एनआरटीले आर्मीसँग अंक खोस्यो


काठमाडौं । उपाधिको दाबेदार मानिएको त्रिभुवन आर्मी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको उद्घाटन खेलमा बराबरीमै रोकिएको छ । शनिबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आर्मीलाई एनआरटीले २–२ गोलमा रोक्न सफल भएको हो ।

एनआरटीले जितनजिक पुगेर पनि खेल जोगाउन सकेन । आर्मीले खेलको अन्तिम समयमा गोल गर्दै एनआरटीको चाहना पूरा हुन दिएन । एनआरटीका लागि रोजित पुडासैनी र राजेश परियारले १–१ गोल गरे । आर्मीका दुवै गोल सन्तोष तामाङले गरे ।

खेलको सुरुआतदेखि नै आर्मीले दबाब बनाइए पनि एनआरटी फिनिसिङ उत्कृष्ट रह्यो । निकै रोमाञ्चक बनेको खेलको १२औँ मिनेटमा रोजितले गोल गर्दै एनआरटीलाई सुरुआती अग्रता दिलाएका थिए । दोस्रोपटक मात्र आर्मीको पोस्टमा आक्रमण गरेको एनआरटीले त्यसलाई सफल बनएको थियो ।

निसान लिम्बूको रिबाउन्ड बललाई रोजितले जाली चुमाएका थिए । त्यसपछि पनि आर्मीले लगातार आक्रमण गरेको थियो । तर, खेलमा फर्कन पेनाल्टीकै साहरा लिनुपरेको थियो । एनआरटीका खेलाडीले खेलको ३८औँ मिनेटमा डी बक्समा ह्यान्डबल गरेपछि आर्मीले पेनाल्टीमार्फत खेलमा फर्कने अवसर पाएको थियो ।

जसलाई सदुपयोग गर्दै आर्मीका सन्तोषले आफ्नो टोलीलाई खेलमा फर्काए । त्यो गोलसँगै पहिलो हाफ १–१ गोलको बराबरीमा टुंगियो । दोस्रो हाफमा पनि आर्मीले लगातार आक्रमण बुने पनि सफल हुन सकेन । तर, एनआरटीले फेरि अग्रता लिँदै आर्मीलाई ठूलो झड्का दियो ।

खेलको ६४औँ मिनेटमा राजेशले उत्कृष्ट गोल गर्दै एनआरटीलाई २–१ को अग्रता दिलाए । राजेशले मध्यभागबाट एक्लै बल अघि बढाउँदै ४ डिफेन्डरलाई छक्याएर गोल गरे । खेलमा पछिपरेको आर्मीले लगातार आक्रमण गरे पनि एनआरटीको रक्षापंक्तिलाई तोड्न सकेन ।

त्यससँगै आर्मी खेलको अन्तिम समयसम्म पराजयको मुखमै थियो । तर, खेल सकिन आर्मीलाई भाग्यले साथ दियो । खेलका रेफ्री सुदेश पाण्डेले एनआरटीका गोलरक्षक अजित प्रजापतिले ६ सेकेन्ड होल्ड गरेको भन्दै आर्मीलाई इनडारेक्ट फ्री– किक दिए । त्यसलाई सदुपयोग गर्दै सन्तोषले नै दोस्रोपटक आर्मीलाई खेलमा फर्काए ।

त्यससँगै खेल २–२ को बराबरीमा टुंगियो । एनआरटीका गोलरक्षक अजितले आर्मीका केही गोलको मौकालाई विफल पारिदिएका थिए । उनी नै खेलको म्यान अफ दी म्याच घोषित हुँदा १० हजार नगदर पुरस्कार प्राप्त गरे । लिगअन्तर्गत आइतबार संकटा क्लब र सरस्वती युथ क्लबबीच खेल हुनेछ

प्रतिक्रिया