वर्षामा पनि खानेपानीको अभाव

सल्यान । सुक्खायाममा पानीको अभाव सामान्य भए पनि वर्षायाममा समेत पानीको अभाव हुनु दुःखको कुरा हो । वर्षात्को समयमा पनि बन्गाड कुपिन्डेको सदरमुकाम सल्लीबजारका मानिस खानेपानीको अभाव झेलिरहेका छन् ।

वर्षाको कारणले मूल फुटेर जताततै पानी हुनुपर्नेमा यस क्षेत्रमा भने खानेपानीको अभाव भएको स्थानीय बताउँछन् । स्थानीय व्यापारी गणेश बुढाले यहाँका स्थानीयले प्रतिघर ३० लिटरका दरले पानी उपयोग गर्नुपरेको दुःखेसोे सुनाए ।

वर्षायाममा पनि बजारवासीले पानीको चरम संकट बेहोरिरहेका बुढाले बताए । गतवर्ष मात्रै सल्लीबजारका स्थानीय व्यापारीले ४० लाखभन्दा बढी कर नगरपालिकामा तिरेका छन् ।

कामको जिम्मा लिएका व्यक्तिले नै त्रुटिपूर्ण कार्य गरेको, इनारको गहिराइ कम खनेको, कमसल खालको मोटर प्रयोग गरेका कारण इनारबाट पानी आउन नसकेको प्राविधिक तथा स्थानीयको दाबी छ

सल्लीबजारको लिफ्ट खानेपानीको पाँच करोडभन्दा बढीको आयोजना समिति विवादका कारण ओझेलमा परेको छ । सो खानेपानी आयोजनाको रकम उपभोक्ता समिति विवादले गर्दा काम नहुने छाँटकाँटमा पुगेको स्थानीयको भनाइ छ ।

तत्कालका लागि इनार सिस्टमबाट पानी तान्नका लागि नगरपालिकाले ३ लाख ५० हजार खर्च गरेको भए पनि सो काम सफल हुन नसकेको देखिन्छ । बजारमा आपूर्ति भएको पुरानो खानेपानीको पाइपलाइन मर्मतमा समेत नगरले ७० हजार खर्चेको छ ।

सो कामसमेत राम्रोसँग नहुँदा मुहानको पानी हाल आएर बन्द रहेपछि ७० हजार कहाँ र कसरी खर्च भएको हो भनेर आमनागरिकले चासो व्यक्त गर्न थालेको एक स्थानीयले बताए ।

प्राविधिक कारण र अपुग बजेटले इनारबाट पानी आउन नसकेको बजार व्यवस्थापन समिति तथा कामको जिम्मा लिएको उपभोक्ता समितिका अध्यक्ष शिव वलीले बताए । प्राविधिकले त्रुटिपूर्ण इस्टमेट बनाएर रकम अपुग भएकाले सो आयोजना असफल भएको वलीको भनाइ छ ।

यता, नगरका प्राविधिकहरूले भने ७० हजार रकमले यहाँका स्थानीयले इनारबाट पानी तानेर उपयोग गरिरहेको र २ लाख ८० हजार रकमले तीन वटा मोटरबाट पुरानै ट्यांकीमा पानी खसाउन सकिने गरी इस्टमेट तयार गरेको दाबी गरिरहेका छन् ।

बजार व्यवस्थापन समितिका अध्यक्ष वलीले भने नगरले २ लाख ७ हजार मात्रै रकम निकासा गरेको र आफ्नो व्यक्तिगत ८० हजार खर्च भएको बताएका छन् । कामको जिम्मा लिएका व्यक्तिले नै त्रुटिपूर्ण कार्य गरेको, इनारको गहिराइ कम खनेको, कमसल खालको मोटर प्रयोग गरेका कारण इनारबाट पानी आउन नसकेको प्राविधिक तथा स्थानीयको दाबी छ ।

नगरले बजारवासीको मागलाई तत्काल मध्यनजर गरेरै छोटै समयका लागि भनेर बजेट विनियोजन गरेको थियो । तर, इनारबाट पानी नआउँदा कामले सार्थकता पाउन नसकी अलपत्र अवस्थामा रहेको छ । काम अलपत्र रहे पनि नगरपालिकाले कामको जिम्मा लिएका बजार व्यवस्थापन समितिका अध्यक्ष वलीलाई भने २ लाख ७ हजार भुक्तानी दिइसकेको छ ।

बजारमा पानीको अभाव भएपछि समितिले अलपत्र पारेर छाडेको इनारबाट स्थानीयको पहलमा पुरानो ट्यांकीमा पानी तान्ने काम भइरहेको स्थानीय पुस्कर विकले बताए ।

यता, नगरप्रमुख गोविन्द पुनले खानेपानीको काम कुन डिभिजनले हेर्ने भन्ने टुंगो नलागेकाले समिति बनाएर पनि कामको सुरुआत गर्न नसकिएको बताएका छन् । उनले खानेपानीको कामको स्वीकृति प्रदेशबाट हुने कि डिभिजनबाट हुने भन्ने अन्योलका कारण काम अगाडि बढ्न नसकेको उनले बताए । तर, नगरपालिकाभित्र खानेपानीको आपूर्ति सहजै नभई अभाव भएको विषयमा आपूmलाई कुनै जानकारी नभएको उनले बताए ।

प्रतिक्रिया