हिमाल नाघेर भित्रिन थाले चरा

काठमाडौं । जाडो छल्न हिमाल छिचोलेर विभिन्न प्रजातिका चरा नेपाल भित्रिन थालेका छन् । हिउँदे आगन्तुक चरा जाडो छल्न बसाइँ सरेर आउने क्रम सुरु भएको हो ।

उत्तरी गोलाद्र्धमा चिसोले हिउँ जम्ने हुँदा जाडो छल्न चरा नेपाल भित्रिन थालेका जुलोजिकल सोसाइटी अफ लन्डन नेपाल कार्यालयका राष्ट्रिय प्रतिनिधि डा. हेमसागर बरालले जानकारी दिए । यसरी आउने कतिपय चरा सगरमाथा नाघेर आउँछन् ।

कतिपय विभिन्न क्षेत्रबाट भित्रिन्छन् । ‘चिसोले पानी जम्छ र भएका किरा मर्छन्, त्यसैले जाडोबाट बच्न चरा नेपाल आउने हो ।’ डा. बरालले भने, ‘धेरै चरा आइसके, केही आउँदै छन् ।’

सगरमाथा नाघेर आउने खोया हाँसले ९ हजार ३ सय ७५ मिटरमाथि उडान भरेको अभिलेख छ । हाँस मात्रै २२ भन्दा बढी प्रजातिका आउँछन् । कतिपय चराले पाँच हजार किलोमिटरसम्म दुरी पार गर्छन् । सामान्यतः यसरी बसाइँ सरेर आउने चराले दुई–तीन हजार किमी दुरी पार गरेकै हुन्छन् ।

अहिलेसम्म सुइरोपुच्छ्रे, बिजुलागैरी, सिन्दुरे, खडखडे, सुडसुडिया, टिकटिके, ट्याकट्याके चरा नेपाल भित्रिसकेका पक्षीविद् संघका अध्यक्षसमेत रहेका डा. बराल बताउँछन् । पाहुना चराले नेपालमा ६ देखि आठ महिना बिताउँछन् । ठूलो चील (महाचील) मंगोलिया, चीन, साइबेरियाबाट आउँछ ।

असोजको पहिलो साताबाट चरा आउन थालेका हुन् । चितवन, कोसी, कपिलवस्तुको जगदीशपुर ताल, बर्दिया, शुक्लाफाँटालगायत सिमसार क्षेत्रमा बसाइँ सरेर आएका चरा देखिन थालेका छन् ।

चितवनमा विभिन्न प्रजातिका चरा आइपुगेको वर्ड एजुकेसन सोसाइटी चितवनका पूर्वअध्यक्ष वासु विडारीले जानकारी दिए । वनजंगल र झाडीमा बस्ने चरा आउन थालेका छन् । यस्ता चरा चितवन, काठमाडौंलगायत वरिपरि देखिन थालेको चराविद्ले बताएका छन् । जाडो छल्न बसाइँ सरेका पानी चरा काठमाडौंको वाग्मतीमा देखिन थालिसकेका छन् ।

असोज चराका लागि बसाइँ सरेर आउने महत्वपूर्ण समय हो । असोजको अन्तिमसम्ममा यहाँ अधिकांश चरा आइसक्छन् । अभिलेखअनुसार १ सय ४९ प्रजातिका चरा नेपाल भित्रिन्छन् । जसमा आधाजति सिमसारमा बस्ने चरा हुन्छन् ।

कपिलवस्तुको जगदीशपुर तालमा नेपालमै सबैभन्दा बढी चरा पाइन्छन् । चराविद् टीका गिरी राम्रो वासस्थान भएकाले विभिन्न देशबाट चरा नेपालमा आउने बताउँछन् । उनका अनुसार चरा पर्यटनका लागि नेपाल उपयुक्त भए पनि सरकारको ध्यान यसतर्फ जान सकेको छैन ।

नेपालमा ८ सय ८७ प्रजातिका चरा पाइन्छन् । सबैभन्दा बढी प्रजाति चितवनमा भेटिन्छन् । बर्दिया प्रकृति संरक्षण क्लबका अध्यक्ष रामबहादुर शाही चराहरू बर्दियामा बसाइँ सरेर आउन थालेको बताउँछन् । कर्याङकुरुङ उडेको देखिएको तर नेपाल नाघेर कतिपय चरा भारत पुगेको उनको दाबी छ । नेपाल सानो क्षेत्र भएकाले धेरै माथिबाट उडान गर्ने चरा नेपाल नाघेरै अन्य देश पुग्ने चराविद् बताउँछन् ।

यता ग्रीष्मका आगन्तुक चराले भने नेपाल छाड्न थालेका छन् । कोइली, मुरली, जुरे कोइली, लालचुच्चे ठेउवाजस्ता चरा नेपाल छाडेर दक्षिण लागेका छन् । यी दक्षिणबाट बच्चा कोरल्न आउँछन् । दक्षिणी क्षेत्रमा भन्दा नेपालमा प्रतिस्पर्धा कम हुने र उनीहरूलाई आक्रमण गर्ने प्रजाति पनि कम हुने भएकाले यिनीहरूले बच्चा कोरल्न नेपाल छान्छन् । बच्चा हुर्काएपछि पुनः दक्षिण नै फर्कन्छन् ।

ती चरा भारत, श्रीलंकालगायत देशमा जान्छन् । अधिकांशले बच्चा हुुर्काइसकेका छन् । यस्ता चराको मुख्य वासस्थान भने दक्षिणी क्षेत्र हो । केही सिमसारका चरा उडिसकेको र सुइरोठुँडे, गरुड, बकुल्लाले बच्चा हुर्काएर उडाइसके । अब केही चराको बच्चा उड्ने तयारीमा रहेको डा. बराल बताउँछन् ।

प्रतिक्रिया