ट्रक चोरीको आरोपमा एक पक्राउ

झापा । इलाका प्रहरी कार्यालय बिर्तामोडले तीन वटा ट्रक चोरी गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर साविक लालीखर्क गाउँ विकास समिति–३ हाल फिदिम नगरपालिका–३ बस्ने १९ वर्षीय रोशन श्रेष्ठ छन् ।

कवाडी पसल तथा ग्यारेजमा बिक्री गरी आर्थिक लाभ लिने उद्देश्यले श्रेष्ठले ट्रक चोरी गरेको प्रहरीको भनाइ छ । चोरी भएका तीन वटै ट्रक फेला पारिएको पनि इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

गत ३० भदौको राती बिर्तामोड नगरपालिका–५ स्थित हर्कलाल मार्गमा पार्किङ गरी राखेको सुजन श्रेष्ठको ना५ख ४९८६ नम्बरको फुलबडी ट्रक चोरी भएको थियो । त्यस लगत्तै २ असोज राती बिर्तामोड नगरपालिका–५ स्थित एङ्ग्री वोइ होटल छेउमा पार्किङ गरी राखको दिलकुमार श्रेष्ठको ना२ख ५०८१ नम्बरको फुलबडी ट्रक पनि चोरी भएको उजुरी प्रहरीमा परेको थियो ।

घटना सेलाउन नपाउँदै ९ असोजमा रातको समयमा बिर्तामोड नगरपालिका–५ स्थित सुगम पेट्रोलपम्प नजिकमा पार्किङ गरी राखेको मे१ख २६३८ नम्बरको जेनिस भट्टराईको ट्रकसमेत चोरी भएको थियो ।

चोरी भएका ट्रकहरू मध्ये ना५ख ४९८६ नम्बरको ट्रक बिर्तामोड–५ बाट नै बरामद भएको थियो । ना२ख ५०८१ नम्बरको ट्रक सुनसरीको इटहरी तथा मे१ख २६३८ नम्बरको ट्रक पर्साको वीरगञ्जबाट बरामद भएको प्रहरीले जनाएको छ ।

ट्रक चोरी गर्ने मानिसको खोजतलास गर्ने क्रममा रोशन श्रेष्ठले चोरी गरी लगेको भन्ने स्पष्ट भएका कारण उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी प्रमुख डिएसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए । श्रेष्ठलाई प्रहरीले १४ असोजको बेलुका बिर्तामोड नगरपालिका–५ मा लुकीछिपी बसेको सुराक पाएपछि पक्राउ गरेको हो ।

यसैबीच, घर तथा पसलमा चोरीको प्रयास गर्ने अन्य दुई जनालाई पनि बिर्तामोड प्रहरीले पक्राउ गरेको छ । चाडपर्वका लागि विशेष सुरक्षा योजना बनाई गस्ती पेट्रोलिङमा परिचालन गरिएकोमा प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

गस्ती गर्दै जाने क्रममा १४ असोज राती साढे १२ बजे बिर्तामोड नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्ग आसपासका विभिन्न घर, दोकान तथा घुम्ती पसलहरूका सामानहरू चोरी गर्ने उद्देश्यले मानिसहरूको घरपसलमा अनधिकृत रूपमा प्रवेश गर्दै गरेको अवस्थामा झापा गौरीगञ्ज–५ का १९ वर्षीय ओमप्रकाश यादव र बिर्तामोड–५ का सोही उमेरका सुरज राजबंशीलाई पक्राउ गरिएको कोइरालाले बताए ।

उनीहरूलाई मुलुकी फौजदारी अपराध संहिता ऐन २०७४ को परिच्छेद ५ अन्तर्गत सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर दफा १ सय १८ बमोजिम थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया