कालिकाले मृतक र घाइतेलाई क्षतिपूर्ति दिने

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि रहेको लालबंगला दरबारमा सोमबार भएको घटनाको विषयमा मंगलबार जिल्ला प्रशासन कार्यालय पर्सामा सर्वपक्षीय छलफल भएको छ ।

छलफलमा घाइते भई काठमाडांैमा उपचार गराइरहेका दुई बालिकाको उपचारका लागि ठेकेदार कालिका कन्ट्रक्सनले दुई लाख रुपैयाँ उपलब्ध गराएको छ ।

यस्तै कालिकाले मृतक बालकका परिवारलाई तत्कालका लागि किरिया खर्च दिने र क्षतिपूर्तिका लागि भने पछि छलफल गरेर रकम दिने सहमति जनाएको छ ।
यस्तै वीरगञ्ज हेल्थ केयर हस्पिटलमा उपचार गराइरहेकी अर्की बालिकाको उपचार खर्च बेहोर्ने सहमति पनि कालिकाले जनाएको छ ।

छलफलमा लालबंगला परिसरमा राखिएका ह्युम पाइपहरू सकभर त्यहाँबाट हटाउने नभए त्यसको रेखदेखका लागि प्रहरी परिचालन गर्ने सहमति पनि भएको छ । प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलको उपस्थितिमा भएको वार्तामा कालिका कन्ट्रक्सनका प्रतिनिधि अर्जुनजंग शाही, पर्साका प्रहरी उपरीक्षक रेवती ढकाल, वीरगञ्ज महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत डा.भीष्मकुमार भुसाल, राजनीतिक दलका नेता लगायतको सहभागिता रहेको थियो ।

सोमबारसाँझ जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि रहेको रातोबंगलामा कालिका कन्स्ट्रक्सनले थुपारेको ह्युमपाइपमा खेल्ने क्रममा गम्भीर घाइते भएका वीरगञ्ज–९ रानीघाटका चार जना बालबालिका मध्ये एक बालकको मृत्यु भएको थियो । घाइते भएका चार जना बालबालिका मध्ये बालमुकुन्द राउत चौधरीका छोरा आठ वर्षीय रोहित राउत चौधरीको मृत्यु भएको हो ।

यादवले गरे सहयोग

पर्सा–१ का सांसद एवं संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले ह्युमपाइपले च्यापिएर घाइते भएका बालिकाहरूको उपचार खर्चका लागि आर्थिक सहयोग गरेका छन् ।

काठमाडांैको बिएन्डबी अस्पतालमा उपचार गराइरहेका पर्साको जीराभवानी गाउँपालिका–१ स्थायी घर भई हाल वीरगञ्ज–९ रानीघाटमा बस्दै आएका गोविन्द चौधरीकी छोरीहरू १० र सात वर्षीया अनुष्का चौधरी र अंकिता चौधरीलाई मंगलबार बिहान अस्पतालमै पुगेर सांसद यादवले जनही २५÷२५ हजार रुपैयाँ सहयोग गरेका हुन् ।

त्यही घटनामा घाइते भई वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचार गराइरहेकी वीरगञ्ज–९ रानीघाटका राकेश यादवकी छोरी नौ वर्षकी आयुषा यादवलाई पनि २५ हजार रुपैयाँ प्रदान गरिने काठमाडांैमा रहेका सांसद यादवले बताए ।

सोमबार साँझको घटनामा परी ज्यान गुमाएका रानीघाटका बालमुकुन्द राउत चौधरीका आठ वर्षीय छोरा रोहित चौधरीको परिवारलाई भने आपूm वीरगञ्ज आए लगत्तै ५० हजार रुपैयाँ प्रदान गर्ने सांसद यादवले बताए ।

कारबाहीको माग

मंगलबार बिहान एक विज्ञप्ति जारी गर्दै सांसद यादवले सोमबार साँझ भएको दुःखद् घटनाले आपूm स्तब्ध भएको बताएका छन् ।

लालबंगला परिसरमा ह्युमपाइप राख्ने कालिका कन्ट्रक्सनकै लापरबाहीका कारण दुःखद् घटना भएकाले यसको सम्पूर्ण जिम्मेवारी कालिकाले नै लिनुपर्ने पनि बताएका छन् ।

लापरवाहीपूर्वक ह्युमपाइप थुपारेर राख्ने कालिका र ह्युमपाइप राख्न लगाउने दुवै पक्षलाइ कारबाही गर्न पनि सांसद यादवले स्थानीय प्रशासनलाई निर्देशन दिनुका साथै सरकारसँग माग गरेको बताएका छन् ।

प्रजिअलाई ज्ञपानपत्र

यस्तै अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियु पर्साले ह्युम पाइपले च्यापिएर एक जना बालकको ज्यान गएको तथा अन्य तीन जना घाइते भएपछि दोषीलाई कारबाहीको माग गर्दै पीडित परिवारलाई तुरुन्त राहतको व्यवस्था मिलाउन माग गरेको छ ।

अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रीय सदस्य इश्ककुमार, मोहम्मद जुबेर आलम र अनेरास्ववियु पर्साका अध्यक्ष रामबाबु यादवले मंगलबार जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाउँदै उक्त माग गरेका हुन् ।

प्रतिक्रिया