हेमलाल र कान्छीमाया च्याम्पियन


काठमाडौं । नेपाली सेनाका होमलाल श्रेष्ठ र भक्तपुरकी कान्छीमाया कोजु १२औँ काठमाडौं म्याराथनमा च्याम्पियन भएका छन् । शनिबार ४२ दशमलव १९ किमिको दुरी २ घन्टा २० मिनेट ४५ सेकेन्डमा पूरा गर्दै होमलाल च्याम्पियन बन्न सफल भए ।

दोस्रो स्थानमा सेनाका राजन खत्री र नेपाल प्रहरीका भूमिराज राई तेस्रो भए । खत्रीले २ घन्टा २३ मिनेट ३३ सेकेन्ड र राईले २ घन्टा २४ मिनेट ३१ सेकेन्डमा दुरी परा गरेका थिए । कान्छीले उक्त दुरी २ घन्टा ५० मिनेट ४१ सेकेन्डमा पूरा गरिन् ।
भक्तपुरकै सरिता वासीले ३ घन्टा ११ मिनेट १४ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो र राजपुरा पछाईले ३ घन्टा २४ मिनट ८ सेकेन्डमा दुरी पुरा गर्दा तेस्रो स्थानमा सीमित भइन् । म्याराथनमा पहिलोले ५० हजार, दोस्रोले २० हजार र तेस्रोले १५ हजार नगदसहित मेडल प्राप्त गरे ।

प्रोस्पोर्टस प्रालिको आयोजनामा म्याराथनअन्र्तगत भएको रोड रेसमा एपिएफका गोपीचन्द्र पार्कीले पहिलो हुँदा १ घन्टा ७ सेकेन्डमा दुरी पूरा गरे । दोस्रो स्थानमा रहेका सेनाका रामजी बस्नेतले १ घन्टा २१ सेकेन्ड र एपिएफकै सन्तोष विक्रम विष्टले १ घन्टा २२ सेकेन्ड दौड पूरा गर्दा तेस्रोमा चित्त बुझाए ।

महिलातर्फ सेनाकी विश्वरूपा बुढाले १ घन्टा १० मिनेट ५७ सेकेन्डका साथ पहिलो भइन् । एपिएफकी वृन्दा धनकेश्वरी श्रेष्ठले १ घन्टा ११ मिनेट ३७ सेकेन्डका साथ दोस्रो र एपिएफकै पुष्पा भण्डारीले १ घन्टा १२ मिनेट ३५ सेकेन्डका साथ तेस्रोमा खुम्चिइन् ।

स्वर्ण, रजत र कांस्य पदकधारीले नगद २० हजार, १३ हजार र ७ हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतिक्रिया