आठ वर्षभित्र भारत र चीनबाट रेल आउने

काठमाडौं । सरकारका एक मन्त्रीले आठ वर्षभित्र भारत र चीनबाट नेपालमा रेल आउने बताएका छन् । दुवै देशसँग रेल सम्झौता भइसकेको र अहिले अध्ययनको काम सुरु भएको ती मन्त्रीले जनाए ।

अमेरिकामा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ढिलोमा आठ वर्षसम्म काठमाडौंमा भारतको रक्सौल र चीनबाट रेल आइपुग्ने बताएका हुन् । ‘नेपाल भारत तथा चीनको व्यापारिक केन्द्र बन्न सक्ने धेरै आधार छन्,’ उनले न्युयोर्कस्थित नेपाली सञ्चारकर्मीसँग शनिबार भने, ‘दुवै देशबाट नेपालमा रेल आउनेमा कुनै शंका छैन ।’ दुवै देशको रेल नेपालमा जोडिने भएकाले हाम्रो देश व्यापारिक ट्रान्जिटमा दरिने उनले बताए ।

भारतले गरेको नाकाबन्दीसम्बन्धी प्रश्नको उत्तरमा पराष्ट्रमन्त्री ज्ञवालीले आफूले जीवनकालमा ०२७, ०४५ र ०७२ सालमा यस्तो नाकाबन्दी भोगेको उल्लेख गर्दै नाकाबन्दीमा युद्धकालमा पनि व्यहोर्नुनपर्ने पीडा भोगिएको बताए । उनले चीनसँग पनि विभिन्न नाका खोल्नेमा प्रयास भइरहेको जानकारी दिँदै चिनियाँ बाटो भएर समुद्रसम्म पुग्ने सहज बाटो खोजिएको र यसका लागि जुनसुकै बन्दरगाह प्रयोग गर्ने अनुमति मागिएको उल्लेख गरे ।

भारतसँग जलमार्गका लागि पहिलो चरणमा नारायणी र दोस्रो चरणमा कोसी नदीमा सम्भाव्यता अध्ययन हुने जानकारी पनि परराष्ट्रमन्त्री ज्ञवालीले दिए । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का विषयमा यसका सदस्य मुलुकहरूबीच कुनै विवाद नभएको तर यस संगठनभित्र मतभेद रहेको र त्यसलाई हटाउन सकिने उनले बताए ।

संयुक्त राष्ट्रसंघको महासभाको ७३औँ महाधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा भाग लिन न्युयोर्क पुगेका मन्त्री ज्ञवालीले २०१६ मा हुनुपर्ने शिखर बैठक अहिलेसम्म हुन नसकेकामा नेपाल कतै पनि जिम्मेवार नरहेको र नेपालले सार्कमा अनुकूल वातावरण बनाउन प्रयास गरिरहेको बताए ।

सार्क जीवित र क्रियाशील रहेको, यसको शिखर बैठक नभए पनि अन्य प्रक्रिया सञ्चालन भइरहेको र सार्क १ अर्ब ७० करोड जनताको संगठन भएकाले यसलाई अगाडि बढाउनुपर्ने चाहना सबैले गरेको ज्ञवालीले बताए ।

संयुक्त राष्ट्रसंघको महाधिवेशनमा भाग लिनका लागि कस्तो स्तर र कत्रो समूह सही हुन्छ भन्ने एक प्रश्नमा परराष्ट्रमन्त्री ज्ञवालीले सम्बन्धित देशले कुन स्तरको प्रतिनिधि पठाउने भन्ने सम्बन्धमा निर्णय गर्ने र यसपटक सरकारले उच्चस्तरबाटै सन्देश जाओस् भन्ने चाहेकाले प्रधानमन्त्रीको तहबाट प्रतिनिधित्व भएको बताए । नेपालजस्तो मुलुकले अरू क्षमताभन्दा अन्तर्राष्ट्रिय मञ्चमा कूटनीतिक क्षमतालाई बढी उपयोग गर्नुपर्ने र यो नै ठूलो साहारा भएको उनको भनाइ छ । ।

प्रतिक्रिया