कार्यालय नै आउदैनन् वडाध्यक्ष

रौतहट । गुजरा नगरपालिका–५ का वडाध्यक्ष वडा कार्यालय नआउँदा सेवाग्राही मारमा परेका छन् । वडाध्यक्ष मोहम्मद अरिफ मियादर्जी दुई सातादेखि कार्यालय नआउँदा स्थानीयले कुनै सेवा लिन पाएका छैनन् । कार्यालयमा वडाध्यक्ष नहुँदा विभिन्न सिफारिस हुन सकेका छैनन् ।

नागरिकता, जन्मदर्ता, मृत्युदर्ता, विवाहदर्ता, चार किल्ला प्रमाणित, वृद्धभत्ता, राहदानी सिफारिसलगायत विभिन्न सिफारिस लिन वडा कार्यालय पुग्ने सेवाग्राही निराश भएर फर्कने गरेका छन् ।

सेवाग्राही हरेक दिन कार्यालयमा आएर फर्कने गरेको स्थानीय शेख बर्जुद्धिन आलमले बताए । आक्रोशित स्थानीय ठोस निकासका लागि नगरपालिका तथा जिल्ला प्रशासन कार्यालयमा डेलिगेसनको तयारीमा रहेको आलमले बताए ।

वडाध्यक्षको अनुपस्थितिले सिंगो वडा नै अनिर्णयको बन्दी बनेको सोही वडाका वडासदस्य शेख जर्निलेले गुनासो गरे । उनले भने, ‘१८ गते हुने नगरपरिषद्का लागि वडाको तर्फबाट तयार गर्नुपर्ने नीति तथा कार्यक्रम एवं विकासको योजना पनि तयार हुन सकेको छैन ।

जसले गर्दा वडाको विकास निर्माण प्रभावित हुने निश्चित छ ।’ जनताको गुनासो आइरहेको छ । वडाध्यक्ष दर्जीले यसअघि पनि वडा सदस्यसँग सल्लाह नै नगरी वडाका हरेक निर्णय एकलौटी ढंगले गर्ने गरेको आरोप पनि जर्निलले लगाए ।

प्रलोभनमा परेर एक व्यक्तिको नामको नागरिकताको सिफारिस अर्को व्यक्तिलाई दिएको विषयमा पीडितले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि पक्राउ पर्ने डरले फरार रहेका छन् । उनीसँगै वडासचिव इमारन आलम पनि फरार रहेकाले झनै ठूलो समस्या परेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका मुद्दा फाँटका प्रहरी निरीक्षक उदयभान द्विवेदीले बिहे नगरेको महिलाको नाममा बिहे दर्ता गरेको र किर्ते नागरिकता सिफारिस गरेको आरोपमा प्रहरीले उनीमाथि अनुसन्धान गर्न खोजी गरिरहेको जानकारी दिएका छन् ।

दर्जीमाथि झुटा प्रमाण पेस गरेको र किर्ते कागजको आधारमा नागरिकताको लागि सिफारिस गरेको मुद्दा चलाएर जिल्ला अदालतबाट पक्राउपुर्जी जारी गरी अनुसन्धान गरिरहेको उनले बताए ।

उनले प्रहरीले सोही आरोपमा आरोपित महिला मधुकुमार साहको बुबा शम्भु साहलाई पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिहेको बताउँदै दर्जीलाई पक्राउ गर्न सम्बन्धित प्रहरी कार्यालयमा पत्राचार गरिसकेको जनाए ।

वडाध्यक्ष दर्जीलाई कार्यालयमा उपस्थित गराउन जिल्ला प्रहरी कार्यालयबाट नगरपालिकामा पत्र आएको सो नगरपालिकाका नगरप्रमुख सन्तलाल चौधरीले जानकारी दिए । ‘कागजात किर्ते गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयमा उपस्थित हुन भनेर वडाध्यक्ष दर्जीको नाममा पत्र आएको छ’, उनले भने, ‘तर, वडाध्यक्ष कहाँ छन् कसैलाई थाहा छैन ।’

उनले आफुले दर्जीसँग पटकपटक सम्पर्क गर्न खोजेको तर सम्पर्क हुन नसकेको बताउँदै यसको विकल्पमा के गर्न सकिन्छ कानुनी सल्लाह लिएर कानुनअनुसार अगाडि बढ्ने धारणा राखे । दर्जीले कार्यालय आउन छाडेको केही दिनपछि आफ्ना एक सहयोगीमार्फत उपचारका लागि सात दिनको बिदाको निवेदन नगरपालिकामा पठाएको जानकारी नगरप्रमुख चौधरीले दिए । उनले नगरप्रमुखको हैसियतमा ठोस निकासका लागि चाँडै केही न केही निर्णय लिने प्रतिवद्धता गरे ।

यसबारेमा वडाध्यक्षदर्जीसँग बुझ्दा उनले आफू बिरामी भएर उपचारका लागि गएको बताए । उनी आफ्नो विरुद्ध मेयर चौधरीलगायत विपक्षीहरूका लागिपरेको बताउँदै आफू कतै फरार नभएको बताए । उनले कार्य सम्पादन नरोकियोस् भनेर महिला वडा सदस्य मुलखातुन धोबीलाई कार्यवाहक दिएर गएको त्यसपछि के भएको आफूलाई जानकारी नभएको बताए ।

उनले आफू अब एक÷दुई दिनमै वडामा गएर नेतृत्व सम्हाल्ने बताउँदै वडा र वडावासीको हितमा आफू सदैव लागिपरेको बताए । उनीमाथि लागेको किर्ते नागरिकता र विवाह दर्ताकोे बारेमा प्रश्नगर्दा उनले सो महिलालाई आपूmले सिफारिस दिएको स्वीकारे ।

‘आवश्यक सम्पूर्ण कागजात हेरेर पूरा भएपछि मैले सिफारिस दिएको हुँ’, उनले भने, ‘मैलै कागजात पूरा भएको आधारमा सिफारिस दिएको हुँ । जुन प्रलोभनमा परेर सिफारिस दिएको भन्ने आरोप छ त्यो सरासर निराधार हो ।

त्यसमा कुनै सत्यता छैन् ।’ आफू कानुनबाट कहिले पनि फरार नरहेको दाबी गर्दै उनले यसै मुद्दाको सिलसिलामा पटकपटक जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयमा तारिख धाइरहेको पनि बताए । उनले भने, ‘म कानुनको सम्मान गर्छु र यस मुद्दाको सिलसिलामा प्रहरी प्रशासनलाई आवश्यक सहयोग गर्न म तयार छुँ ।’

प्रतिक्रिया