दसैं लक्षित टिकट बुकिङ खुल्यो

बुटवल । नजिकिएको दसैँ पर्वलाई लक्षित गर्दै पश्चिम नेपाल बस व्यवसायी संघले अग्रिम टिकट बुकिङ खुल्ला गरेको छ ।

यात्रुहरूलाई सहज रूपमा गन्तव्यमा पठाउनका लागि संस्थाले २० गतेदेखि नै अग्रिम टिकट बुकिङ खुलाएको संघका अध्यक्ष दधिराम खरेलले जानाकारी दिए । अग्रिम टिकट बुकिङ खुल्ला भएपछि बसपार्कमा टिकट लिनेहरूको भिड लागेको छ । गुल्मी, पाल्पा, अर्घाखाँचीका लागि बढी मात्रामा टिकट बुकिङ भएको टिकट बुकिङ काउन्टरका सदस्य प्रदीप पौडेलले जानकारी दिए ।

संघले यात्रुहरूको चापअनुसार सवारी साधन थप्ने बताएको छ । रुटभन्दा बढी सवारी संघको माताहतमा रहेको भन्दै आवश्यकताका आधारमा बसहरू थप गर्दै जाने अध्यक्ष खरेलको भनाइ छ ।

बढी यात्रु काठमाडौंबाट बाहिरिने भएकाले एकोहोरो मात्र बसले यात्रु ओसार्ने गरेको उनले बताए । ‘काठमाडौंबाट गुल्मी जान समस्या छैन, तर बस एकोहोरो काठमाडौं लैजान केही ग्राहो छ, यात्रु छैनन्’, उनले भने ।

गुल्मी, अर्घाखाँची, पाल्पा जानका लागि दुई वटा छुट्टाछुट्टै काउन्टर बनाएर टिकट दिने व्यवस्था संघले मिलाएको छ ।

बसपार्कमा यात्रुको चाप बढ्ने थालेपछि वडा प्रहरी कार्यालय बुटवलले पाँच दिनअघि नै नागरिक सहायता कक्ष स्थापना गरिसकेको छ । सुरक्षित यात्रा, सामानको सुरक्षाजस्ता सूचनामूूलक सामग्री सहायता कक्षबाट यात्रुहरूलाई दिइएको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

प्रतिक्रिया