खै निर्मलालार्इ न्याय ?

काठमाडौं । कञ्चनपुरकी निर्मला पन्त बलात्कार–हत्या प्रकरणलाई लिएर गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको बर्खास्तगीको माग गर्दै राजधानीमा प्रदर्शन भएको छ ।

बिहीबार दिउँसो सिंहदरबारअगाडि विभिन्न प्ले कार्ड बोकेका प्रदर्शनकारीले गृहमन्त्री थापाको राजीनामा मागेका थिए । लगत्तै सत्तारूढ दलकै विद्यार्थी संगठनका नेताहरूले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएर प्रहरी महानिरीक्षक खनालको राजीनामा माग गरेका हुन् ।

निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई कारबाहीको माग गर्दै सिंहदरबारअगाडि विभिन्न कलेजका विद्यार्थीले गृहमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै चर्का नारा लगाएका थिए । निषेधाज्ञा तोड्दै प्रदर्शन गर्न थालेपछि सिंहदरबार दक्षिण गेट केहीबेर बन्द गरिएको थियो ।

ब्यानर र पम्प्लेटसहित उनीहरूले गेटअगाडि धर्नासमेत दिए । प्रहरीले रोक्न खोज्दा प्रदर्शनकारीले झन् उत्तेजित बन्दै ‘अपराधी पत्ता लगाउन नसक्ने गृहमन्त्री राजीनामा दे’ भन्दै नाराबाजी गरे ।

त्यसैगरी, प्रहरी प्रमुख खनालको बर्खास्तगीको माग लिएर बिहीबार नेकपाकी सांसद एवं अनेरास्ववियु अध्यक्ष नवीना लामा, अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङलगायत विद्यार्थी नेता गृहमन्त्रालय पुगेका थिए । गृहमन्त्री थापालाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले खनाललाई बर्खास्त नगरे सरकारको बेइज्जत हुने बताए ।

जनताको जिउधनको सुरक्षामा सिंगो प्रहरी संरचनालाई प्रभावकारी बनाउन अक्षम भन्दै प्रहरी प्रमुखलाई तत्काल बर्खास्त गर्न विद्यार्थी नेताले ज्ञापनपत्रमा माग गरेका छन् ।

‘बलात्कार तथा हत्याका घटना दिनहुँ भइरहनु, त्यस्ता घटनामा सरकार र यसका अंगहरूमाथि गम्भीर प्रश्नहरू उब्जिँदै जानु चिन्ताको विषय हो,’ ज्ञापनपत्रमा उल्लेख छ । निर्मला पन्तको बलात्कार र हत्याका मूल कारक बम दिदीबहिनी, एसपी र अन्य प्रहरीमाथि अनुसन्धान केन्द्रित गर्न संगठनले माग गरेको छ ।

बलात्कार, एसिड प्रहार तथा जघन्य अपराधमा आजीवन कारबाहीको व्यवस्था गर्न विद्यार्थी संगठनले माग गरेको छ । अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतका अनुसार ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले निर्मला हत्याकाण्डबारेको प्रतिवेदन छिट्टै सार्वजनिक गरिने बताए ।

‘निर्मला हत्याकाण्डबारे सत्यतथ्य बुझ्न क्याबिनेटले समिति बनाएको हो । प्रधानमन्त्री स्वदेश फर्केपछि बस्ने क्याबिनेट बैठकबाट समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गरिने छ,’ गृहमन्त्रीको भनाइ थियो ।

प्रहरी प्रमुखको राजीनामाबारे सत्तारूढ दलकै केही विद्यार्थी नेताले भने विरोध जनाएका छन् । प्रहरी महानिरीक्षकको राजीनामा मागेको समाचार सार्वजनिक भएसँगै विद्यार्थी संगठनभित्रै केही नेताले असन्तुष्टि जनाएका हुन् । अनेरास्ववियुका महासचिव ऐनबहादुर महरले खनाललाई बर्खास्त गर्न विद्यार्थी नेताहरूले गरेको लबिङप्रति असहमति जनाएका छन् ।

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ७१ दिन पुग्दासमेत सरकारले हत्यारा पत्ता लगाउन सकेको छैन । सरकारले गठन गरेको छानबिन समितिको रिपोर्ट पनि गृहमन्त्रालयले अझै गुपचुप राखेको छ ।

अपराधी पत्ता लगाउन सरकार उदासीन भएको भन्दै सुदुरपश्चिम फेरि आन्दोलित बनेको छ । प्रमुख प्रतिपक्ष कांग्रेसले विरोधका कार्यक्रम सुरु गरिसकेको छ । अपराधी पत्ता लगाउन नसकेको भन्दै सत्तारूढ दलभित्रबाटै सरकारको विरोध हुन थालेको छ ।

त्यस्तै, ‘निर्मलाको लागि न्याय अभियान’ ले निर्मलाको बलात्कारी तथा हत्यारालाई तुरुन्त पक्राउ गरी कारबाही गर्न सरकारसमक्ष माग गरेको छ । राजधानीमा पत्रकार सम्मलेन गर्दै अभियानले सरकारले अनुसन्धानको नाममा जनताको आँखामा छारो हालिरहेको आरोप लगाएको छ । निर्मला हत्याको ७१ दिन बितिसक्दा पनि अनुसन्धानको प्रतिवेदन सार्वजनिक नगरिएकोमा अभियानले सरकारप्रति गम्भीर आक्रोश पोखेको छ ।

आधा दर्जन निर्दोष मानिसलाई पक्राउ गरेर यातना दिएको तथा वास्तविक अपराधीलार्ई सरकारले संरक्षण गरिरहेको पनि अभियानले आरोप लगाएको छ । प्रहरीदेखि मन्त्रालयस्तरसम्मका पाँच वटा छानबिन समिति बनाउँदा पनि समितिको प्रतिवेदन आजसम्म सार्वजनिक नगरेकोमा अभियानले आपत्ति जनाएको हो ।

कार्यक्रममा बोल्दै अधिकारकर्मी शारदा चन्दले ‘अहिले महेन्द्रनगरमा के भइरहेको छ ?’ भनेर सरकारलाई प्रश्न गरिन् । शान्तिपूर्ण आन्दोलनको क्रममा एक नागरिकको अनाहकमा ज्यान गएकोेप्रति दुःख व्यक्त गर्दै उनले अब पनि सरकारले वास्तविक अपराधीलाई सार्वजनिक नगरे हजारौँ आमाहरू ज्यान दिन तयार रहेको बताइन् ।

उनले भनिन्, ‘घाइतेको जीवन रक्षाको मागसहित उनको जीवनको ग्यारेन्टीको पनि माग गर्दछु । अनुसन्धानको क्रममा हामीमाथि विभिन्न धम्कीहरू आइरहेका छन् । त्यसप्रति सरकारको ध्यानाकर्षण गराउँछु ।’

राज्यले नयाँ नेतृत्वको प्रहरी टोली कञ्चनपुरमा खटाए पनि यो सबै नाटक मात्र भएको उनले आरोप लगाइन् । प्रहरी प्रशासन त बजारमा घुमिरहने पागलको खोजीमा मात्रै लागेको पनि उनले जनाइन् । ‘आइमाई मानिसलाई देख्नेबित्तिकै लुगा खोल्ने’ हुँदै नभएको पागलको खोजीमा कञ्चनपुर प्रहरी लागेको उनको आरोप छ ।

निर्मला पन्तबारे प्रधानमन्त्रीले वेला–वेला दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले प्रधानमन्त्रीको शब्दले पीडित परिवारमाथि थप पीडा थपेको जनाइन् । उनले नयाँ डिआइजीले निर्मलाको आमा–बुबालाई नभेटेकोप्रति पनि आपत्ति जनाइन् ।

चन्दले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति राज्यको अभिभावकको रूपमा नरहेकोसमेत बताइन् । उनले भनिन्, ‘के अमेरिका, चीन वा भारतका प्रधानमन्त्रीले आएर निर्मलामाथि अन्याय गरे त ? होइन भने किन अपराधी पत्ता लाग्दैन ?’ आजसम्म भएका घटनाको छानबिनको प्रतिवेदन सार्वजनिक नगरिनु, राष्ट्रिय मानवअधिकारको प्रतिवेदन लुकाइनु आदि घटनाले राज्यले कुनचाहिँ भिभिआइपी अपराधी हो भन्ने शंका उब्जिएको भन्दै उनले सत्य–तथ्य बाहिर ल्याउन आग्रह गरिन् ।

अभियानले निर्मला बलात्कार तथा हत्याकाण्डको सुरु अनुसन्धानको नेतृत्व गर्ने एसपी डिल्लीराज विष्टलगायतका अनुसन्धान टिमलाई विभागीय कारबाहीमा मात्र सीमित नराखी फौजदारी कानुनको दायरामा तत्काल ल्याउनसमेत माग गरेको छ । महिलाविरुद्व हुने सम्पूर्ण अपराधका सम्बन्धमा सरकारको तर्फबाट बहस पैरवी गर्ने विशेषज्ञ सरकारी वकिलको व्यवस्था गर्न अभियानले माग गरेको छ ।

प्रतिक्रिया