एम्बुलेन्स दिने उद्घोष

काठमाडौं । दसैँको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्र ‘छक्का पञ्जा–३’ हिट भएमा एम्बुलेन्स दिने घोषणा गरिएको छ । हाँस्य कलाकार जितु नेपालले दीपक सिलवालले सञ्चालन गर्दै आएको ‘घर आँगन नेपाल’ को कार्यक्रममा उक्त घोषणा गरेका हुन् ।

नेपालले आफूहरूले निर्माण गरेका चलचित्र ‘छ एकान छ’ हिट भएपछि थानकोटमा एम्बुलेन्स, ‘छक्का पञ्जा’ हिट भएपछि काभ्रेमा एम्बुलेन्स प्रदान गरेको सुनाए । उनले भने, ‘हरेक नेपाली सुत्केरी हुन नसकेर वा कुनै पनि बिरामी भएर समयमै उपचार नपाएर मर्न नपरोस् भन्दै एअर एम्बुलेन्स प्रदान गर्ने सोचिएको हो ।’

प्रदर्शनको तयारीमा रहेको ‘छक्का पञ्जा ३’ को प्रचारका क्रममा उनले आगामी सिनेमालाई पनि दर्शकको अपार साथ र माया भएको खण्डमा आफूहरू एअर एम्बुलेन्स प्रदान गर्ने हैसियतमा पुग्ने विचार व्यक्त गरेका हुन् ।

‘छक्का पञ्जा ३’ का निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले १ लाख ६ हजार नगद सहयोग गरिन् । उनले स्वास्थ्य क्षेत्रका साथै दीपक–दीपा फाउन्डेसनबाट १३ जना बालबालिका पढाइरहेको जानकारी दिइन् । उनले भनिन्, ‘ठाउँ–ठाउँमा एम्बुलेन्सदेखि स–साना बालबालिकालाई पढाउने काम गरिरहेका छौँ ।

हाम्रा स–साना नानीहरूले स्कुलमा राम्रो स्थान ल्याएर पढिरहेका छन् भनेर भन्न चाहन्छु ।’ समाजसेवी दीपक सिलवालले घर आँगन नेपालमार्फत गरिब तथा असहाय बालबालिकालाई सहयोग गर्दै आएका छन् ।

बच्चा जन्माउन नसकेर पीडामा रहेकी सिन्धुपाल्चोक भारसिपाकी सन्तमाया तामाङलाई हेलिकोप्टर चार्टर गरेर नै सिलवालले डा. भोला रिजालको मेडिकल सहयोगमा उपचारमा सघाएका थिए ।

त्यस्तै, झन्डै ९ महिनाअघि सोही स्थानकी सीता जोगीलाई उद्धार गरेपछि अभियान नै चलाएका सिलवालको अभियानमा डा. भोला, पूर्व–प्रधानसेनापति रुकमांगद कटवाल, निर्देशक दीपाश्री निरौला, सञ्चारकर्मी नरेश भट्टाराईले सघाइरहेका छन् ।

प्रतिक्रिया