दसैँअगाडि नै सहकारी ऐनः लामा

चितवन । प्रदेश–३ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दाबादोर्जे लामाले दसैँअगाडि नै सहकारी ऐन जारी गर्ने बताएका छन् ।

संघीय सरकारले सहकारी ऐन जारी गरेको भए पनि प्रदेशको लागि छुट्टै सहकारी ऐनको मस्यौदा तयार पारेर छलफल भइरहेको लामाले बताए ।

मंगलबार नारायणगढमा आयोजना गरिएको वचत तथा ऋण सहकारी संस्थाहरूमा सहकारी ऐन नियमावली तथा कोषहरूको विषयमा प्रदेशस्तरीय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै लामाले सहकारी ऐन जारी भएपछि सहकारीले उत्पादनमूलक काममा लगानी गर्न पाउने बताए । सहकारी ऐन सदनमा पास भएको दिनदेखि मुलुकमा निर्माणमा हुने सबै काममा सरकारसँग सहभागी भएर सहकारीले काम गर्न पाउने लामाले बताए ।

सहकारीले सदस्यलाई ऋण दिएर ब्याज मात्रै खाने परिपाटीको अन्त्य गर्दै उत्पादनमूलक काममा सहकारीलाई सहभागी गराउने ऐन निर्माण भएको लामाको भनाइ छ । सहकारी ऐन निर्माण गर्दा पनि केही छुट्न सक्छ कि भनेर सहकारी विकास बोर्ड गठन गर्ने तयारी भएको लामाले बताए ।

गोष्ठीमा प्रदेश–३ का १२ जिल्लाका वचत तथा ऋण सहकारी संघका अध्यक्ष तथा प्रतिनिधिलगायत विभिन्न सहकारीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

गोष्ठीका क्रममा सहकारीकर्मीहरूले संघीय ऐनले सहकारीलाई दिएको सम्पूर्ण ऐन प्रदेश ऐनले समेत दिने गरी गठन गर्नुपर्ने बताए । बचत तथा ऋण सहकारी संस्थाहरूका लागि छुट्टै ऐन हुनुपर्ने भन्दै सहकारीकर्मीहरूले सहकारीको ऋणमा युवालाई दिइने छुटमा प्रदेश ऐनले व्यवस्था गर्नुपर्ने बताए । गोष्ठीका क्रममा विभिन्न व्यक्तिहरूले सहकारीसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रदेशसभा सदस्यहरू घनश्याम दाहाल, पार्वती सिलवाल, गीता वाग्ले, रिना गुरुङले पुँजी एकत्रित गरेर मात्रै मुलुकको विकास गर्न सकिने बताए । एउटै प्रकृतिका सहकारी मध्ये एउटामा सदस्य भएको व्यक्तिलाई अन्य सहकारीमा सदस्यता प्रदान गर्न नहुने उनीहरूको भनाइ थियो । सहकारी ऐन जारी भएपछि राष्ट्रिय गौरवको आयोजनासमेत सहकारीले लगानी गर्न पाउने बताइएको छ ।

नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का अध्यक्ष डिबी बस्नेतले मुलुकमा रहेका १४ हजार वचत तथा ऋण सहकारीमध्ये आठ हजार वचत तथा ऋण सहकारी संस्थाहरू प्रदेश–३ मा मात्रै रहेको बताए । प्रदेश–३ मा मात्रै मुलुकभरि भएका वचत तथा ऋण सहकारी संस्था मध्ये ५० प्रतिशतभन्दा बढी कारोबार हुने गरेको बस्नेतको भनाइ थियो ।

चितवन जिल्ला वचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष तेजेन्द्रबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रमको आयोजना नेफ्स्कुन, चितवन जिल्ला वचत तथा ऋण सहकारी संघ र सहकारी विभागले गरेका हुन् ।

प्रतिक्रिया