यतीको ठूलो जहाजले पोखरा–काठमाडौं उडान गर्ने

काठमाडौं । बढ्दो विमान सेवाको माग र पर्यटकीय सिजन सुरु भएसँगै निजी क्षेत्रको हवाई कम्पनी यती एअरलाइन्सले ठूलो आकारका जहाजबाट काठमाडौं–पोखरा–काठमाडौं उडान थाल्ने भएको छ ।

यतीले पछिल्लोपटक ल्याएको ७२ सिट क्षमताको एटिआर ७२–५०० जहाजबाट आउने बुधबारदेखि काठमाडौं–पोखरा–काठमाडौं रुटमा उडानको तालिका बनाएको छ ।

यतीका सञ्चार अधिकृत भीमराज राईका अनुसार बुधबारदेखि दैनिक दुईवटा उडान एटिआर ७२–५०० बाट गर्ने तालिका बनाएको छ । यात्रुको मागअनुसार उडान थप्न सकिने बताए । एटिआरबाहेक यतीले ३० सिट क्षमताको जेटस्ट्रिम ४१ जहाजबाट पनि अरू उडान गर्ने बताए । एटिआरबाहेक यतीले यतिवेला काठमाडौं–पोखरा–काठमाडौं रुटमा दैनिक १२ वटासम्म उडान तालिका बने पनि १० वटासम्म उडान नियमित रूपमा भइरहेको उनले बताए ।

७२ सिट भए पनि पोखरा विमानस्थलको धावनमार्ग कम भएकाले पूर्ण क्षमतामा भने यात्रु बोक्न सक्ने छैन । बढीमा ६० जना यात्रुहरू एउटा उडानबाट आउजाउ गर्ने गरी हालका लागि उडान थाल्ने राइले बताए ।

सुरुवात ६० जना यात्रु बोकेर गर्ने हो, उनले भने । राईका अनुसार यतीले हालका लागि एटिआर ७२ को दैनिक दुई उडान पोखराका लागि राखेको छ । हरेक दिन बिहान साढे ७ र ९ बजे उडान गर्ने तालिका तय गरेको उनले बताए ।

पोखरा विमानस्थलका प्रमुख भोलाप्रसाद गुरागाईंले पनि यतिले ठूलो आकारको जहाजबाट उडान सुरु गर्न थालेको बताए । ‘एकैपटक धेरै यात्रु बोक्ने हुँदा आउजाउमा सहज हुनेछ,’ उनले भने, ‘ठूलो जहाजबाट उडान हुँदा हवाई टिकटको अभाव कम हुनेछ ।’

अहिले सिजनका बेला पोखरा–काठमाडौं रुटमा यात्रुले चाहेको बेला हवाई टिकट पाउन सक्दैनन् । उनका अनुसार पोखरा विमानस्थलको धावनमार्ग एक हजार चार सय ४७ मिटर छ । धावनमार्ग छोटो हुनाले एटिआर ७२ ले पूरा यात्रु क्षमतामा यात्रु बोक्न सक्दैन ।

मौसम चिसो भएको बेला बढी भार बोक्न सक्छ । तातो हुँदा कम भार बोक्न सक्ने हो ।,’ गुरागाईंले भने, ‘गर्मीमा भन्दा जाडो महिनामा एटिआर ७२ ले धेरै यात्रु बोक्न सक्नेछ ।’ ‘जहाजको यात्रु बोक्ने क्षमता तापक्रमले फरक पार्दछ ।’ अहिले उडान भइरहेको जहाजले पनि सोहीअनुसार यात्रु बोक्दै आएको बताए ।

प्रतिक्रिया