माल्दिभ्समा प्रजातन्त्र पुनस्र्थापनाको चर्चा

माल्दिभ्समा राष्ट्रपति पदका लागि भएको निर्वाचनमा त्यहाँको विपक्षी राजनीतिक दलका नेता इब्राहिम मोहमद सोलिह ५८ दशमलव ३ प्रतिशत मत प्राप्त गरी विजयी भएका छन् । उनको यो विजयलाई भारत र अमेरिकाले माल्दिभ्समा पुनःप्रजातन्त्र आएको टिप्पणी गरेका छन् ।

केही वर्षयतादेखि यहाँ प्रजातन्त्रका लागि भन्दै आन्दोलन र अभियानहरू सञ्चालनमा थिए । त्यहाँका वर्तमान राष्ट्रपतिले निर्वाचित पूर्व–राष्ट्रपतिलाई नै जेल हाल्ने तथा निर्वासनमा पठाउने गरेकाले प्रजातन्त्र प्राप्तिको आन्दोलन जारी रहेको बताइएको थियो । माल्दिभ्समा इब्राहिमको जितलाई भारतले आफ्नो समर्थकको विजयका रूपमा लिएको बताइएको छ ।

राष्ट्रपतिको शपथग्रहणमा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आमन्त्रण गरिएको छ । उनले सहभागिताको बारेमा कुनै औपचारिक जानकारी नगराए पनि उनी उपस्थित हुने अपेक्षा गरिएको अधिकारी बताउँछन् । प्रजातन्त्र आफ्नै हातमा लिई शक्तिको केन्द्रका रूपमा शासन सञ्चालन गरिरहेको भनिएका वर्तमान राष्ट्रपति अब्दुल्ला यामिन आश्चर्यजनक रूपमा पराजित भएका थिए ।

अनौपचारिक रूपमा सार्वजनिक भएको चुनावी मत परिणामअनुसार इब्राहिम अग्रस्थानले विजय हासिल गरेका हुन् । यस निर्वाचन परिणामले सत्तामा पुगेपछि अब कहिले पनि निक्लिनु पर्दैन जस्तो ठान्ने विश्वका कैयौँ नेतालाई नयाँ पाठ सिकाएको छ ।

आफ्ना प्रमुख प्रतिद्वन्द्वी पूर्वराष्ट्रपति मोहम्मद नसिद नै निर्वासनमा रहेको अवस्थामा पनि यामिनको यसप्रकारको हार हुनुलाई आश्चर्यजनक परिणामका रूपमा लिइएको छ । यहाँ केही वर्षयताका निर्वाचनमा निकै विवादहरू बाहिर आउने गरेका थिए ।

विश्व समुदायले पनि आमनिर्वाचनको परिणाम घोषणा भएलगत्तै त्यसलाई मान्यता दिने कि नदिने भन्ने विवाद गर्ने गर्दथे । तर, यसपटक भने जनताले चुनेको यो परिणामलाई विश्व समुदायले नै स्वीकार गरेको छ । उनीहरूले निर्वाचनको परिणामलाई निष्पक्ष रूपमा आएको भनेका छन् ।

निर्वाचनको नतिजा चाँडै सार्वजनिक गर्ने बताएको माल्दिभ्सको निर्वाचन आयोगले राष्ट्रपतिय उम्मेदवारका रूपमा इब्राहिम विजयी हुनुभएको जानकारी अवगत गराएको छ । औपचारिक नतिजा सार्वजनिक गर्न ढिलाई नहुने सरकारी अधिकारीहरूले जानकारी दिएका थिए ।

सत्तारुढ दल प्रोगे्रसिभ पार्टी अफ मालदिभ्स (पिपिएम) ले विरोधका केही स्वरहरू उठाएको भए पनि औपचारिक नतिजा सार्वजनिक हुन ढिला नहुने आयोगका अधिकारीहरूको भनाइ छ ।  मुलुकको निर्वाचन कानुनमा सात दिनभित्रमा निर्वाचन आयोगले अन्तिम नतिजा सार्वजनिक गर्ने व्यवस्था रहेको छ ।

पिपिएमको तर्फबाट केही टिप्पणी आएको प्रमुख निर्वाचन आयुक्त अहमद सरिफले पनि पुष्टी गरेका छन् । ती टिप्पणीलाई हेरेर उपयुक्त निर्णय लिने सरिफले स्पष्ट पारिसकेका छन् । क्षेत्रफलको हिसाबले दक्षिण एसियाको सबैभन्दा सानो तथा केही वर्षअघिसम्म राजनीतिक स्थिरता रहेको मानिने माल्दिभ्समा ६ वर्षयता बारम्बार संकटकालको घोषणा गर्ने र राजनीतिक संकट दोहोरिने गरेको छ ।

हाल सत्तामा रहेका राष्ट्रपति अब्दुल्लाह यामिनले पूर्वराष्ट्रपति मोहम्मद नसिद र पूर्वउपराष्ट्रपति अहमद अदिबलाई जेलहाली शासन गरे पनि आखिरमा हारको सामना गर्नुपरेको छ । आफू पुनः सत्तामै रहन चाहेका यामिनबाट जनताको चाहनालाई सम्मान गर्दै सत्ताको शान्तिपूर्ण र सहज हस्तान्तरणका लागि नवनियुक्त राष्ट्रपति सोलिहले अपेक्षा व्यक्त गरेका छन् ।

तर, यामिनले पनि आफ्नो हार भने स्वीकार गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बारम्बार समाचार सम्प्रेषण गरिरहेका छन् । पूर्व–राष्ट्रपतिसमेत रहेका एमडिपीका अध्यक्ष मोहमद नसिदले यो मतदानले मुलुकलाई पुनः लोकतान्त्रिक मार्गमा ल्याउने विश्वास व्यक्त गरेका छन् ।

राष्ट्रपति यामिनले हार स्वीकार्नुबाहेक यामिनसँग अर्को विकल्प नरहेको प्रस्ट पारेका छन् । मोहमद नसिद हाल निर्वासनमा रहेका छन् । सन् २०१२ मा त्यहाँका पूर्व–राष्ट्रपति नसिदलाई १३ वर्षको जेल सजाय सुनाइएपछि नै माल्दिभ्समा विवाद सुरु भएको थियो ।

माल्दिभ्सको एक फौजदारी अदालतले आतंकवादीको आरोप लगाउँदै प्रजातान्त्रिक दलका नेता र पूर्व–राष्ट्रपति मोहमद नसिदलाई १३ वर्ष कारावासको सजाय सुनाएको थियो । पूर्व–राष्ट्रपति नसिद सन् २००८ मा भएकोे निर्वाचनमा माल्दिभ्सको राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

सन् २००८ को नोभेम्बरमा मालदिभिएन डेमोक्र्याटिक पार्टीको तर्फबाट निर्वाचन जितेर नसिद पहिलो प्रजातान्त्रिक राष्ट्र«पति बन्न सफल भएका थिए । सन् १९६५ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भई सार्वभौमिकता सम्पन्न माल्दिभ्समा यसलाई नै पहिलो प्रजातान्त्रिक निर्वाचन मानिएको थियो ।

मानवअधिकारवादी र स्वच्छ पत्रकारको छवि बनाइसकेका राजनीतिक कर्मी नसिद पूर्व–राष्ट्रपति मौमुन अब्दुल गैयुमलाई परास्त गरी सत्तामा आएका थिए । हालै सम्पन्न चुनावमा धेरैजसो विपक्षी नेता जेलमा वा निर्वासनमा रहेका कारण सोलिहबाहेक अन्य विपक्षी नेता चुनावी मैदानमा नै थिएनन् ।

यसैकारण पनि वर्तमान राष्ट्रपति अब्दुल्लाह यामिनको जित लगभग निश्चित मानिएको थियो । तर, जनताले यस निश्चितालाई उल्टाइदिएका छन् । पछिल्लो समयमा सरकार र न्यायालयबीचको विवाद यहाँ चरम रूपमा देखिन्छ । गत वर्ष मात्र पनि यही विवादले देशको शासनसत्ता नै उथलपुथल हुनेसम्मको रूप लिएको थियो ।

साधारणतया आन्दोलन एवं विरोध प्रदर्शन कमै हुने गरेको शान्तजस्तो देखिने राजधानी मालेको सडकमा मुलुकको राष्ट्रिय प्रहरी बल नै आन्दोलनमा उत्रियो । प्रहरीले नै राष्ट्रपति नसिदविरुद्ध नै सन् २०१२ मा नाराबाजी र बन्दुक प्रदर्शन गरे । त्यसपछि यहाँको राजनीतिक अस्थिरता सुरु भएको मानिएको छ ।

यसले ठूलो रक्तपात ल्याउने संकेत देखिएपछि राष्ट्रपति नसिदले सन् २०१२ को फेब्रुअरीमा राजीनामा दिएका थिए । त्यस बखत उनको राजीनामाले देशमा ठूलो रक्तपात रोकेको उनको दल, समर्थक एवं विश्व समुदायले विश्लेषण गरेका थिए । करिब तीन सय वर्ग किलोमिटर मात्र क्षेत्रफल रहेको दक्षिण एसियाको सबैभन्दा सानो राष्ट्र माल्दिभ्सको अर्थतन्त्रको प्रमुख स्रोत पर्यटन हो ।

हिन्द महासागरमा रहेको यो देश पर्यटकीय आकर्षक गन्तव्य हो । मधुमास मनाउन जाने विश्वका सम्भ्रान्त जोडीका लागि यहाँका होटल र रिसोर्ट प्रख्यात छन् । मत्स्यपालन यहाँको पर्यटनपछिको दोस्रो ठूलो आयको माध्यम हो । करिब ४ लाख ४६ हजार जनसंख्या रहेको माल्दिभ्स १ लाख नागरिक त राजधानी मालेमा मात्र बस्छन् ।

हालैको यो राष्ट्रपतीय निर्वाचनले यहाँको करिब सात वर्ष पुरानो राजनीतिक अस्थिरताको अन्त्य गरेको अनुमान गरिएको छ । गत वर्ष मात्र पनि त्यहाँका पूर्व–राष्ट्रपति मौमुन अब्दुल गैयुमलाई जेल हालेर राष्ट्रपति यामिनले अर्काे विवादको सुरुआत गरेका थिए ।

तर, त्यो स्थायी र शान्तिपूर्ण बाटो थिएन । इब्राहिम मोहमद सोलिह राष्ट्रपति पदमा विजयी भएसँगै यहाँ राजनीतिक स्थिरता सुरु भएको र पुनः प्रजातन्त्रको आगमन भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया