वरिष्ठ नेतालाई अध्यक्ष ओलीको जवाफ

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र पछिल्लो समय देखिएको विवादप्रति कडा आलोचना गरेका छन् । विशेषगरी, सरकारविरुद्ध र पार्टी नेतृत्वविरुद्ध वरिष्ठ नेता माधवकुमार नेपालले संसद्मा दिएको सरकारविरोधी भाषण र चियापानको नाममा गरिएको भेलाको उनले कडा शब्दमा टिप्पणी गरेका हुन् ।

अमेरिकाको न्युयोर्कमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले कुन्ठा पोख्ने काम बन्द गर्नसमेत नेता नेपाललाई सुझाए । ‘केही मान्छेहरूमा अलिकति कुन्ठा देखिन्छ, त्यो कुन्ठा पोख्नका लागि विभिन्न प्रकारका कुराहरू गरेका छन्,’ ओलीले अगाडि भने, ‘एउटा कृत्रिम परिस्थिति निर्माण गर्न खोजिएको छ, जसको खासै अर्थ केही पनि छैन, सचिवालयको निर्णय बिल्कुल ठीक छ ।’

उनले आफू देशबाहिर अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि उच्च बनाउन लागेका वेला पार्टीभित्रकै एक समूहबाट भइरहेको कामको कटाक्षसहित कडा आलोचना गरे । ‘म दुईचार दिन संयुक्त राष्ट्रसंघतिर आएँ । कतिपय नेताहरूले बोलेको सुनियो, लौन, देश डुब्न लाग्यो, कोही त आऊ, बचाऊ ! म फर्केर गइहाल्छु, त्यसकारण यो ठूलो समस्याको कुरो होइन, म नहुनेबित्तिकै अब कसैलाई अलिकति शून्यता भो, छटपटी भो,’ प्रधानमन्त्री ओलीले भने ।

नेकपाका वरिष्ठ नेता नेपालले प्रदेश कमिटीसम्बन्धी सचिवालयको निर्णयप्रति जनाएको आपत्तिलाई ओलीले ‘असन्तुष्टिका लागि असन्तुष्टि’ मात्र भएको टिप्पणी गरे । उनले नेकपामा अब फलानो गुटको प्रतिनिधि भन्ने दिन सकिएको ठोकुवासमेत गरे ।

‘पार्टीमा फलानो गुटको फलानो प्रतिनिधि, फलानो गुटको फलानो प्रतिनिधि हैन, योग्यता, क्षमता र आवश्यकताअनुसार हुन्छ,’ उनको भनाइ छ । नेपाल समूहले उठाएको क्षमताका आधार र दोहोरो भूमिका दिएको भन्नेबारेसमेत ओलीले खुलेर कुरा गरे ।

उनले भने, ‘यो पहिल्यैदेखि थियो । एक नम्बर प्रदेशमा भीम आचार्य पहिलेदेखि नै हुनुहुन्थ्यो । दुईमा सत्यनारायण मण्डल पहिल्यैदेखि हुनुहुन्थ्यो । तीनमा अष्टलक्षमी शाक्य पहिलेदेखि हुनुहुन्थ्यो । चारमा यसपल्ट परिवर्तन भएको हो । पाँचमा महासचिव भएको हुनाले परिवर्तन भएको हो । ६ मा जनार्दनजी हुनुभो क्यार । सातमा भीम रावलै हुनुहुन्थ्यो ।’

प्रतिक्रिया