रहेनन् अभिनेता बोगटी

काठमाडौं । चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको ५८ वर्षको उमेरमा मंगलबार निधन भएको छ ।

टीकाथलीनजिकै रूख काट्ने क्रममा रूखले लागेर बिजुलीको तारका कारण खम्बा ढलेर बोगटीलाई गम्भीर चोट लागेको थियो । घटनालगत्तै बोगटीको बिएन्डबी अस्पतालमा उपचारका क्रममा निधन भएको चलचित्र कलाकार संघ कोषाध्यक्ष अभिनेत्री विमला केसीले जानकारी दिइन् ।

टीकाथलीको आफ्नो घरबाट निस्किएका बोगटी घरनजिकै रूख काटेको हेर्न गाडी रोकेर बाहिर निस्किएका थिए । विपरीत दिशातर्फ रूख ढल्दा छेउमै रहेको ट्रान्समिटर सहितको बिजुलीको पोलमा रूख ढल्यो । रूखलाई पोलले धान्न नसकेपछि पोल पनि ढलेको थियो । ढलेको पोल र ट्रान्समिटरले उनको टाउको र पेटमा थिचेको थियो ।

मंगलबार नै पाटन अस्पतालमा बोगटीको शव परीक्षण गरी महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ । बोगटीकी छोरी अस्ट्रेलियाबाट नेपाल आएपछि दाहसंस्कार गरिने कलाकार संघले जनाएको छ ।

प्रतिक्रिया