सालकको खपटासहित २ पक्राउ

दोलखा । जिल्लामा केही वर्ष यता संरक्षित वन्यजन्तु चोरी सिकारीमा वृद्धि भइरहेको छ । प्छिल्लो समयमा संरक्षित वन्यजन्तु आखेटोपहार सालकको खपटा चोरीसिकारी हुने क्रम रोकिएको छैन । दोलखा प्रहरीले ०७१ सालदेखि हालसम्म १० केजी ८ सय ग्राम सालकको खपटा बरामद गरिसकेको छ ।

सोमबार मात्र संरक्षित वन्यजन्तु अखेटेपहार सालकको खपटासहित जिल्ला प्रहरी कार्यालय दोलखाले दुई जना पक्राउ गरेको छ ।

सिन्धुली कमलमाई नगरपालिका–३ घर भएका २३ वर्षीय अर्जुन देवकोटा र १९ वर्षीय सौरभ गोलेलाई २ केजी ९ सय ग्राम सालकको खपटासहित प्रहरीले पक्राउ गरेको हो ।

दोलखाको भीमेश्वर नगरपालिका–३ स्थित लामचौर जंगलमा बिक्री वितरणका लागि लैजाँदै गर्दा उक्त सालकको खपटा फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वासुदेव पाठकले जानकारी दिए । पक्राउ परेका अर्जुन देवकोटा र सौरभ गोलेलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्याल दोलखामा पठाइएको प्रहरीले जनाएको छ ।

संरक्षित वन्यजन्तुको चोरी सिकारी गरेको प्रमाणित भए वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार पाँच वर्षदेखि १५ वर्षसम्म कैद र पाँच लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

एक महिनाअघि मात्र जिल्ला प्रहरी कार्यालय दोलखाले भीमेश्वर नगरपालिकाबाट नै पुच्छर, नंग्रा, छालासहित २७ इञ्च लम्बाई र नौ इञ्च चौडाइ रहेको ३ सय ८० ग्राम सहितको सालकको खपटासहित एक जना पक्राउ गरेको थियो ।

त्यसैगरी गत चैतमा दुई केजी सालकको खपटासहित एक जना पक्राउ गरेको थियो । पछिल्लो समयमा दोलखामा सालकको खपटाको तस्करी बढेसँगै जिल्ला प्रहरी कार्यालय दोलखाले विशेष निगरानी गर्न सुरु गरेपछि तस्करीमा संलग्नहरूलाई धमाधम पक्राउ गर्न थालेको छ ।

प्रतिक्रिया