बज्रयोगिनीमा संग्रहालय बन्ने

काठमाडौं । काठमाडाैँ महानगरपालिका, शंखरापुर नगरपालिका र युनेस्कोको संयुक्त पहलमा शंखरापुर नगरपालिका–८ बज्रयोगिनीमा संग्रहालय बन्ने भएको छ । पर्यटकीय क्षेत्र शंखरापुरमा धेरैभन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउन संग्रहालय निर्माण गर्न लागिएको हो ।

बज्रयोगिनीको मन्दिरनजिकै करिब ५ रोपनी जमिनमा पुराना तीन वटा दुईतले भवनलाई नै पुनर्निर्माण गरी संग्रहालय बनाउन लागिएको छ । ०७२ सालको भूकम्पले बज्रयोगिनीनजिकै रहेका ती पुराना भवनको पूर्वी तथा उत्तरी भाग पूरै ध्वस्त पारेको थियो ।

काठमाडौं महानगरपालिकाले १ करोड रकम सहयोग गर्ने भएको छ भने युनेस्कोले ती तीन वटा भवनको मूल्यांकन गरी मर्मत तथा रंगरोगन गर्ने र पुरानै नमुनामा ढाल्ने भएको छ ।

शंखरापुरले पूर्णरूपमा क्षति भएको भवन डिपिआरको लागि २० लाख रकम छुट्याएको शंखरापुर नगरपालिका प्रमुख सुवर्ण श्रेष्ठले जानकारी दिए । ‘बज्रयोगिनी मन्दिर संरक्षण समिति र नगरपालिकाको रोहबरमा ती गहरगहनालाई ७ वटा ड्रममा हाली सुरक्षित राखेका छाैँ,’ श्रेष्ठले भने, ‘ती पुराना बहुमूल्य गहरगहनामा सुन, चाँदी, हिरा, मोती, धातु हुँदै विभिन्न कलात्मक र पौराणिक वस्तु रहेका छन् ।’ लामो समय थन्किएर रहेका ती वस्तुलाई संग्रहालयमार्फत अघि बढाउने उनले बताए ।

प्रतिक्रिया