विश्व

भारत र रुसबीच अर्बौंको हतियार सम्झौता

एजेन्सी २०७५ असोज १८ गते ८:१६ मा प्रकाशित

मस्को । यहाँका अधिकारीहरूले राष्ट्रपति भ्लादिमिर पुटिनले यो साता भारतको भ्रमण गर्दा भारतसँग पाँच अर्ब डलरको हातहतियारसम्बन्धी सम्झौता गर्ने बताएका छन् ।

क्रेमलिनका प्रवक्ता युरी उसाकोफले रुसले भारतलाई ‘एस–४००’ नामक विमानभेदक क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली आपूर्ति गर्ने सहमति जनाएको बताएका छन् । विश्लेषकहरूका अनुसार सो सम्झौताअन्तर्गत ३० वटा क्षेप्यास्त्र प्रहार गर्ने प्रणाली तथा ६ हजारवटा क्षेप्यास्त्र तीन वर्ष लगाएर आपूर्ति गरिनेछ ।

ती अस्त्र भारतले चीन तथा पाकिस्तानसँगको उसको सीमाक्षेत्रमा तैनाथ गर्न सक्नेछ । यो सम्झौताले रुसविरुद्ध अमेरिकी प्रतिबन्धमा भारतको स्थान के हो भन्ने वासिंगटनको चिन्ता बढाउने ठानिएको छ ।

खासगरी, रुससँगको अस्त्रको निर्भरता भारतले घटाउँदै लगेको अमेरिका हेर्न चाहन्छ । बढ्दो तनावका माझ रुस र अमेरिकाबीचको सम्बन्ध खराब बनिरहेको छ । साथै, अमेरिकाले सन् २०१७ मा पारित गरेको क्याटसा नामक कानुनले अन्य देशहरूलाई रुसी अस्त्र किन्नबाट निरुत्साहित गर्छ र किनेमा त्यस्ता देशविरुद्ध पनि आर्थिक प्रतिबन्ध लगाउन सक्छ ।

तर, भारत र रुसबीचको सम्बन्ध पनि निकै पुरानो हो । भारत स्वतन्त्र भए यतादेखि नै दिल्ली र तत्कालीन सोभियत संघबीच गहिरो मित्रता रहँदै आएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय