करोडपति चलाउँदै राजेश

काठमाडौं । भारतमा निकै लोकप्रिय बनेको ‘कौन बनेगा करोडपति’ को नेपाली संस्करणको सञ्चालन अभिनेता राजेश हमालले गर्ने भएका छन् । नेपाली दर्शकबीच लोकप्रिय रहेको उक्त सो मंसिर पहिलो साताबाट सुरु हुँदैछ ।

अन्तर्राष्ट्रियस्तरमै निकै लोकप्रिय रहेको बौद्धिक खेलको कार्यक्रम ‘हु वान्ट्स टु बी ए मिलिनेयर’ को नेपाली संस्करणको रूपमा ‘को बन्छ करोडपति नेपाल’ प्रसारण हुन लागेको अभिनेता हमालले जानकारी दिए । भारतमा लोकप्रियता हासिल गरेको प्रतियोगितामूलक कार्यक्रम ‘कौन बनेगा करोडपति’ नेपालबीच पनि लोकप्रिय रहेकाले आफूहरूले यसलाई नेपालमा सञ्चालन गर्न लागेको हमालले बताए ।

बेलायतबाट सन १९९८ मा सुरु भएको विश्वप्रसिद्ध कार्यक्रम ‘हु वान्ट्स टु बी ए मिलिनेयर’ अहिलेसम्म विश्वका १ सय ६१ देशबाट फ्रेन्चाइजको रूपमा प्रसारण भइसकेको छ । यसैलाई नेपाली संंस्करणको रूपमा केबिसी नेपाल (को बन्छ करोडपति नेपाल) आगामी मंसिर पहिलो सातादेखि एपी वान टेलिभिजनमार्फत प्रसारण हुने जनाइएको छ । यस कार्यक्रमलाई अभिनेता हमालले सञ्चालन गर्न लागेका हुन् ।

राजधानीमा बिहीबार पत्रकार सम्मेलनमा हमालले भने, ‘अन्तर्राष्ट्रियस्तरमै लोकप्रियता हासिल गरेको कार्यक्रमको सञ्चालक बन्न पाउँदा खुसी लागेको छ । को बन्छ करोडपतिले यसमा सहभागी हुने नेपालीलाई बौद्धिकसँगै आर्थिक रूपमा पनि धेरै हदसम्म सबल बनाउने छ ।’ शिक्षासँग जोडिएको एउटा बौद्धिक कार्यक्रम भएकाले पनि यो कार्यक्रम सञ्चालन गर्न पाउँदा आफूलाई खुसी लागेको उनले बताए ।

सोही कार्यक्रममा ‘को बन्छ करोडपति नेपाल’ को प्रोमो पनि रिलिज गरिएको छ । सार्वजनिक गरिएको प्रोमोमा ‘नमस्कार नेपाल, तपार्इंहरू सञ्चै हुनुहुन्छ’ भन्ने नेपाली संवादसहित भारतमा ‘कौन बनेका करोडपति’ सञ्चालन गरिरहेका बलिउड अभिनेता अमिताभ बच्चनले कार्यक्रमलाई सफलताका शुभकामना व्यक्त गरेका छन् । आफूले सञ्चालन गरेको लोकप्रिय कार्यक्रम कौन बनेका करोडपतिको फ्रेन्चाइजको रूपमा को बन्छ करोडपति नेपालमा सञ्चालन हुन लागेकोमा खुसी लागेको उनले प्रोमोमार्फत बताएका छन् ।

यो कार्यक्रममा सहभागी हुनका लागि दर्ता प्रक्रिया पनि सुरु गरिएको आयोजकले पत्रकारलाई जानकारी गराएको छ । केबिसी नेपाल मोबाइल एप्स डाउनलोड गरेर यसलाई घरमै बसेर पनि खेल्न सकिने जनाइएको छ ।

आयोजक विपिनकुमार आचार्यले नेपालीलाई गेम खेलाउँदै आर्थिक रूपमा समृद्ध र अझ बौद्धिक बनाउन आफूहरूले ‘को बन्छ करोडपति नेपाल’ कार्यक्रम टेलिभिजनमार्फत सञ्चालन गर्न लागेको जानकारी दिए ।

त्यस्तै, सिभिल बैंकका सिइओ गोविन्द गुरुङले अन्तर्राष्ट्रियरूपमा ख्याति कमाएको यो कार्यक्रमलाई फ्रेन्चाइजको रूपमा नेपालमा पनि ल्याइएकोमा खुसी लागेको बताए । उनले यसले आफूहरूको व्यवसाय पनि प्रवद्र्धन हुने भएकाले को बन्छ करोडपतिसँग जोडिएको बताए । इन्डिका हेयर कलरका कन्ट्री म्यानेजर सपनदास गुप्ता, राजिव शाह लगायतले कार्यक्रमको सफलताको कामना गरे ।

प्रतिक्रिया