भारत ‘ट्यारिफ किङ’ हो

वासिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत अमेरिकासँग तत्काल व्यापार वार्ता गर्न उत्सुक भएको बताएका छन् ।

भारतलाई ‘ट्यारिफ किङ’ अर्थात् विदेशी आयातमा चर्को कर लगाउने देशको संज्ञा दिँदै उनले भारतीय अधिकारीहरू उनलाई खुसी पार्न चाँडै व्यापार वार्ता गर्न इच्छुक भएको बताए । उनको भनाइबारे दिल्लीले प्रतिक्रिया जनाइसकेको छैन ।

आफूले पनि भारतले तुरुन्तै अमेरिकासँग वार्ता गरोस् भन्ने चाहेको ट्रम्पले बताए । उनले अमेरिकी मोटरसाइकल हार्ले डेभिडसनको उदाहरण दिँदै भारतले तिनको आयातमा शत प्रतिशत कर लगाएकोबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी गर्दा यसअघि कुनै अमेरिकीले यसबारे कुरा नगरेको जनाएको बताए ।

साथै, तिनको आयात कर कम गर्न वाचासमेत गरेको ट्रम्पले बताए । सो कुराकानीपछि भारतले सो मोटरसाइकलमा लगाइएको कर केही कम गरे पनि त्यो पर्याप्त नभएको उनले टिप्पणी गरे । यसअघि पनि ट्रम्प प्रशासनले अमेरिकी उत्पादनमाथि भारतले ज्यादा आयात शुल्क लगाएको गुनासो गरेका थिए ।

केही दिनयता मात्रै ट्रम्पले भारतमाथि यस्तो आरोप दुइपटक लगाइसके । साथै, उनले अमेरिका भित्रिने भारतीय उत्पादनमा पनि चर्को आयात शुल्क लगाउने धम्की दिएका छन् । भारत र अमेरिकाबीचको व्यापारमा रहेको ‘खाडल’ कम गर्न भारतमाथि लगातार दबाब परिरहेको छ । हाल दुई देशबीचको व्यापार अन्तर झन्डै २५ अर्ब डलर छ ।

प्रतिक्रिया