्सा सडक बालबालिका, विपन्न विद्यार्थी एवं असहाय मानिसहरूलाई सहयोग गर्दै आइरहेका छन् ।

प्रतिक्रिया