भिर मौरीको मह संकलनमा समस्या

बझाङ । उचित स्रोत साधनको अभावका कारण सुदूरपश्चिमका उच्च पहाडी जिल्लामा पाइने भिर मौरीको मह संकलन गर्न समस्या भएको छ ।

घारविना अग्लो भिरमा आफैँ गोला बनाएर बस्ने भिर मौरीको मह निकाल्ने उचित औजार तथा साम्रगीको अभावमा खेर गइरहेको स्थानीयवासी बताउँछन् । घर मौरीको तुलनामा भिर मौरी निकै नै बढी संख्यामा हुने भएकाले मह पनि उत्तिकै बढी मात्रामा हुने देखिन्छ । अग्लो भिरमा तथा अग्ला रुखहरूमा बस्ने भिर मौरीको मह संकलन गर्दा निकै नै जोखिम खेप्नुपर्ने बताइन्छ ।

घरमौरी पालन गर्दा निकै मिहिनेत गर्नुपर्ने देखिए पनि भिर मौरी भने सहज रूपमा आपैmँ गोला बनाएर बस्छन् । घर मौरीलाई घारको आवश्यकता पर्दछ भने भिर मौरीलाई घार नै चाहिँदैन । बझाङको साइपाल, तलकोट, गाउँपालिका र बुङगलल नगरपालिका क्षेत्रमा भिर मौरी अधिक मात्रामा पाइन्छन् ।

विषेश गरी औषधिको रूपमा प्रयोग हुने भिर मौरीको मह प्रतिकिलो एक हजारका दरले बिक्री वितरण हुने गर्दछ । यस वर्ष मात्र जिल्लाको साइपाल गाउँपालिकामा करिब पाँच क्विन्टल मह संकलन भएको छ । मह निकाल्ने साधनको अभावमा भिर मौरीको कतिपय मह चुहिएर भुइँमा नष्ट हुने गरेको साइपाल गाउँपालिका–३ का स्थानीय गोरख बोहराले जानकारी दिए ।

लाखौँको संख्यमा भिर मौरीले बनाएको मह संकलन गर्दा मौरीको टोकाइबाट घाइते हुनुपर्नेसमेत उनले बताए । मौरीको टोकाइपछि ज्वरो आउने र टोकेको ठाउँमा सुनिने गर्छ । यसरी सुनिएको भाग करिब हप्ता दिनपछि मात्र आफैँ निको हुने गरेको स्थानीय बताउँछन् ।

अग्ला रुख तथा पहाडमा रहेकोे भिर मौरीको मह निकाल्ने क्रममा लडेर प्रत्येक वर्ष दुई-चार जनाले ज्यान गुमाउनुपरेको बताइन्छ । भिरमा रहेको भिर मौरीको मह निकाल्न डोरी र स्थानीय स्तरमा नै निगालाबाट बनाइएका डोकाको भरमा काम गर्नुपर्ने देखिन्छ ।

हाल यहाँका बासिन्दाले भिरमाथि खम्बा गाडेर जसमा डोरीबाँधी सोही डोरी आफनो कम्मरमा कसी भिरको मह निकाल्ने गरेको भएता पनि सो प्रक्रिया भने निकै जोखिम रहेको जनाइन्छ । जिल्लामा संकलन गरेको भिर मौरीको मह यहाँका स्थानीय बजारमा उपलब्ध हुँदै आएको छ ।

कतिपय मह धनगढी, महेन्द्रनगरजस्ता तराईका जिल्लामा समेत निर्यात हुने गरेको देखिन्छ । मह संकलन गर्नका लागि आवश्यक साधन प्लास्टिक ड्रेस, मास्क, पन्जा, डोरी, भर्याङ लगायतका सामग्रीहरू उपलब्ध भए यस क्षेत्रमा अधिक मात्रामा भिर मौरीको मह संकलन गर्न सकिने अनुमान गर्न सकिन्छ ।

यसरी संकलन गरेको मह देश विदेशमा निर्यात गर्नसके स्थानीयको आर्थिक अवस्था माथि उठ्ने देखिन्छ । जिल्लास्थित विभिन्न गैरसरकारी कार्यालयहरूले मौरीपालनसम्बन्धी कार्यक्रमहरू सञ्चालनमा ल्याइएका भएता पनि भिर मौरीको मह संकलन गर्ने काममा भने ध्यान नदिएको पाइन्छ ।

प्रतिक्रिया